• उमाशङ्कर द्विवेदी

आफ्नो सनातन धर्ममा स्थित रहनुस् । तपाईंको यस लोकमा रहने समय पूर्ण भइसकेको छ । जसलाई ब्रह्मास्त्र बारे थाहा थिएन, उनीहरूलाईं तपाईंले ब्रह्मास्त्रबाट दग्ध पारिसक्नुभएको छ, तपाईंको यस्तो कर्म राम्रो भएन, फालिदिनुहोस् यी अस्त्र–शस्त्र, अबदेखि यस्तो पाप कर्म कहिल्यै पनि न गर्नुहोस् ।

आचार्यले ऋषिहरूको यो कुरा सुने । भीमसेनको कथनमाथि पनि विचार गरे र धृष्टद्युम्नलाई आफ्नो अगाडि उभिएको देखे, यी जम्मै कारणले उनी निकै उदास हुन पुगे । अब उनको मनमा अश्वत्थामा मरेकोमा सन्देह उत्पन्न भयो । उनले व्यथित भएर युधिष्ठिरसित सोधे–वास्तवमा मेरो पुत्र मारिएको हो कि होइन ? द्रोणको मनमा यो निश्चय थियो कि तीन लोकको राज्य पाउनको लागि पनि युधिष्ठिरले कदापि झूट बोल्ने छैनन् । बाल्यकालदेखि नै उनको साँचो बोल्ने बानीमा आचार्यको विश्वास थियो ।

यता भगवान् श्रीकृष्णले मनमा यो सोचे कि आचार्य द्रोण अब पृथ्वीमा पाण्डवहरूको नामनामेसी रहन दिने छैनन् । उनले धर्मराज युधिष्ठिरसित भने–द्रोण क्रोधित भएर आधा दिन पनि युद्ध गरे म सत्य भन्दैछु, तिम्रो सेनाको सर्वनाश हुनेछ । अतः द्रोणबाट हामीहरूलाई बचाऊ । अर्काको प्राण रक्षाका लागि कदाचित् असत्य बोल्न परेपनि त्यसको पातक लाग्दैन ।

उनीहरू यस प्रकार वार्तालाप गरिरहँदा भीमसेनले भने–महाराज, द्रोणको वधको उपाय सुनेर मैले आफ्नै सेनाका मालव नरेश इन्द्रवर्माको अश्वत्थामा नामक हात्ती मारिदिएको छु र द्रोणको सामु गएर–मैले अश्वत्थामा मारें भनिरहँदा उनले मेरो कुराको विश्वास नगरेर, तपाईंसित सोध्न आउँदैछन् । अतः तपाईंले श्रीकृष्णको कुरा मानेर द्रोणसित भनिदिनुहोस्–अश्वत्थामा मारियो । तपाईंले यस्तो भनिदिएपछि उनले युद्ध गर्ने छैनन्, किनकि तपाईं सत्यवादी हो भन्ने कुरा तीनै लोकमा प्रसिद्ध छ ।

महाराज श्रीकृष्ण र भीमसेनको कुरा सुनेर श्रीकृष्णको प्रेरणाले युधिष्ठिर त्यस्तो गर्न तयार भए । उनी असत्यको भयले त्रसित भए पनि विजयको आसक्तिको कारण द्रोणचार्यसित उच्च स्वरले भने–‘अश्वत्थामा मारिए’ तर  ‘मानिस होइन, हात्ती’ मधुरो स्वरले भने । यसभन्दा पहिले युधिष्ठिरको रथ पृथ्वीबाट चार अङ्गुल माथि रहन्थ्यो तर उनले मुखबाट असत्य वचन निस्केदेखि अनायास रथ जमीनमा टाँसियो । महारथि द्रोण युधिष्ठिरको मुखबाट यस्तो कुरा सुनेपछि पुत्रशोकबाट पीडित भई जीवनबाट निराश हुन पुगे तथा ऋषिहरूको कथनानुसार आफूलाई पाण्डवहरूको अपराधी मान्न थाले ।

सञ्जय भन्दछन्–महाराज, राजा दु्रपदले धेरै ठूलो यज्ञ गरेर प्रज्वलित अग्निबाट जसलाई द्रोणको नाश गर्नका लागि प्राप्त गरेका थिए, ती धृष्टद्युम्नले आचार्य द्रोण बडो उद्विग्न र शोकाकुल भएको देखेर उनीमाथि तत्काल धावा गरे । धृष्टद्युम्नले विजय दिलाउने एउटा सुदृढ धनुष हातमा लिई त्यसमाथि अग्निको समान तेजस्वी वाण राखे । यो हेरेर द्रोणले त्यसलाइ रोक्नको निम्ति अङ्गिरस नामक धनुष र ब्रह्मदण्डको अनेकौं वाण हातमा लिए । वाण वर्षा गरेर उनले धृष्टद्युम्नलाई ढाकिदिए, उनलाई घाइते पनि पारिदिए तथा उनको वाण, धनुष र ध्वजा काटी सारथिलाई पनि मारिदिए । अनि धृष्टद्युम्नले अर्को धनुष हातमा लिएर आचार्यको छाती ताकेर एउटा तीक्ष्ण वाण हाने । त्यसको प्रखर चोटको कारण आचार्य रन्थनिए । उनले एउटा भाला हातमा लिएर त्यसबाट धृष्टद्युम्नको धनुष काटिदिए । यति मात्र होइन, धृष्टद्युम्नसित जति पनि धनुष थियो ती जम्मै काटिदिए । केवल गदा र तरबार मात्र रहन दिए । यसपछि उनले नौवटा वाण हानेर धृष्टद्युम्नलाई घाइते पारे । अनि महारथि धृष्टद्युम्नले आफ्नो घोडालाई आचार्यको रथको घोडाहरूको साथमा मिसाएर ब्रह्मास्त्र हान्ने विचार गरे । यतिकैमा द्रोणाचार्यले उनको इषा, चक्र र रथको बन्धन काटिदिए । धनुष, ध्वजा र सारथिको नाश त पहिले नै गरिसकेका थिए । यस्तो भारी विपत्तिमा परी धृष्टद्युम्नले हातमा गदा उचाले तर आचार्यले तीक्ष्ण सायकहरूबाट त्यसलाई पनि टुक्राटुक्रा पारिदिए । अब धृष्टद्युम्नले टल्किंदो तरवार हातमा लिएर आफ्नो रथबाट द्रोणाचार्यको रथसम्म पुगेर उनको छातीमा त्यो तरबार रोप्ने विचार गरे । यो हेरेर आचार्यले भयानक शक्ति उचालेर धृष्टद्युम्नको चारवटै घोडा मारेर खसाले । यद्यपि दुवैजनाको घोडा आपस्तमा मिसिएका थिए तापनि द्रोणाचार्यले आफ्ना रातो रङ्गका घोडा जोगाए । उनको यो कर्म धृष्टद्युम्नले सहन सकेनन् । धृष्टद्युम्नले द्रोणतिर झम्टेर तरबारबाट अनेकौं चाल देखाउन थाले । यसैबीच एक हजारवटा ‘वैतस्तिक’ नामक वाण हानेर द्रोणाचार्यले धृष्टद्युम्नको  ढाल–तरबार टुक्राटुक्रा पारिदिए । उपर्युक्त वाण निकटबाट युद्ध गर्नमा मात्र उपयोगी हुन्छन् तथा एक बित्ताको मात्र हुने भएको हुनाले नै तिनीहरूलाइ वैतस्तिक वाण भन्दछन् । द्रोण, कृप, अर्जुन, कर्ण, प्रद्युम्न, सात्यकि तथा अभिमन्युबाहेक अन्य कसैसित पनि त्यस्तो वाण थिएन । क्रमशः..।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here