नयाँ दिल्ली, २० फागुन/सिन्ह्वा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रूसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करीब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ ।  रूस–युक्रेन युद्ध सङ्कट बढेपछि रूस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकोमा बिहीवार दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक आमनेसामने कुराकानी  भएको बताइएको छ ।

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त सङ्क्षिप्त भेटवार्ता भएको हो । करीब १० मिनेटसम्म चलेको वार्तामा  सामान्य कुराकानी भएको बताइएको छ ।

 “लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गरेका हुन् । यद्यपि  त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन”–द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रूसलाई विशेष सैन्य कारबाई अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ ।

तर रूसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार गर्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here