‘गुन्द्रुक’ नेपालको मौलिक र लोकप्रिय परिकार हो । हाम्रो राष्ट्रिय तरकारीको दर्जामा रहेको गुन्द्रुक भारतको सिक्किम, दार्जिलिङ, उत्तर पूर्वी राज्यहरूमा पनि रैथाने तरकारीको रूपमा छ । विश्वमा जहाँजहाँ नेपाली पुगे, त्यहाँसम्म गुन्द्रुक पुग्यो । गुन्द्रुक बनाउन र खान जान्ने नेपालीले बिस्तारै अरू मुलुकका बासिन्दालाई पनि सिकाएका हुन्, सिकाउँदै छन् । हुन पनि ‘गुन्द्रुक’ शब्द नै नेपाली शब्द हो । यो आगन्तुक वा विदेशी शब्द होइन । आजसम्म गुन्द्रुकलाई कुनै मुलुकले ब्रान्डिङ गरेको वा बौद्धिक सम्पदामा दर्ता गराएका छैनन् । अन्य मुलुकबाट शुरू भएको हुन्थ्यो भने यति बेलासम्म उनीहरूले दर्ता गराइसकेको हुने थियो । नेपालमा गुन्द्रुकको वार्षिक उत्पादन दुई हजार टन हुने अनुमान गरिएको छ । कोसेलीको रूपमा बाहिर पठाउनेबाहेक यसको खपत स्वदेशमैं हुने गरेको छ ।
इतिहासकारहरूले गुन्द्रुकको उत्पत्तिलाई नेपाल एकीकरणसँग जोड्ने गरेका छन् । पृथ्वीनारायण शाहले पहिलोपटक कीर्तिपुर आक्रमण गर्दा कीर्तिपुरेहरू युद्धमा जानुपरेकाले खाद्यान्न तथा बारीमा भएको साग टिप्न नभ्याएर खाल्डोमा पुरेर युद्ध गर्न गएको प्रसङ्ग उल्लेख गर्दै खाल्डोमा पुरिएको त्यही सागबाट गुन्द्रुकको उत्पत्ति भएको तर्क छ । त्यसैगरी, अर्को कथा अनुसार सिम्रौनगढका राजा हरिसिंह देवले १३औं शताब्दीतिर भक्तपुरमा आक्रमण गरेपछि ज्यान जोगाउन मानिसहरू बस्ती छाडेर भागे । कीर्तिपुरको कथा जस्तै भाग्नुअघि उनीहरूले अन्नपात र सागसब्जी खाल्डो खनेर गाडेका थिए । गाडिएको साग निकालेपछि गुन्द्रुक अस्तित्वमा आएको कुरा छ । अर्कोतर्फ इतिहासकार बाबुराम आचार्यको खोजमा मुसलमान बादशाह समसुद्दीनले उपत्यकाको तीनै शहरमा सात दिनसम्म भयङ्कर आक्रमण गरेका थिए । त्यति बेला अन्नपात जोगाउन खाल्डो खनी पुरेपश्चात् गुन्द्रुकको जन्म भएको उल्लेख छ । गुन्द्रुकसम्बन्धी खोजकर्ता, प्रविधि क्याम्पस धरानको खाद्य प्रविधि तथा पोषण विज्ञान सङ्कायका प्राध्यापक डम्बर खड्काको प्राज्ञिक खोजमा गोपाल र महिषपाल वंशको पालामा गुन्द्रुकको आविष्कार भएको अनुमान छ । नेदरल्यान्डको प्राज्ञिक संस्था एल्सेभाएरको जर्नल ‘साइन्स डाइरेक्ट’ पनि गुन्द्रुक नेपालको मौलिक उत्पादन भएको बताइएको छ ।
जेहोस्,गुन्द्रुक हाम्रो हो, नेपालको हो । आज लाइन होटलको ढिडोपसलदेखि तारे होटलसम्म गुन्द्रुकको माग छ । भारत, चीनलगातय जापान र अमेरिकाका रेस्टुराँमा गुन्द्रुक पाक्न थाल्यो । तर लाजलाग्दो कुरा, आज हामी त्यही गुन्द्रुकमा पनि परनिर्भर भएका छौं । यतिसम्म निकम्मा भयौं कि बितेको वर्ष छिमेकी मुलुक चीनबाट मात्रै १२३ करोड रुपैयाँको गुन्द्रुक आयात गरियो । तत्कालीन सभाभुख र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लच्जाबोध भएको कुरा सार्वजनिक मञ्चबाटै भनेका थिए । आज उनै प्र्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा छन् । स्वदेशी गुन्द्रुकको प्रवर्धन र राष्ट्रियरूपमा नै बान्डिङ गर्नेबारे कुनै योजना छैन । बरु पूर्वी नेपाल इलामको विकट रोङ गाउँपालिकाले नेपाली परिकार गुन्द्रुकको ब्रान्डिङ गर्ने योजना अगाडि ल्याएको छ । यसलाई आधुनिक प्रविधि अपनाएर र गुणस्तरीयता कायम गर्दै उत्पादन गर्न सकियो भने आयात प्रतिस्थापन गरी निर्यात गर्न सकिन्छ । जसले राष्ट्रिय पहिचानका साथै स्वरोजगार वृद्धि र व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेछ ।