• बैधनाथ श्रमजीवी

हाम्रो पृथ्वीमा यतिबेला ८७ लाख प्रजातिको जीवको बसोवास छ । यीमध्ये सबैभन्दा बढी ज्ञान, सीप तथा अनेकौं अनुभूति समेट्न सक्ने जीवको रूपमा मानिस नै देखापरेको छ । आजको आधुनिक मानवको कुरा गर्ने हो भने विज्ञानको हतियारले उनीहरू ज्ञानको क्षेत्रमा अहिलेसम्म सर्वाधिक सुसज्जित भएका छन् । आजको मानवले पृथ्वी तथा सिङ्गो ब्रह्माण्डबारे थुप्रै कुराको  जानकारी प्राप्त गरेको छ । हाम्रो आकाशगङ्गा, सूर्य परिवारलगायतको विषयमा निकै रहस्यको पर्दा खोलेको छ । यति हुँदाहुँदै पनि यति बेला नेपाल–भारत खासगरी दक्षिण एशियामा अत्यधिक मात्रामा अन्धविश्वास फैलिएको देखिन्छ । विज्ञानका कैयौं आविष्कारहरूको प्रयोग गरेर हातको सफाइ (ट्रिक) देखाउने तर त्यसलाई ईश्वरीय चमत्कार भनेर अदृश्य शक्ति तिर दिग्भ्रमित गर्ने परम्पराले गर्दा हाम्रो समाज विज्ञानको क्षेत्रमा अझै पनि निकै पछाडि रहेको भान हुन्छ । भारतमा यति बेला तुलसीकृत रामायणबारे निकै बहस छरिएको छ । रामायण भित्रको–

ढोल, गवाँर,शुद्र, पशु, नारी,

ये सब तारण के अधिकारी

भन्ने प्रसङ्ग निकै चर्चित छ । एक पक्षले धार्मिक अन्धविश्वासले महिलाहरूमाथि भेदभाव बढेको तथा जातीयताको आधारमा मानिसमाथि पशुवत् व्यवहार भइरहेको कुरालाई उठाइरहेको छ भने अर्काे पक्षले त्यसको ढाकछोप गर्ने प्रयास गरेको देखिन्छ । जेहोस् हाम्रो समाज अन्धविश्वासद्वारा जकडिएको छ भन्ने कुरा इन्कार गर्न सकिन्न । हाम्रो संस्कृति, रहनसहन, खानपिन, उठबस सबै कुरामा अन्धविश्वास प्रस्ट देख्न सकिन्छ । कहाँ सम्म भने राजनीतिका अब्बल खेलाडीहरू समेत, जो आफूलाई कम्युनिस्ट वा वामपन्थी भन्छन्, भैंसी पूजा गर्ने तथा साइत हेरेर सत्ताको कुर्सीमा आसीन हुने जस्तो कार्य गरेको सबैले देखेकै छन् ।

नेपाल विश्व मानचित्रमा एशिया महादेशमा रहेको सुन्दर राष्ट्र हो । यहाँ भिन्न–भिन्न संस्कृति, भाषा, धर्म मात्र होइन, भौगोलिक विविधतासमेत रहेको छ । हिमाल, पहाड तराईको मिश्रणले बनेको यो देशले पूर्वीय दर्शन, परम्परा र जीवनाशैलीले गर्दा सामाजिक संरचनामा धेरै राम्रो, सकारात्मक र रचानात्मक पक्षहरू समेटेको छ तर दुःखको साथ भन्नुपर्छ केही कुसंस्कार, अन्धविश्वासले ग्रसित पनि छ ।  जसले गर्दा समाजभित्र सामाजिक विचलन मात्र होइन, कतिपय अवस्थामा विकाससमेत अवरुद्ध हुँदै आएको छ । हाम्रो सामाजिक पृष्ठभूमिमा ठडिएका त्यस्ता अन्धविश्वासको आकर्षक महलहरू भत्काउन सके मात्र  समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याउन सकिन्छ । सबैखाले समाजको गति सामाजिक मूल्य र मान्यताको धरातलमा अगाडि बढेको हुन्छ । तसर्थ समाजमा शिक्षा र चेतनाको स्तर माथि नउकासिएसम्म परम्परागत रूपमा जरो गाडेर बसेका विभिन्न रूप र स्वरूपका रुढिवादी परम्परा र अन्धविश्वासले कथित ‘महान्’ को उपाधि पाएको हुन्छ ।

१०४ वर्षसम्म चलेको राणा शासनले औपचारिक शिक्षाको मुहान लगभग अवरुद्ध नै गर्या । जसले गर्दा त्यस समयमा नेपाली समाजको चेतनाको स्तर माथि उठ्न सकेन । विभिन्न जात, समूह, धर्म, वर्ग, समुदाय तथा भूगोलको मुकुण्डो भिरेका त्यस्ता अन्धविश्वासहरूमा लैङ्गिक विभेद, जातीय विभेद, छुवाछूत, बोक्सी, छाउपडी, दाइजो, कुमारी, कमलरी प्रथालगायत धेरै वाद र अन्धविश्वासले नेपाली समाजलाई समय–समयमा ठगिरहेका छन् । जसमा विशेषगरी शैक्षिक र आर्थिकरूपमा कमजोर वर्ग यसको शिकार भइरहेको अनुभूत तथ्य हो ।

हाम्रो समाजमा परापूर्वकालको सामाजिक संरचना अगाडि बढाउन आत्मसात् गरिएका कतिपय संस्कार र परम्परालाई आधार मानेर समाजको उपल्लो वर्ग भन्न रुचाउनेहरूले यस्ता अन्धविश्वासलाई काँधमा बोकेर हिंडेको पाइन्छ । पितृसत्तात्मक हाम्रो समाजको मूल कानून संविधानले विभेद र भेदभावरहित नेपाली समाजको परिकल्पना गरेको भए तापनि सामाजिक रूपमा छोरालाई काखा र छोरीलाई पाखा गर्ने परम्पराले सयकडौं वर्षदेखि लैङ्गिक विभेदलाई काखी च्यापेको छ । एउटै समाजका मानिसबीच उपल्लो जात र तल्लो जात भन्ने र सोही अनुसारको व्यवहार गर्ने संस्कारको अन्त्य नहुन्जेल जातीय विभेदको कालो दाग मेटिनेवाला छैन । आर्थिक दृष्टिले विपन्न र पारिवारिकरूपमा एक्लिएका महिलालाई सम्मान, सहानुभूति र सहयोग गर्नुपर्नेमा कथित बोक्सीको आरोप लगाउने, बेइज्जत गर्ने तथा ज्यान नै लिने निन्दनीय कार्यको अन्त्य नभएसम्म सामाजिक समानता र समृद्धिको नारा जति लगाए पनि, नेताहरूले जति चर्काे स्वरमा भाषण गरे पनि त्यस्ता समूह समाजको मूलधारमा आउन सक्नेवाला छैन । विशेष गरी सुदूरपश्चिमका नारीमा मासिक श्राव हुँदा छाउगोठमा पठाउने कार्यको अन्त्य नभएसम्म त्यस क्षेत्रका नारी समुदायमा डर, त्रास, भय र विभेदको अन्त्य हुनेवाला छैन । त्यसैगरी छोराको आसमा जन्मिएका छोरीलाई देवताको प्रसाद भन्दै मन्दिरमा लगेर छोड्ने दानवीय कार्यको रोकथाम नभएसम्म अबोध त्यस्ता बालिकाहरूले न्याय पाउनेवाला छैनन् ।

हुनत सिङ्गो देशलाई नै दाइजो प्रथाले पिरोलेको छ तर बढीजस्तो तराई–मधेसलाई दाइजो प्रथाले यति गाँजेको छ कि कतिपय बाबु–आमाहरू एकातिर छोरीको बिहेमा दाइजो दिंदादिंदै सुकुम्बासी बनेका छन् भने अर्कोतिर दाइजो दिन नसक्दा धेरै छोरीको बिहे नै हुन सकेको छैन । यसका साथै शहर बजारमा कुमारी प्रथा, तराई–मधेसमा कमलरी प्रथा, देह व्यापारमा लाग्न बाध्य बनाइएका वादी समुदायका पीडा छन् । यी र यस्ता गुप्त रहेका अनेकन अन्धविश्वासको जालोले जेलिएको नेपाली समाजमा अन्धविश्वासको अन्त्य नहुन्जेल समृद्धिको बाजा जति घन्काए पनि त्यो नारा लक्षित समुदायमा पुग्दैन ।

हाम्रो देशको मूल कानून संविधानमा माथि उल्लिखित मानवताविरोधी अपराधलाई दण्डनीय माने तापनि कानूनको आँखा छलेर र अज्ञानताको पराकाष्ठाका रूपमा हुने यस्ता अन्धविश्वास र अमानवीय कार्यबाट नेपाली समाज समय–समयमा थिलथिलो हुने गरेको तीतो–सत्य हामीसामु जगजाहेर छ । यसर्थ, सम्पूर्ण धर्म, संस्कार र संस्कृतिले मानवको अहित नचाहेको भए तापनि हाम्रै समाजका केही स्वार्थी र लोभीपापी मानिसले स्वार्थपूर्तिका लागि मानवताविरोधी त्यस्ता अन्धविश्वासलाई काँधमा बोकेर हिंडेको पाइन्छ ।

मानव हितका लागि पुर्खाले गरेका आविष्कार, संस्कार, संस्कृति, धर्म र परम्परालाई बदलिंदो समयसँग अनुकूल बनाउन, हाम्रा संस्कार र संस्कृतिलाई वैज्ञानिक ढङ्गले स्थापित गर्न, हाम्रा संस्कार, संस्कृति र परम्परामा क्रमिक सुधार र आंशिक परिवर्तन गरिनु अपरिहार्य छ । नत्र विभिन्न वाद, प्रथा र धर्मका नाममा हुने यस्ता अन्धविश्वासले नेपाली समाजलाई अग्रगमनमा लैजाने छैन । यसको अन्त्यका लागि एकातर्फ नेपालको शैक्षिकस्तर माथि उकास्दै गाउँँ–गाउँँ र दूरदराजसम्म चेतनाको दियो जगाउन सक्नुपर्दछ भने अर्काेतर्फ कथित कम्युनिस्ट, वामपन्थी तथा प्रगतिशील भन्ने पार्टी तथा बुद्धिजीवीहरूले केवल भोटको राजनीतिमा नलागी सामाजिक परिवर्तनको लागि वैज्ञानिक संस्कृति विचार, धारणा, सोचलाई गाउँँगाउँँमा पुर्याउन जरूरी छ । जात व्यवस्था र छुवाछूतलाई अपराधको रूपमा व्यवहारमा उतार्न जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here