यो शताब्दीकै शक्तिशाली, ७.८ म्याग्नेच्युटको भूकम्पले टर्की र सिरियालाई तहसनहस पारेको छ । अघिल्लो सोमवार बिहान सवा चार बजे गएको उक्त भूकम्पबाट परस्पर छिमेकी यी दुई मुलुकमा अहिलेसम्म ४१ हजारभन्दा बढीको मानिसको ज्यान गएको पुष्टि भइसकेको छ । मानवीय हताहतीको हिसाबले सिरियाभन्दा टर्कीमा बढी क्षति छ । हालसम्म सिरियामा करीब ६ हजारजनाले ज्यान गुमाएको पुष्टि भएको छ भने सिरियामा ३० हजारको ज्यान  गएको पुष्टि भइसकेको छ । उद्धारको क्रम जारी छ, ज्यान गुमाउने र बेपत्ता हुनेको सङ्ख्या बढ्दो छ । उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली गाजियान्टेप नजीक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सयवटा आणविक बमले निष्कासन गर्ने ऊर्जा जत्तिकै ऊर्जा निष्कासन भएको थियो । टर्की र सिरियाका दशौं लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् । भूकम्पको एक सातापछिसम्म जीवित उद्धारका घटनाहरू पनि प्रकाशमा आएका छन् । उद्धारकर्मीहरूले आइतवार सात महीनाको एउटा शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिवार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो । भूकम्पको करीब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकोमा उनीहरूले त्यसलाई चमत्कार भन्दै खुशी प्रकट गरेका छन् । 

उद्धारको क्रम सुस्त रहेको सर्वसाधारणको गुनासो छ । आवश्यक उपकरणको अभावमा गैंती, सावेलको भरमा उद्धार गर्नुपरिरहेको उद्धार टोलीको गुनासो छ । यति ठूलो महाविनाशको अवस्थमा पनि विश्व समुदायको तदारुकतामा केही विलम्ब भइरहेको संयुक्त राष्ट्रसङ्घको ठम्याइ छ । राष्ट्रसङ्घले राहत तथा उद्धारका निम्ति विश्वलाई आह्वान गर्नुका साथै राष्ट्रसङ्घीय विज्ञ टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । संयुक्त राष्ट्रसङ्घले टर्की र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । सिरियामा ५३ लाख मानिस घरवारविहीन भएका अनुमान गरिएको छ ।

भूकम्पपीडित दुई मुलुक टर्की र सिरिया परस्पर विरोधी मुलुक हुन् । सन २०११ देखि सिरिया युद्धमा फसेको छ । युद्धका कारण करीब चार लाख मानिसले ज्यान गुमाइसकेका छन् । रूस र इरानको बलियो समर्थन सिरिया सरकारलाई छ भने सरकारविरोधी विद्रोही समूहहरू विभिन्न विदेशी मुलुकको समर्थन प्राप्त छ । सन् २०१९ मा टर्कीले सिरियामा टर्की विरोधी क्षेत्रमा सीधै हमला गरेको थियो । विद्रोहीमध्ये टर्की समर्थक छापामार समूहले सिरियाको केही भाग अझै कब्जामा राखेको छ । भूकम्प पीडितको उद्धारका लागि सिरियाको द्वन्द्व पनि मुख्य तगारो बनेको छ । बाहिरी सहयोग कर्ताहरूको लागि भन्दै सिरियाले बल्ल दुईवटा नाका खुला गरेको छ । टर्कीमा अग्ला घरहरू उद्धारको निम्ति मुख्य चुनौती बनेका छन् । भूकम्प र पटक–पटकको परकम्पनले अग्ला महलहरू भत्कँदा शहरका सडकहरू पुरिएका छन् । फराकिलो सडकहरूमा समेत दुवै किनाराका अग्ला घरहरू लम्पसार परेका छन् । साँघुरा सडकको त नामोनिशान छैन । प्रतिकूल मौसम पनि उद्धारमा बाधक बनेको छ । जतिसुकै भूकम्प प्रतिरोधी भनिए पनि अग्ला महल र जतिसुकै राष्ट्रहितका लागि भने पनि आपसी द्वन्द्वले कसैको हित गर्दैन भन्ने कुरा टर्की र सिरियाबाट पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here