प्रस, परवानीपुर, २६ माघ/
नेपाली कथानक वेब सिरिज मिस स्कार्लेटको छायाङ्कन वीरगंजमा शुरू भएको छ । कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले निर्माण गर्न लागेको वेब सिरिजको एक सातादेखि छायाङ्कन भइरहेको छ । सिरिज युनिट वीरगंजको क्लार्क रिर्सोटमा बसेर वीरगंज आसपासको स्थानमा छायाङ्कन गरिरहेको जनाएको छ । वीरगंजकै सेरोफेरो र यहाँकै कथावस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका–२ बहुअर्वाभाठा बस्ने बलिराम चौहानले निर्देशन गरिरहेका छन् । कथा पनि उनले नै लेखेका छन् । साइकोलोजिकल सस्पेन्स थ्रिलर विधामा निर्माण भइरहेको यो वेब सिरिज सम्भवतः नेपालकै पहिलो नेपाली कथानक वेब सिरिज भएको निर्माता कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पुरीले बताए ।
४ वर्ष पहिले कथा फुरेपनि कथाको विषयवस्तु बलियो र दर्शकले हेर्न लायक बनाउन मेहनत गर्नुपरेको स्मरण गर्दै चौहानले भने–“कथा लेखेर मात्रै नहुने रहेछ, धेरै कुरा मिल्नुपर्ने रहेछ । शुरूमा मैले यस कथालाई ‘चकलेट’ शीर्षक दिएको थिएँ, पछि धेरै कुरा काटछाँट गरेर कान्तिपुर फिल्म एकेडेमीसँग भेटेर छलफल गरेपछि छायाङ्कन शुरू गरेका छौं ।” शुरूमा फिल्म बनाउने लक्ष्य थियो तर सिरिज बनाउने सल्लाह भएपछि पहिलो सिजन अनुसार ६ अङ्कको छायाङ्कन शुरू भएको उनले बताए । यो सिरिजको पहिलो सिजनका अङ्कहरू दर्शकले रुचाएपछि अन्य सिजनबारे काम थालिने छ ।
लेखक–निर्देशक चौहानसँगै सिरिजमा मुख्य भूमिकामा देखिने कलाकार पनि वीरगंजकै हुन् । वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी १८ वर्षीय कुल श्रेष्ठ (कमल ओझा) मुख्य कलाकारको रूपमा देखिंदैछन् । उनी वीरगंजकै ग्लोबल बिजनेस कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । “अभिनयमा रुचि भए पनि अवसरको खोजीमा थिएँ, त्यही समयमा यति ठूलो सिरिजमा मुख्य भूमिकामा अभिनय गर्न पाउनु मेरो लागि गर्वको कुरा हो” श्रेष्ठले भने–“यो मेरो ड्रिम रोल हो, निर्माण पक्षले ममाथि गरेको विश्वास जित्न र कथासँग न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।”
श्रेष्ठसँगै गीत बिष्ट पनि प्रमुख भूमिकामा छिन् । आलिशा बास्तोला, शबी थापा, दिलीप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाइलीलगायतको अभिनय सिरिजमा देख्न सकिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ पुरीले जानकारी दिए ।
पछिल्लो समय चलचित्रभन्दा पनि वेब सिरिजप्रति आकर्षण बढ्दै गएको चर्चा गर्दै उनले भने–“विश्व बजारमा पनि फिल्मभन्दा वेब सिरिजप्रति आकर्षण बढ्दै गएको छ, हाम्रै छिमेकी देश भारतका चर्चित कलाकारहरू फिल्मभन्दा सिरिजमा बढी व्यस्त देखिन्छन्, त्यसले हामी पनि अग्रसर भएका हौं ।” चलचित्र हलमा पनि व्यापार नहुने र दर्शकहरूलाई पनि हलसम्म पुग्नुभन्दा नेटल्फिक्स, एमेजोनलगायत डिजिटल प्लेटफर्महरूमा हेर्न सहज हुने अवस्थालाई मध्यनजर गर्दै सिरिज बनाउन शुरू गरिएको पुरीको भनाइ छ । निर्देशक बलिराम चौहानलाई सुदिप कुँवर र अनिता स्याङ्वो र विशाल राईले सघाइरहेका छन् ।
सुदिप मुख्य सहायक निर्देशकको रूपमा यस सिरिजसँग जोडिएका छन् भने अनिता सहायक निर्देशकको रूपमा आबद्ध भएकी छन् ।
सुदिपले यस अघि छक्कापञ्जा, नाइँ नभन्नु ल, परदेशीलगायत चलचित्रमा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् भने अनिताले पनि ‘नाइँ नभन्नु ल’ मा सहायक निर्देशकको रूपमा काम गरेको अनुभव बटुलेकी छन् । टलकजङ्ग भर्सेस टुल्के, ठूली, श्री लगायत चलचित्रको छायाङ्कन गरेका शेरबहादुर तामाङले सिरिजको छायाङ्कन गरिरहेका छन् ।
छायाङ्कनमा तामाङलाई विनोद क्षत्री, गणेश दुलाल, जेमिन राई र अर्नब श्रेष्ठले सघाइरहेका छन् । विशेषगरी अभिनय, छायाङ्कन, भिडियो इडिटिङ लगायत विषयमा अध्ययन एवं अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीले यस अघि ‘म’ चलचित्र बनाएको छ । यसका साथै अन्य विभिन्न शर्ट मुभी र विभिन्न परियोजनामा वृत्तचित्रहरू बनाइसकेको एकेडेमीले जनाएको छ ।