प्रस, वीरगंज, ६ फागुन/
जनजाति तथा दलित सेवा समिति वीरगंज–१६ र नेपाल रजक सेवा समाज (बारा, पर्सा) को आयोजनामा वीरगंजमा र थारू पत्रकार सङ्घ पर्साको आयोजनामा जीराभवानी गाउँपालिका–२ सेढवामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जनजाति तथा दलित सेवा समितिले वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रमको उपप्रमुख इम्तियाज आलमले उद्घाटन गरेका थिए । उनले रक्तदान जस्तो महान् काम अरू केही नभएको भन्दै रक्तदान गर्न सक्ने सबैलाई रक्तदान गर्न आग्रह गरे । रगत दिएर पुण्यको कार्यमा सबैको सहभागिता भएको खण्डमा रगत नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए । उनले शरीरको रगत तीन महीनामा दैनिकरूपमा खाने भोजनबाट प्राप्त हुने बताउँदै १८ वर्ष नाघेका र ६० वर्षमुनिका सबै स्वस्थ महिला, पुरुषलाई रक्तदान गर्न अपील गरे । कार्यक्रममा दुईजना महिलासहित ३६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
कार्यक्रममा जनजाति तथा दलित सेवा समिति, वीरगंज–१६ का अध्यक्ष लवकुश बैठा, नेपाल रजक सेवा समाजका अध्यक्ष जठाशङ्कर बैठा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीलगायतको सहभागिता थियो ।
यसैगरी, थारू पत्रकार सङ्घले जीराभवानी गापा–२ सेढवामा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २० जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।
सङ्घका अध्यक्ष शम्भु महतोको अध्यक्षता तथा गापाध्यक्ष अनोज चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूनम महतो, राजकुमार दास, शिवशङ्कर दास, सुरेश दास थारू, चन्दन महतो, मनीष महतो, चन्द्रकिशोर रामलगायत रक्तदान गरेका थिए ।