- श्रीमन्नारायण
आफू सधैं ठीक र बाँकी सबै सधैं गलत भन्ने मान्यतालाई नै अहङ्कार भनिन्छ । अहङ्कारबाट ग्रसित व्यक्ति एकपछि अर्को गलती गर्दै जान्छ र अन्ततः पतनको शिकार हुन्छ । समकालीन नेपाली राजनीतिमा पत्रकारिताबाट राजनीतिमा पदार्पण गरेका रवि लामिछानेको अवस्था यसको एउटा उदाहरण हो । ईष्र्या, द्वेष र पूर्वाग्रही भएर उनी आफूलाई चोखो साबित गर्न उनले अन्यमाथि लगाएको आरोपहरू स्वयं उनकै निम्ति पनि आत्मघाति साबित हुनेछ किनभने उनी स्वयं पनि नैतिकता र कानूनको कमजोर धरातलमा उभिएका छन् ।
नेपाली पत्रकारिता क्षेत्रमा छोटो समयमा नै ख्याति कमाउनेमध्येका एक पत्रकार रवि लामिछाने हुन् । पत्रकारिताभन्दा पनि थोरै समयमा उनी राजनीतिमा ठूलो सफलता प्राप्त गरे । दल दर्ता गरेको छ महीनाभित्रमैं उनले प्रतिनिधिसभाका २० सिट जिते । माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा र लोसपालगायत स्थापित पार्टीलाई उछिन्दै देशकै चौथो ठूलो दल बन्नु सामान्य उपलब्धि होइन । भनिन्छ, विनाकुनै राजनीतिक सिद्धान्त एवं दर्शन, पृष्ठभूमिसहितको नेतृत्व, प्रस्ट आर्थिक एवं सामाजिक नीतिविना केवल भावनात्मक एवं संवेदनशील नारा तथा सामाजिक सञ्जालको हावामा राजनीतिमा आफ्नो अग्रणी स्थान बनाउनेहरू उल्कापात जस्तै चम्किएर त आउँछन्, तर उल्कापातजस्तै विलीन हुन पनि बेर लाग्दैन । रवि लामिछानेले जति ठूल्ठूला उपदेश, नीति, सिद्धान्त र नैतिकताका कुरा गरे त्यसमा उनी स्वयं नै टिक्न सकेनन् । दक्षिण एशियाका अधिकांश देशहरू खासगरी श्रीलङ्का, पाकिस्तान, नेपाल र अफगानिस्तानमा क्रान्तिकारी कुरा गर्ने र राष्ट्रवादको चर्को नारा लगाउनेहरूलाई यहाँका जनता रातारात आफ्नो हीरो मानिहाल्छन् । तर एउटा सामान्य गलती अथवा त्रुटि हुँदा तिनलाई विस्थापित गर्न बेर लगाउँदैनन् । ये बेग्लै कुरा हो कि यस्ता खाले नेताको भावनात्मक नाराको पछाडि लागेर त्यस्ता अनुहारलाई आफ्नो नायक ठान्ने सोझा जनता स्वयं आफ्नो निम्ति र देशको निम्ति ठूलो गलती गरिसकेका हुन्छन् । रवि लामिछानेले पनि नेपाली जनताको यिनै कमी–कमजोरीबाट फाइदा उठाएर चुनावमा राम्रो सफलता हासिल गरे । स्थानीय तहको निर्वाचनमा काठमाडौं, जनकपुर र धरानजस्ता ठाउँमा स्वतन्त्र उम्मेदवार मेयर पदमा निर्वाचित भएपछि स्वतन्त्रको हावा नै चल्यो । रवि लामिछानेले आफ्नो पार्टीको नाम नै स्वतन्त्र राखे । जबकि स्वतन्त्रहरूको पार्टी कसरी हुन सक्दछ ? र पार्टी स्वतन्त्र कसरी हुन सक्छ भन्नेबारे सोच्ने फुर्सत नै कसैलाई भएन । दलीय व्यवस्था, त्यसमा पनि प्रदेश र सङ्घमा सरकार चलाउन ५१ प्रतिशत बहुमत अनिवार्य हुन्छ । विनाबहुमत एउटा पनि विधेयक पारित हुन सक्दैन र विधेयक पारित भएन भने देश कसरी अघि बढ्ने भन्ने विषयबारे अवगत भएर पनि स्वतन्त्र शब्दलाई कतिपले मन पराए । यो भ्रमबाहेक अरू केही पनि थिएन । रवि लामिछानेको विवादसित पनि नाता रहिआएको छ । उनी अमेरिकामा हुँदा पनि उनको नाम विवादमा आएको थियो भने एकजना पत्रकारले आत्महत्या गर्दा पनि उनको नाम नमुछिएको होइन । अहिले पनि भरसक त्यस मुद्दाको छिनोफानो भएको छैन । उनले एकै साथ नेपाल र अमेरिकाको गरी दुई देशको नागरिकता र पासपोर्ट बोकी हिंडेका थिए । आवश्यकता परे अमेरिकी र मन परे नेपाली पहिचान प्रयोग गर्ने काम पनि उनले मज्जले गरे । सामाजिक सञ्जालको वर्तमान युगमा उनको नाम, नेतृत्व र पार्टीको ब्रान्डिङ पनि ठूलो स्तरमा भयो । चितवनमा उनी अत्यधिक मतबाट विजयी भए । तर जब उनको नागरिकता र राहदानीको विषय विवादमा रहेको थियो त्यति बेला उनले गृह मन्त्रालयको जिम्मेवारी लिनु उचित हुँदैनथ्यो । कमसेकम उनको नागरिकता प्रकरण छानबीन सम्पन्न भएपछि उनले मन्त्रालय लिएको भए, बढी उपयुक्त हुने थियो । सुशासन, पारदर्शिता र इमानदारीको कुरा गर्नेले पहिले आफैंबाट थालनी गर्नुपर्छ । सुशासन र नैतिकताको राजनीति गर्ने उद्घोषसहित राजनीतिमा आएका रवि लामिछानेले सर्वोच्च अदालतको पैmसलासँगै सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री संसदीय दलको नेता र पार्टी सभापति गुमाएको दोस्रो दिनमैं सबै पदमा फर्किन खोज्नुमा उनको पदलोलुपता देखिन्छ ।
रवि लामिछानेको काँधमा बन्दूक राखेर राष्ट्रपतिको चुनावमा आफ्नो उम्मेदवारलाई प्रस्तावित गर्न नेकपा माओवादी केन्द्रप्रति अत्यधिक दबाब बनाउने नियतले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले रवि लामिछानेलाई पुनः मन्त्रिमण्डलमा ल्याउन जुन भगिरथ प्रयास गरे त्यसले रवि लामिछानेको पदलोलुपतालाई दर्शाउँथ्यो । स्थापित ठूला राजनीतिक दलको विरोध गरेर नै उनले राजनीतिक सफलता प्राप्त गरेका थिए, तर नेकपा एमालेका अध्यक्षले उनीप्रति देखाएको सदाशयता, समर्थन र सदभावको प्रदर्शन अन्ततः लामिछानेको निम्ति धृतराष्ट्र आलिङ्गन साबित भयो । उनी गृहमन्त्री बन्न जति व्यग्र थिए, उनलाई मन्त्री बनाउन प्रधानमन्त्री त्यति हतारमा थिएनन् र अहिले पनि छैनन् । अब रवि लामिछानेको पार्टीको अस्तित्व प्रतिनिधिसभामा अङ्गगणितको हिसाबले मात्रै महत्वपूर्ण छ, अन्यथा अनुहारमा वैकल्पिक राजनीतिक शक्तिको छवि हेर्न कोही पनि तयार हुँदैन । नागरिकता प्रमाणपत्र लिएकै दिन उनी पार्टीको साधारण सदस्य, केन्द्रीय सदस्य तथा पार्टी सभापति बन्नु कुनै चमत्कारभन्दा कम थिएन । दुई दिन अघि राजीनामा दिएर पुनः मन्त्रीमा दाबी गर्नु पदलोलुपताको सङ्केत हो । लामिछाने पुनः मन्त्री बन्ने विषय संविधान र कानूनभन्दा पनि नैतिकताको विषय हो ।
मन्त्री बन्न नपाएको झोकमा उनले पार्टीका सबै मन्त्रीलाई सरकारबाट बाहिर ल्याए । सम्भवतः उनले मधेसी दलहरूबाट यो शिक्षा ग्रहण गरेको हुनुपर्छ । पार्टी सभापति मन्त्री बन्ने अवस्था नआएपछि पूरै पार्टीलाई सरकारबाट बाहिर राख्ने चरित्र त मधेसी दलहरूको देखिएकै छ ।
मन्त्री बन्न असफल भएपछि रवि लामिछाने देशका कतिपय सञ्चारमाध्यम, तिनका सम्पादक र प्रकाशकमाथि नै खनिएका छन्, तथानाम आरोप लगाएका छन् । आफू स्वयं पत्रकारिता पृष्ठभूमिबाट आएका कारण उनले सञ्चारमाध्यममाथि यसरी आरोप लगाउनुहुँदैनथ्यो । उनको आरोपलाई खण्डन गर्दै आफ्नो पक्ष राख्नेहरूमाथि सामाजिक सञ्जालमार्फत जथाभावी गालीगलौज गर्ने क्रम बढेको छ । तथ्य र तर्क नभएपछि आक्रोश उठ्छ नै । आक्रोशमा आएपछि व्यक्ति आफ्नो धैर्य गुमाउन पुग्छ, बलियोले भौतिकरूपमा आक्रमण गर्न पुग्छ तर निरीहले गालीको सहारा लिन्छन् । अहिले भइरहेको यही हो । त्वरित प्रतिक्रियाका लागि काठमाडौं चर्चित छ । काठमाडौंका युवाहरू चाँडै सडक प्रदर्शनमा पनि उत्रिहाल्छन् । रवि लामिछानेले आफ्ना समर्थकहरूलाई संयमित हुन अपील गर्नुपर्छ । तथ्य र तर्कको सहारा लिनुपर्छ । उनी स्वयंले पनि अब सोझो कुरा गर्नुपर्छ । आफूसित दुई देशको नागरिकता भएको कुरा उनले स्वीकार गरेका छन्, यस्तामा उनले कानूनको मार्ग अवलम्बन गर्नुपर्छ । गृहमन्त्री भएपछि उनले जनता र मातहतका कर्मचारीलाई कानूनको पालन गर्न आग्रह गरेका थिए । अब त्यही जिम्मेवारी स्वयं उनको काँधमा आएको छ ।
नेपालको सञ्चारजगत् विवादरहित छैन । त्यसमा पनि राष्ट्रिय राजधानी काठमाडौंका मिडियाको निष्पक्षता, इमानदारी र दायित्वबोधमा समय–समयमा प्रश्न उठेका छन् । सम्बन्धित सञ्चारमाध्यमले पनि आफ्नो कसूर अनुसार सजाय भोग्ने नै छ तर त्यसको पनि तरीका हुन्छ । नेपाल पत्रकार महासङ्घका महासचिवले विज्ञप्ति नै जारी गरी सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिकरूपमा धम्की दिनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी नेपाल पत्रकार महासङ्घका एकजना पूर्व अध्यक्षले लामिछानेको आक्रोश आफूलाई कानूनभन्दा माथि राखेर राज्यबाट प्राप्त हुने अधिकार दुरुपयोगको सपना बिथोलिएपछिको विचलित मानसिकताको परिणामको संज्ञा दिएका छन् भने एकजना वरिष्ठ अधिवक्ताले जब शक्तिमा रहेका व्यक्तिहरूमाथि प्रश्न उठ्छ उनीहरू अदालत र प्रेसप्रति खनिन्छन्–लामिछानेले त्यही गरेका हुन् । यो लोकतन्त्रमाथि आक्रमण हो उनी भन्छन् । पत्रकार हुँदा सरकार र सत्तालाई गाली गर्ने, आफै सत्तामा पुगेपछि पत्रकारलाई गाली गर्ने चरित्र दुर्भाग्यपूर्ण हो । रवि लामिछानेले मन्त्री पद हासिल नभएपछि अत्यधिक आक्रोश देखाएका छन् जुन नहुनुपर्ने हो ।