- श्रीमन्नारायण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ गठबन्धन सरकार अस्तित्वमा आएपछि दक्षिणी छिमेकी भारतका परराष्ट्र मामिलाका सचिव विनयमोहन क्वात्राको पहिलो नेपाल भ्रमण हालै सकिएको छ । उत्तरी छिमेकी चीन र संयुक्त राज्य अमेरिकाका उच्च अधिकारीहरूको नेपाल भ्रमण भएपश्चात् भारतीय परराष्ट्र सचिवको नेपाल भ्रमण भएको हो । नेपाल–भारत परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले यो भ्रमण भएको मान्न सकिन्छ । जनस्तरमा स्थापित यस सम्बन्धले सदीऔंदेखि कायम राखेको सभ्यतागत र सांस्कृतिक सम्बन्धको जगमा हामीबीच निकटको साझेदारी पनि रहेको छ । दुई देशबीच हुँदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अनुरूप नै यो भ्रमण पनि भएको हो ।
भारतका परराष्ट्र सचिवले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दहाल, परराष्ट्रमन्त्री विमला राई पौडेल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र नेपालका विभिन्न राजनीतिक दलका नेताहरूसित पनि भेटवार्ता गरे । मङ्सिर ४ गते भएको आम निर्वाचनपछि भारतीय विदेश सचिवको यो पहिलो नेपाल भ्रमण थियो ।
नेपालका परराष्ट्रसचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका भारतीय परराष्ट्र सचिव श्री क्वात्रा र नेपालका परराष्ट्र सचिवबीच भएको वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्धलगायत नेपाल र भारतबीच भएको बहुआयामिक सहयोगका विविध पक्षबारे पनि छलफल भएको छ ।
गत वर्ष नेपालमा प्रधानमन्त्रीको भ्रमणको क्रममा अन्तर्देशीय कनेक्टिभिटी, जलविद्युत् सहयोग, संस्कृति, व्यापार तथा वाणिज्यलगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्ष्Fा गरे । रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजुलपुरा–बर्दिवास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ । साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजना अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रूतगतिमा अगाडि बढाउने सहमति पनि भएको छ ।
दुवै परराष्ट्र सचिवबीच भएका सहमतिका अन्य महत्वपूर्ण विषयहरूमा गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिबारे पनि छलफल भएको छ । जस अन्तर्गत नेपाल अहिले भारतमा ४५२.६ मेगावाट विद्युत् निर्यात गर्न सक्ष्Fम भएको छ । यसले भारतलाई बिजुली प्राप्त भएको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना पनि गरेको छ । नेपाली पक्षले दीर्घकालीनरूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्ग प्रशस्त गर्न तथा भारत र नेपालबीचको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारत समक्ष अवरोध गरेकोमा भारतीय पक्षले नेपालको प्रस्ताव अथवा अनुरोधबारे विचार गर्ने सम्भावना रहेको छ । सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोणपत्रको पूर्ण कार्यान्वयनको लागि प्रतिबद्धता जनाउँदै दुवै देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातमालो गर्ने विषयमा पनि सहमति भएको छ ।
विश्वमा व्याप्त कठिनाइको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्ति सुनिश्चित गर्न विशेषगरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेको विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना गरेको छ । दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भयो । यस सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्र्याकमा सहभागिताका लागि नेपाललाई दिएको निमन्त्रणको नेपाली पक्षले प्रशंसा गरेको छ । नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शीघ्र अनुमोदनका लागि प्रतिबद्धता पनि गर्यो।
दुई देशबीच नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको छिमेकी पहिलो नीति अन्तर्गत नै भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया पनि रहेको छ । यस्तो भ्रमण र दुई पक्षीय वार्ताहरूबाट दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने दिशामा मदत मिल्ने गर्दछ । भारतीय विदेश सचिवले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसित पनि भेटवार्ता गरे । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेकी थिइन् । जबकि भेटका क्रममा भारतीय विदेश सचिवले भारतका राष्ट्रपति द्रौपदी मुर्मूको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दहालसितको शिष्टाचार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्ष्Fा, संस्कृतिका क्ष्Fेत्रमा नेपाल–भारत सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । त्यसैगरी नेपालका परराष्ट्रमन्त्री विमलाराई पौडेलसित भएको शिष्टाचार भेटवार्ता दुई पक्षीय सहयोगका विविध विषयमा छलफल हुनुका साथै दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धिलगायत विषयमा पनि छलफल भएको बुझिन्छ । नेपालमा विकास सहायता वृद्धि गर्ने लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, दुई पक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायत विषयमा पनि छलफल भएको हो । मन्त्री पौडेलले जलवायु परिवर्तनको मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एशियाका मुलुकहरूको एउटै आवाजका लागि संयन्त्र बनाउने विषयमा पनि आफ्नो धारणा राखे ।
सीमापार विद्युत् प्रसारण लाइनको स्तरोन्नति तथा भारतीय ऋणमा निर्माण हुने प्रस्तावित चार विद्युत् प्रसारण लाइनको शीघ्र स्वीकृतिका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रेलवे, प्रसारण लाइन, पुल, एकीकृत जाँच चौकीजस्ता परियोजना निर्माणको पुनरवलोकन गर्ने काम पनि भएको छ । नवीकृत पारवहन सन्धि चाँडै टुङ्ग्याउने, व्यापारसम्बन्धी अन्तर्सरकारी समितिको बैठक यथाशीघ्र राख्ने विषयमा पनि छलफल भएको र भारतीय सेनामा नेपालीको भर्तिका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले नेपालतर्फ रासायनिक मल, खाद्यान्नको निर्यातलाई खुकुलो बनाइएकोमा र डायलासिस मेशिनहरू उपलब्ध गराइदिएकोमा भारतलाई धन्यवाद दिएका छन् । भारतसित विगतमा भएको दुई पक्षीय सम्झौता अन्तर्गतका विकास निर्माण कार्यहरूको प्रगतिलाई सन्तोषजनक मान्ने काम भएको छ ।
भारतका परराष्ट्र सचिवको यो नेपाल भ्रमण विगतमा भएको सम्झौता अन्तर्गतका विकास निर्माणका कामहरूको प्रगतिबारे समीक्षा गर्नुका साथै दुई पक्षीय हितका कतिपय महत्वपूर्ण विषयमा पनि छलफल केन्द्रित रहेको देखियो । नेपालमा भारतका लागि राजदूतको रूपमा सफल कार्यकाल बिताएका विनयमोहन क्वात्रा अहिले भारतका विदेश सचिव छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा त्यहाँको सरकारले छिमेकी पहिलोको नीतिलाई उच्च महत्व दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको रूपमा शपथ लिंदा पनि सार्कका सबै देशका राष्ट्रप्रमुख अथवा सरकार प्रमुखलाई निम्तो दिई बोलाएका थिए । उनको पहिलो र दोस्रो विदेश भ्रमण पनि भूटान र नेपालबाट नै भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा नै चारपटक नेपाल भ्रमणमा आएका थिए । यो उनको नेपालप्रतिको विशेष आत्मीयताको प्रमाण हो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भारत भ्रमणको निम्तो प्राप्त भइ नै सकेको छ । सम्भवतः राष्ट्रपति निर्वाचनपश्चात् उनले आफ्नो पहिलो विदेश भ्रमणको थालनी भारतबाट नै गर्ने सम्भावना छ । भारतीय विदेश सचिवको यस भ्रमणले दुई पक्षीय सम्बन्धलाई बलियो बनाउने छ ।