प्रस, वीरगंज, १८ फागुन/
वीरगंज महानगर क्षेत्रलाई ध्वनि प्रदूषण निषेधित क्षेत्र बनाउन पर्सा प्रहरी लागिपरेको छ । योजना तथा कार्यक्रम सराहनीय भएपनि प्रचारप्रसारको पद्धति ठीक नभएको स्थानीयले बताएका छन् ।
केही दिनदेखि महानगरका घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, रजतजयन्ती, बसपार्क, प्रतिमाचोक, गण्डकलगायत स्थानमा एकजना प्रहरी ‘नो हर्न’को प्लेकार्ड बोकेर उभिने गरेका छन् ।
हर्न निषेधित क्षेत्र बनाउन पर्सा प्रहरीले अँगालेको प्रक्रियाप्रति नगरवासीहरूको चित्त बुझेको छैन । चर्को घाममा चोकचोकमा एकजना प्रहरी उभिएर ‘नो हर्न’ प्लेकार्ड देखाउने गर्दा आफूहरू अपमानित महसूस गर्ने गरेको एकजना प्रहरी अधिकृतले प्रतिक्रिया दिए । तुल, ब्यानर र सचेतना कार्यक्रम गरी यस अभियानलाई सफल बनाउन सकिने उनले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले प्रहरी उपरीक्षक कोमल शाहसँग समन्वय गरी अन्य सचेतना कार्यक्रम गर्ने बताए ।