प्रस, वीरगंज, ११ फागुन/

पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर फेरि विवाद शुरू भएको छ । २०७४ सालदेखि स्थानीय तह सञ्चालनमा आएसँगै पोखरिया नपामा अहिलेसम्म ११ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भइसकेको छ ।

नगरपालिकामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुसार उपसचिवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्ने व्यवस्था छ तर अहिलेसम्म पोखरियामा दुईजना उपसचिव मात्र प्रमुख प्रशासकीय अधिकृत भई आए पनि उनीहरू पनि दुई महीना नबित्दै सरुवा लिएर गएको देखिन्छ ।

उपसचिवहरू शिव रेग्मी र सहदेव रायमाझी पोखरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । उनीहरू दुई/तीन महीनाकै अवधिमा सरुवा गराएर अन्यत्र गए । त्यसपछि अहिलेसम्म नौजनाले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर पोखरिया नपाको जिम्मेवारी सम्हालेका थिए ।

निमित्त भएर जिम्मेवारी सम्हालेकाहरूमा रामबाबू चौरसिया, अशोक भट्टराई, नन्दकिशोर यादव, नाथु साह, धर्मराज थापा, अमित गिरी, सन्देश यादव, अशोक रौनियार र अजय श्रीवास्तव छन् । श्रीवास्तव डेढ महीना अगाडि स्वास्थ्य विभागबाट पोखरिया नपाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका हुन् । अहिले विभागले उनको ठाउँमा उपसचिव धर्मानन्द जोशीलाई पठाएको छ । जोशी बुधवार फागुन १० गते पोखरियामा हाजिर भए । उनी हाजिर भएकै दिन नगरप्रमुख प्रद्युम्न चौहानसमेतको टोली राजधानी काठमाडौं गएको थियो ।

पोखरिया नपाका विभिन्न समस्याका साथै प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पनि टोली काठमाडौं गएको बुझिन आएको छ ।

यसअघि नगर कार्यपालिकाको बोर्ड बैठकले अजय श्रीवास्तवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पोखरिया नपामा ल्याउने निर्णय गरेको थियो । उनले डेढ महीना पनि काम गर्न नपाउँदै विभागले धर्मानन्द जोशीलाई पठाएपछि नगरप्रमुखलगायत कार्यपालिका सदस्यहरूले चित्त दुखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here