प्रस, रौतहट, १३ फागुन/
नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रको सेवा बन्द गरिएको छ । वितरण केन्द्रका कर्मचारीहरूले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।
केन्द्रका सहायक इन्जिनीयर महेन्द्र चौधरीमाथि कुटपिट भएको विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा शनिवारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् ।
आम जनता पार्टीका नेता त्रिभुवन साह र धीरज पाण्डेको समूहले नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक इन्जिनीयर चौधरीलाई गत शुक्रवार कुटपिट गरेको थियो । उनीहरूसहित २०–३० जनाको समूह कार्यालयभित्र प्रवेश गरी कुटपिट गरेको र जबरजस्ती डाइरेक्ट लाइन जोड्न लगाएको विरुद्धमा केन्द्रका कर्मचारीहरूले उनीहरूविरुद्ध प्रहरीमा उजूरी दिएका थिए । तर प्रहरीले उजूरी दर्ता नगरेको भन्दै आजबाट उनीहरू आन्दोलनमा उत्रेका हुन् । विद्युत् कर्मचारीहरूले दोषीउपर कारबाई नभएसम्म सेवा बन्द गर्ने बताए ।
घटनाको दसी प्रमाणका रूपमा सिसिटिभी फुटेज रहेको र सो देखाउँदा पनि प्रहरीले राजनीतिक दबाबमा जाहेरी दर्ता नगरेको भन्दै कर्मचारीहरूले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका छन् ।