- उमाशङ्कर द्विवेदी
अनि जब उनी धनुषमाथि वाण चढाउनै लागेका थिए कि सात्यकिले उनको धनुष काटिदिए र अनेकौं सायकबाट उनलाई घाइते पारिदिए । दुर्योधन वेदनाले कराउँदै अर्को रथमाथि गई बसे । अलिक बेरमैं जब वेदना केही कम भएपछि सात्यकिको रथमाथि वाण वर्षा गर्दै अगि बढे । यस्तै सात्यकि पनि दुर्योधनको रथमाथि वाण वर्षा गर्न थाले । अनि त दुवैबीच भयङ्कर युद्ध हुन थाल्यो । त्यहाँ सात्यकिलाई नै तपाईंका पुत्रहरूमाथि भारी परिरहेको देखेर कर्ण तपाईंका पुत्रहरूको रक्षा गर्नको लागि आइ पुगे । भीमसेनले यो देखिसहेनन् । उनी पनि वाण वर्षा गर्दै त्यहाँ आइपुगे । कर्णले हाँस्दाहाँस्दै उनको धनुष र वाण काटिदिए तथा सारथिलाई मारिदिए । अनि त भीमसेनको क्रोधको सीमा नै रहेन, उनले हातमा गदा लिई शत्रुको धनुष, ध्वजा, सारथि र रथको पछिल्लो पाङ्ग्रा नाश गरिदिए । कर्णले यो सहन गर्न सकेनन्, उनी नानाथरिका अस्त्र–शस्त्र र वाणको प्रयोग गरेर भीमसेनसित लड्न थाले । यसै प्रकार भीमसेन पनि कुपित भई कर्णसित लड्न थाले । अर्कोतिर द्रोणाचार्यले धृष्टद्युम्न आदि योद्धाहरूलाई पीडा दिन थाले । यो द्रोणाचार्यको सेनापतित्वको पाँचौ दिन थियो । उनी क्रोधित भएर पाञ्चाल वीरहरूको महान् संहार गरिरहेका थिए । शत्रु पनि बडो धैर्यवान् थिए । उनीहरू द्रोणाचार्यसित युद्ध गर्नमा कति पनि डराएका थिएनन् । पाञ्चाल सेनाहरू मरिरहेको र द्रोणाचार्य प्रबल भइरहेको देखेर बडो भय भइरहेको थियो । उनीहरूले विजयको आशा त्यागिदिए । यी महान् अस्त्रवेत्ताले कतै हाम्रो समूल नै नष्ट पो गरिदिने कि भनेर सन्देह गर्न थाले ।
कुन्तीका पुत्रहरूलाई भयभीत भएको देखेर भगवान् श्रीकृष्ण भन्न थाले–पाण्डवहरू हो, द्रोणाचार्य धनुर्धारीहरू मध्ये सर्वश्रेष्ठ हुन् । यिनको हातमा धनुष छउन्जेल इन्द्रादि देउतासमेत यिनलाई जित्न सक्दैनन् । यिनले हातको हतियार बिसाएपछि मात्र कसैले यिनको वध गर्न सक्छ । मलाई लाग्दछ, अश्वत्थामा मारिए पछि यिनले युद्ध गर्ने छैनन् । अतः कोही गएर यिनलाई अश्वत्थामा मरेको खबर सुनाओस् ।
महाराज, अर्जुनलाई यो कुरा कति पनि मन परेन तर अन्यलाई यो कुरा राम्रो लाग्यो । केवल राजा युधिष्ठिरले बडो कठिनतापूर्वक यो कुरा स्वीकार गरे । मालवाका राजा इन्द्रवर्माको एउटा हात्ती थियो, जसको नाम थियो–अश्वत्थामा । आफ्नै सेनासित रहेको त्यस हात्तीलाई भीमसेनले आफ्नो गदाबाट मारेर खसाले र द्रोणाचार्यको सामु गई जोडजोडले कराउन थाले–अश्वत्थामा मारियो..अश्वत्थामा मारियो । मनमा त्यस हात्तीको स्मरण गरेर भीमसेनले यो मिथ्या खबर उडाइदिए ।
त्यस अप्रिय वचन सुन्नासाथ द्रोणाचार्य सन्न भए । उनको सम्पूर्ण शरीर शिथिल हुन पुग्यो । तर उनलाई आफ्नो पुत्रको बलबारे थाहा थियो । अतः उनलाइ सन्देह भयो–यो कुरा भूmटो होला, अनि धैर्यबाट विचलित नभएर उनले धृष्टद्युम्नमाथि धावा गरेर उनीमाथि एक हजारवटा वाणको ओइरो लगाए । यो हेरेर बीस हजार पाञ्चाल महारथिहरूले चारैतिरबाट वाणको झरी लगाएर द्रोणाचार्यलाइ ढाकिदिए । द्रोणाचार्यले उनीहरूका वाणलाई नष्ट पारेर उनीहरूको पनि संहार गरिदिनको निम्ति ब्रह्मास्त्र प्रकट गरे । त्यस अस्त्रले पाञ्चाल वीरहरूको मस्तक र भुजा काट्न थाल्यो । पृथ्वी वीरहरूको सोत्तर लाशको बिस्कुन बन्यो । आचार्यले ती बीस हजार पाञ्चाल वीरहरूको संहार गरिदिए । यसपछि पाँच सय मत्स्य, छ हजार सृञ्जय, दश हजार हात्ती तथा दश हजार घोडा संहार गरिदिए ।
यस प्रकार द्रोणाचार्यलाई क्षत्रियहरूको अन्त गर्न उभिएको हेरेर अग्निेदेवलाई अगि सारी विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, वशिष्ठ, कश्यप र अत्रि ऋषिले उनलाई ब्रह्मलोकमा लैजान त्यहाँ आइपुगे । साथै सिकत, पृश्नि, गर्ग, वालखिल्य, भृगु र अङ्गिरा आदि पनि थिए । यी जम्मैले सूक्ष्म रूप धारण गरेका थिए । महर्षिहरूले द्रोणाचार्यसित भने–द्रोण, हतियार बिसाइदिनुस् र यहाँ उभिएका हामीहरूलाई हेर्नुस् । अहिलेसम्म तपाईंले अधर्मको पक्षमा युद्ध गर्नुभएको छ । अब तपाईंको मृत्युको समय आइपुगेको छ । अहिलेदेखि नै तपाईं यस अत्यन्त त्रूmरतापूर्ण कर्म त्याग गरिदिनुहोस् । तपाईं वेद र वेदाङ्गको विद्वान् हुनुहुन्छ । धर्म र सत्यमा तत्पर रहने वीर हुनुहुन्छ । सबै भन्दा ठूलो कुरा त के हो भने तपाईं ब्राह्मण हुनुहुन्छ । तपाईंलाई यो कर्म सुहाउँदैन । आफ्नो सनातन धर्ममा स्थित हुनुस् । तपाईंको यस लोकमा रहने समय पूर्ण भइसकेको छ । जसलाई ब्रह्मास्त्रबारे थाहा नै थिएन, उनीहरूलाई तपाईंले ब्रह्मास्त्रबाट दग्ध पारिसक्नुभएको छ, तपाईंको यो कर्म राम्रो भएन, फालिदिनुहोस् यी अस्त्र–शस्त्र, अबदेखि यस्तो पापकर्म कहिल्यै नगर्नुहोस् । क्रमशः…।