प्रस, वीरगंज, २६ माघ/
वीरगंजका इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई)हरू अहिले सेवाविहीन भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पैसा पुर्याउने र ल्याउने कार्यमा सक्रिय आइएमईहरूको, पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको निर्देशनपछि सेवा पातलिएको हो ।
राष्ट्र बैंकले विदेशबाट पठाउने रेमिटेन्सलगायत रकममध्ये २५ हजारभन्दा मुनिको मात्र आइएमईबाट पाउन सकिने र त्यसभन्दा माथिको रकम बैंकमार्फत लिनुपर्ने प्रावधान लगाएपछि आइएमई सेवा पातलिएको हो । एक दशक अघिदेखि वीरगंजलगायत देशभर आइएमई सेवा प्रभावकारी थियो । खासगरी वैदेशिक रोजगारमा गएकाहरूले यही माध्यमबाट रकम पठाउने र परिवारजनले बुझ्ने गरेका थिए । तर अहिले रेमिटयान्सको रकम आइएमईमार्फत कमै आइरहेको छ ।
प्रायः वैदेशिक रोजगारमा गएकाहरूले २५ हजारभन्दा माथि रकम पठाउने गरेको कारण आइएमईबाट निकाल्न नपाउँदा सेवाग्राहीहरू बैंक पुगेका छन् र बैंकमा यस कारण पनि भीड बढेको छ । विदेशबाट आउने रकमको हकमा राष्ट्र बैंकको यो नीतिको कारण आइएमई सेवा पातलिएको त छँदैछ, अर्को तिर राष्ट्रिय स्तरमा एक हजार रकम पठाउँदा पनि नागरिकता, सवारी चालक अनुमतिपत्रजस्ता व्यक्तिको परिचयपत्रको फोटोकपी अनिवार्य गरिएको कारण सेवा पातलिएको आइएमई सञ्चालकहरूले बताएका छन् ।