प्रस, सेढवा, ४ फागुन/
जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा बैधनाथ आधारभूत विद्यालय, गढैयामा भएको घटना साम्य भएको छ । वडाध्यक्ष सुभाषकुमार यादवको अध्यक्षतामा बसेको बैठकले विवादलाई साम्य गरेको हो ।
विद्यालयमा परिसरमा अभिभावक तथा भद्रभलादमीहरू बसी अभद्र व्यवहार गर्ने युवाहरूलाई दोषी ठहर गर्दै माफी माग्न लगाउनुका साथै आइन्दादेखि विद्यालयमा यस्तो क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गराएको वडाध्यक्ष यादवले बताए ।
विद्यालयमा अभद्र गतिविधि गर्र्नेलाई आगामी दिनमा सार्वजनिक मुद्दा लगाउने चेतावनी पनि दिइएको थियो । स्थानीय युवाहरूले हिजो विद्यालयमा उपद्रो मच्चाएका थिए ।
सोही विषयलाई लिएर आज वडामा छलफल भएको र युवाहरूले आफ्नो गलती स्वीकारेको वडाध्यक्ष यादवले बताए ।
घटनापछि सिर्जित परिस्थितिप्रति सन्तुष्टि जाहेर गर्दै कर्मचारी र शिक्षकहरूले सामूहिक सरुवाको माग फिर्ता लिएको प्रअ बादशाह साहले बताए ।
उनले हिजोको घटनापछि कर्मचारी र शिक्षकहरूले सामूहिक सरुवाको माग गरेको तर आजको छलफलपछि सो सरुवाको माग फिर्ता लिएको बताए ।