• बैधनाथ श्रमजीवी

यतिबेला सबैलाई मनपर्ने तथा सबैको रुचिको विषय समाजवाद अर्थात् वैज्ञानिक समाजवाद हुन गएको छ । पार्टी  जुनसुकै होस्, दक्षिणपन्थी होस् वा वामपन्थी अथवा प्रतिक्रियावादी नै किन नहोस् यिनीहरू सबैले समाजवादका कुरा गरिरहेका छन् । वास्तवमा समाजवाद के हो ? समाजवाद कसरी आउँछ ? समाजवाद कसैले ल्याउँछ ?

यी प्रश्नहरूका बारेमा स्पष्ट नभईकन समाजवादको कुरा गर्नु दुनियाँलाई भ्रममा पार्नु मात्र हो । त्यसैले आउनुहोस् समाजवादबारे थोरै कुरा गरौं ।

समाजवाद एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सम्पूर्णरूपमा समुदायमा निहित हुन्छ । अझै माक्र्सको शब्दमा भन्ने हो भने, ‘समाजवाद स्थायी क्रान्तिको उद्घोष हो । यसमा सर्वहारा वर्गको अधिनायकत्वले सम्पूर्ण वर्गविभेदको अन्त्य गर्छ, त्यो वर्गविभेद जन्मने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्छ, त्यो उत्पादन सम्बन्धबाट उत्पन्न सम्पूर्ण सामाजिक सम्बन्धको उन्मूलन गर्छ र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारलाई क्रान्तिकारीकरण गर्ने सङ्क्रमणकालीन बिन्दुको काम गर्छ । समाजवादमा प्रत्येक व्यक्तिको योग्यता अनुसारको काम र काम अनुसारको दाम सुनिश्चित गरिएको हुन्छ ।

विगतमा युरोपमा हिटलरदेखि भारतमा जवाहरलाल नेहरू जस्ता फासिस्ट तथा सुधारवादी धारका दक्षिणपन्थी नेताहरूले पनि समाजवादको वकालत गरेका पाइन्छन् । अझै हाम्रो नेपालमा घोर दक्षिणपन्थी नेता विश्वेश्वरप्रसाद कोइराला जस्ताले समेत जनतालाई भ्रमित गर्न प्रजातान्त्रिक समाजवादको कुरा गरेका थिए । वास्तवमा तिनीहरू सबै नक्कली समाजवादी हुन् ।

समाजवाद अर्थात् वैज्ञानिक समाजवाद ल्याउनको लागि सबैभन्दा पहिले एउटा व्यक्तिको रूपमा होस् वा पार्टीको रूपमा होस्, ऊ असली कम्युनिस्ट बन्न जरुरी हुन्छ । कसरी कोही बन्छ असली कम्युनिस्ट ? अथवा एउटा कम्युनिस्ट व्यक्तिमा कुन कुन गुण हुन जरुरी छ ?

हामी सबैलाई थाहा भएकै कुरो हो कि हाम्रो समाज वर्गीय समाज हो । यो समाजमा कुनै पनि कुरामा कुनै पनि व्यक्ति समान छैन अर्थात् असमानताको जगमा वर्तमान दलाल पूँजीवादी व्यवस्था उभिएको छ । यहाँ जातीय, क्षेत्रीय, लैङ्गिक, भौगोलिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायतका असमानताका पहाडहरू छन् । यतिमात्रै होइन, दलाल पूँजीवादी व्यवस्थामार्फत दलाल पूँजीपतिहरू यी सबै असमानताहरूलाई युगौंयुगसम्म कायम राख्न चाहन्छन् । यिनै असमानताहरूलाई संसदीय प्रजातन्त्रको खोलभित्र दक्षिणपन्थी, उदारवादी तथा सुधारवादी दलाल पार्टीहरू जसमा आफूलाई कथित कम्युनिस्ट भन्ने पार्टीहरू पनि पर्छन्, तिनीहरूले सामूहिक मिलीभगतमा प्रजातन्त्र र गणतन्त्रको नाउँमा बरकरार राख्दै आएका छन् । यो कुरा हामी सबै शोषित, पीडित, सीमान्तकृत श्रमजीवीहरूले बुझ्न जरुरी छ ।

समाजको यस्तो विभेदयुक्त संरचनाबाट मुक्ति दिने काम कम्युनिस्ट पार्टीबाहेक अरू कसैले गर्न सक्दैन । यही कामको जिम्मा कम्युनिस्टले जिम्मेवारीपूर्वक लिनुपर्छ । किनकि वर्गविहीन समाजको परिकल्पना गर्नु कम्युनिस्टहरूको मुख्य उद्देश्य हो । यसर्थ यिनीहरूको मूल दर्शन द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवाद हो । यस सिद्धान्तले व्यक्ति, समाज र घटनाक्रमहरूलाई ऐतिहासिक तथ्यका आधारमा द्वन्द्ववादी तरीकाले विश्लेषण गर्न सिकाउँछ । पदार्थको अस्तित्वलाई प्राथमिक मान्ने यो दर्शन धर्तीका अरबौं जनताको मुक्ति–दर्शनका रूपमा स्थापित भइसकेको छ । यस दर्शनलाई नै माक्र्सवाद भनिन्छ ।

माक्र्सवाद वैज्ञानिक दर्शन हुनुका साथै गतिशील विज्ञान पनि हो । विज्ञान हुनुका नाताले यसको पनि समयसापेक्ष विकास हुँदै जानु स्वाभाविकै हो । वर्ग सङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगका क्रममा यसले नयाँ–नयाँ तथ्यहरूको अन्वेषण र संश्लेषण गर्दै आएको छ ।

सन् १९५९ देखि विश्वभरि कहीं पनि कम्युनिस्ट क्रान्ति सम्पन्न नभएको तथा दलाल पूँजीवादले रजगज गरिरहेको अवस्थामा असल कम्युनिस्ट कसरी बन्ने भन्ने सवाल निकै महत्वपूर्ण हुन गएको छ । यसबारे चिनियाँ कम्युनिस्ट नेता ल्यू–साओचीले एउटा पुस्तक नै लेखेका छन् । सन् १९३१ मा जापानले चीनमाथि आक्रमण गर्दा त्यसपछि जापानी सेना र च्याङ काइसेकको कोमिन्ताङ सेना मिलेर चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध भीषण दमन अभियान चलाएको अवस्थामा सन् १९३४ मा माओत्सेतुङले ‘लम्बे अभियान’ चलाए ।

लम्बे अभियान चिनियाँ राजनीतिक क्रान्तिको इतिहासमा अत्यन्तै चुनौतीपूर्ण अभियान थियो । उक्त अभियानमा कम्युनिस्ट पार्टीभित्र भागाभागको स्थिति चल्यो । त्यही प्रतिकूल परिस्थितिमा ल्यू–साओचीले कार्यकर्तालाई क्रान्तिप्रति जीवन देख्न अपील गर्दै उक्त पुस्तक लेखेका हुन् । यतिबेला नेपालीको कम्युनिस्ट आन्दोलन पनि दक्षिणपन्थी भासमा लामो समयदेखि भासिंदै आएको अवस्थामा कार्यकर्ताहरूमा राज्यको जूठोपुरो चाट्ने निकै उत्सुकता देखिएको छ । यस्तो अवस्थामा एउटा कम्युनिस्ट बन्न निकै गार्हो भएकोले उक्त पुस्तकको अध्ययन महत्वपूर्ण देखिन्छ । उक्त पुस्तक अनुसार असल कम्युनिस्ट बन्न निम्न गुणहरू चाहिन्छन् ।

दृढ आत्मविकास गर :

बाँच्नका लागि मानिसले प्रकृतिका विरुद्ध सङ्घर्ष गर्नुपर्छ । भौतिक मूल्य उत्पादन गर्न प्रकृतिलाई प्रयोग गर्नुपर्छ । प्रकृतिका विरुद्ध चलाएको लामो सङ्घर्षमा मानिसहरू आफैं, सामाजिक सम्बन्ध, सामाजिक सङ्गठनका रूप र उनीहरूको चेतना पनि फेरिन्छन् । सामाजिक जीवन र परिवेशले मानिसको चेतना निश्चित गर्दछ, विचारधाराले भिन्न वर्गीय स्थिति र वर्गहितको प्रतिनिधित्व गर्दछ । हामी कम्युनिस्टहरू आधुनिक इतिहासका सबैभन्दा अग्रगामी क्रान्तिकारीहरू हौं । आज समाज र विश्वलाई फेर्ने अभिभारा हामीमा छ र हामी परिवर्तनका प्रेरक शक्ति हौं । प्रतिक्रान्तिकारीका विरुद्ध अथक सङ्घर्ष गरेर नै हामी कम्युनिस्टहरू समाज र विश्वलाई फेर्दछौं र साथै स्वयंलाई फेर्दछौं । एउटा कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षबाट खारिन्छ र परिपक्व बन्दै जान्छ । तसर्थ कम्युनिस्टहरूमा दृढ आत्मविकास गर्नुपर्दछ भन्ने बोध हुन जरुरी छ ।

माक्र्स–लेनिनका योग्य चेला बन :

हामीकहाँ यतिबेला नेताहरूको दलाली गर्ने, चाकरी गर्ने चाप्लुसवाद, भ्रष्ट  कार्यकर्ताहरूको जमात अधिकांश तथाकथित कम्युनिस्ट पार्टीहरूभित्र देखिन्छन् । जबकि एकजना असल कम्युनिस्ट बन्नु भनेको माक्र्स–लेनिनका शिक्षाहरू ग्रहण गर्नु हो । मन लगाएर माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुपर्छ । कार्ल माक्र्स एकजना क्रान्तिवादी दार्शनिक थिए । उनको जीवनबाट सिक्नु भनेको सर्वहारा वर्गको हित, सर्वहारा वर्गको सत्ता र वर्गविहीन समाजका लागि सिक्नु हो, क्रान्ति र मानव मुक्तिका लागि सिक्नु हो । स्टालिनले भनेका छन्, ‘हाम्रा गुरु, हाम्रा नेता लेनिनलाई सम्झ, माया गर र अध्ययन गर ।’

जबकि यसको ठीक उल्टो अहिले पद, प्रतिष्ठा, शक्ति कसरी पाउँछ भन्ने अध्ययनमा मात्रै नेता कार्यकर्ता सबै लागेका देखिन्छन् । कमिशनको चक्करले तथाकथित कम्युनिस्ट पार्टीहरूभित्र अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।

माक्र्सवाद–लेनिनवाद पढ्नु भनेको शब्दमा रमाउनु होइन । सतहीरूपमा पढ्ने कुरा होइन । प्रायः मानिसहरू  माक्र्सवाद–लेनिनवाद त पढ्छन् तर त्यसका निष्कर्षहरूमा अल्मलिन्छन्, वास्तविक जीवनमा आइपर्ने समस्यामा समाधान दिन सक्दैनन् । माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुको अर्थ क्रान्तिको बाटो पकड्नु र सङ्घर्षका लागि प्रेरित हुनु हो । क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रूपान्तरण गर्नु पनि हो । त्यसले समाजलाई मात्र फेर्दैन, स्वयम् कम्युनिस्ट क्रान्तिकारीलाई पनि फेर्ने गर्दछ । यदि व्यक्ति फेरिएको छैन भने ऊ कम्युनिस्ट होइन केवल कम्युनिस्ट वा माक्र्सवादी भएको ढोङ्ग मात्रै गरेको छ ।

जनतासँग क्रान्तिकारी व्यवहार गर :

चेङ्चीले भनेका थिए, ‘म दिनमा तीनपटक आफूमाथि विचार गर्छु।’ त्यस बखत उनले आफ्नै आत्मपरीक्षा गरिरहेका हुन्थे । जसलाई प्रगति गर्नु छ, उसले कठिन परिश्रम र एकदम तीव्ररूपमा आत्मविकास गर्न आवश्यक छ । हामी क्रान्तिकारी हौं, हाम्रो आत्मविकास आमजनताको क्रान्तिकारी व्यवहारबाट अलग्याउन सकिंदैन । माक्र्सवाद–लेनिनवादको सर्वव्यापी सत्यलाई क्रान्तिको ठोस व्यवहारमा यथार्थरूपमा प्रयोग गर्नुपर्छ । जनतालाई केवल भोट बैंकको रूपमा प्रयोग गर्ने, सम्पत्तिको आधारमा हेला वा माया गर्नेहरू कम्युनिस्ट हुनै सक्दैनन् । वास्तवमा पार्टी, जनता र क्रान्तिको विजयका लागि नै हामी सिद्धान्तको अध्ययन गर्छाैं । माओत्सेतुङ भन्छन्, ‘माक्र्सवाद–लेनिनवादको महान् शक्ति नै सबै देशको ठोस क्रान्तिकारी व्यवहारसित यो एकाकार हुनुमा छ । चिनियाँ कम्युनिस्ट पार्टीको काम सिद्धान्तलाई चीनको विशेष परिस्थितिमा प्रयोग गर्न सिक्नु हो । चीनका विशेषता र जनतासँगको सम्बन्धलाई ध्यानमा नराखी माक्र्सवादको कुरा गर्छन् भने त्यो अमूर्त माक्र्सवाद, खोक्रो माक्र्सवाद सिवाय अरू केही होइन । तसर्थ सिद्धान्तलाई जनतासँग, परिस्थितिसँग र व्यवहारसँग जोड्नुपर्दछ ।’ अन्यथा माक्र्सवादी खरानी घस्नुको कुनै तुक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here