प्रस, निजगढ, १२ फागुन/

मापदण्डविपरीत दुई सातादेखि निरन्तर कोल्हवीका ठेकेदारले बकैयाखोलामा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र ओसारपोसार कार्य जारी राखेका छन् । बिहान, दिउँसो र रातिपख पनि एक्साभेटरद्वारा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र ओसारपोसार गरिरहेको स्रोतले जनाएको छ ।

वातावरणीय परीक्षण प्रतिवेदन (आइइई)मा खोलाको तोकिएको ठाउँबाट तोकिएको परिमाणमा मात्र ठेकेदारले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न पाउने कानूनी प्रावधान छ । तर यसको विपरीत ठेकेदारले मापदण्डविपरीत अवैध उत्खनन गर्दासम्म जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय बारालगायतका सरोकारवाला निकाय बेखबर छन् ।

केही दिनअघि यस दैनिकमा ठेकेदारद्वारा कानून, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि सो सम्बन्धमा डिभिजन वन कार्यालय, बाराले कोल्हवी नगरपालिकाको कार्यालयलाई पत्राचार गरेको थियो । डिभिजन वन कार्यालय, बाराले चनं १०६८ मा मिति २०७९/११/१० गतेको पत्रमा २०७९/८० मा लालबकैया खोलामा कुन आधारमा खोलाको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी ठेक्का लगाइएको, ठेक्का लगाउँदा आवश्यक पर्ने आइइई कुन निकायबाट स्वीकृत गरिएको हो, जथाभावी टिपरहरूको प्रयोग गरी खोलाको क्षमताभन्दा बढी दोहन गर्नुका कारण खुलाइ पठाइदिन कोल्हवी नगरपालिकालाई पत्र काटेको छ ।

डिभिजन वन अधिकृत विनोद सिंहले स्थानीय पालिकाहरूले ऐन, कानूनको परिधिभित्र रहेर कार्य गर्ने गराउने र नियमन गर्नुपर्ने हुन्छ । खोला ठेक्का लगाइ ठेकेदारलाई सुम्पिदिने दिने, मोटो राजस्व प्राप्त गर्ने अनि नगरपालिका कानमा तेल हालेर बस्न नपाउने र ऐन, कानून कडाइका साथ नियमन गर्नुपर्ने बताए ।  जिल्लाबाट खटिगएका वन कर्मचारी, सशस्त्र वनरक्षकको टोलीले कोल्हवी नपा–२ स्थित झुरझुर नाकामा दुई दिनअघि तीन घण्टा नदीजन्य पदार्थ लोड र खाली टिपरलाई रोकेको थियो । ठेकेदारले दुई सातासम्म दादागिरी शैलीमा नेपाली सेनालाई समेत बेवास्ता गर्दै दु्रतमार्ग निर्माणका लागि काटिएका रूखको शोधभर्ना गर्न ११ हेक्टरमा १५ हजार रोपण गरिएका बोटबिरुवा, रूखलाई नराम्ररी असर गर्नेगरी धूलो उडाउँदै टिपरहरू गुडाउँदै नदीजन्य पदार्थ ढुवानी गर्दै आएको थियो । अहिले केही भागमा ग्राभेल बिछ्याइ पानी पटाउँदै आइरहेको स्थानीयले बताए ।

झुरझुर नाका भएर पुग्ने बकैया खोलामा रातदिन एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्दै ओसारपोसार भइरहेको उनीहरूले बताए ।

कानूनसम्मतरूपमा मापदण्डले तोकेको परिमाणको नदीजन्य पदार्थ ग्राभेल ठेकेदारले जतिसुकै प्लट भएपनि एउटा खोलाबाट बढीमा तीन सय घनमिटर उत्खनन, सङ्कलन गर्न तोकिएको सडकबाट ढुवानी गर्न पाउनेछ । तर सो स्थानमा दैनिक १५ सयदेखि २५ सय घन मिटर नदीजन्य पदार्थ ओसारपोसार भइरहेको बताइन्छ ।

ठेकेदारको दादागिरी रवैयालाई जिल्ला अनुगमन समिति, बारा प्रहरी प्रशासन र मातहतका नियमनकारी निकायले दैनिक कति टिपर, ट्याक्टर नदीजन्य पदार्थ ढुवानी र निकासी भएको छ, ठेकेदारद्वारा राखिएको अनलाइन बिलिङ कर्मचारीसँग दैनिकको रेकर्ड लिने, कति टिपर निकासी र घाटगड्डी गरेको छ,  सोको अनुगमन, निरीक्षण, अध्ययन गर्दा ठेकेदारले गरेका गैरकानूनी हर्कत छर्लङ्ग हुन्छ ।

कोल्हवी नगरपालिकाले चालू आवमा ५७ लाख ११ हजार ८३५.५२ घनफिट नदीजन्य पदार्थको रु चार करोड एक रुपैयाँमा ठेक्का लगाएको छ ।

कोल्हवी नपाले नदीजन्य पदार्थको ठेक्का सकार गर्ने स्थानीय कम्पनीहरू प्रसाईं निर्माण सेवा प्रालि, रियन्स निर्माण सेवा प्रालि, सिद्धार्थ  निर्माण सेवा प्रालि, रामदुलारी कन्स्ट्रक्सन प्रालि/जेभी कोल्हवी बाराले संयुक्तरूपमा ठेक्का सकार गरी संक्षिप्त कर बीजकमा ठेकेदार कम्पनीको नामलाई छोट्याइ पि.आर.एस.एन्ड आरडी/जेभी, कोल्हवी बारा गरेर कानूनविपरीत कार्य गर्दै आइरहेको छ ।

कोल्हवीका ठेकेदारले गर्दै आइरहेको कानूनविपरीतका कार्यलाई नियन्त्रणमा ल्याउने जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्रकुमार साह र बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन । तर अनुगमन, निरीक्षण भने अहिलेसम्म पनि गरिएको छैन । जसले गर्दा कथनी र करनीमा फरक भएर अहिले उनीहरूको आलोचना पनि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here