प्रस, वीरगंज, २० फागुन /
दोस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता फागुन २७ देखि सञ्चालन हुने भएको छ ।
परवानीपुर युथ क्लबको आयोजनमा गोल्डकप फूटबल प्रतियोगिता सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरी आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले त्रिभुवन लोकमार्ग वीरगंज महानगरपालिका–२१ परवानीपुरको खेल मैदानमा फागुन २७ गतेदेखि प्रतियोगिता हुने बताए ।
उनले लामो समयदेखि रोकिएको फूटबल प्रतियोगिता गत वर्षदेखि परवानीपुरमा शुरू गरिएकोले यस पटक प्रवेश शुल्क नराखिएको बताए । प्रतियोगितामा १० लाख खर्च हुने अनुमान गरिएको र सो रकम सहयोगबाट सङ्कलन गरिएको बताए ।
एक सातासम्म चल्ने फूटबल प्रतियोगितामा आयोजक परवानीपुर युथ क्लब, नव जनजागृति युवा क्लब सिमरा, वीरगंज युनाइटेड क्लब वीरगंज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोत्तरी, हेटौडा फूटबल एकेडमी हेटौंडा, बिएफसी क्लब भरतपुर नारायणगढसहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।
प्रतियोगितामा विजेता हुने टिमले डेढ लाख नगद, उपविजेताले ७५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउने छ ।
पत्रकार सम्मेलनमा क्लबका वरिष्ठ उपाध्यक्ष अनिल राम, उपाध्यक्ष रवि राम, महासचिव दिपक यादव, सचिव धुप मण्डल, कोषाध्यक्ष सुरेश यादव, सदस्यहरू सफीक आलम, रेहान आलम (काले), सुनील मण्डल, इमरान आलमलगायतको सहभागिता थियो ।