प्रस, जीतपुर, ११ फागुन/
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले सात महीनामा एक हजार ४०० जना सवारी चालकसँग रु ११ लाख ३७ हजार जरिवाना असुल गरेको सूचना अधिकृत प्रहरी निरीक्षक सुशील आचार्यले बताएका छन् ।
उनले कसूरबमोजिम पटके जरिवाना रु पाँच सयदेखि पाँच हजारसम्म असुल गरिएको उनले बताए ।
आव २०७९/८० को साउन–माघ सात महीनामा २३२ बस, मिनी बस, सुमोका चालकसँग एक लाख ९७ हजार, ७२२ निजी कार, जीपका चालकसँग पाँच लाख ५७ हजार, २१९ मोटरसाइकलका चालकसँग एक लाख ४० हजार, २४४ वटा ट्रक, टिपर, ट्याक्टरका चालकसँग दुई लाख ४१ हजार गरी रु ११ लाख ३७ हजार जरिवाना गरिएको छ ।
यस अवधिमा तीन हजार ३४१ पटक दुर्घटना हुँदा ३२१ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा २९ जना बालबालिका, २३८ जना पुरुष र ५४ जना महिला रहेको प्रहरी नायब निरीक्षक सुरेन्द्र कोइरालाले बताए ।