साम्यवादी मुलुक उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिएका छन् । यो सुदृढ युद्ध तयारीका निम्ति दिइएको निर्देशन हो । छिमेकी मुलुक दक्षिण कोरियालगायत जापान र वाशिंगटनसँग तनाव बढिरहेकैबीच उनको निर्देशन सार्वजनिक भएको हो । आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम न्यूनीकरण गर्नु पर्नेमा उत्तरले थप बढावा दिन थालेपछि अमेरिका र एशिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई चिन्तित बनाएको छ । सर्वोच्च कमान्डर किमको निर्देशनपूर्व नै उत्तर कोरियाली लालसेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउने बारे त्यहाँको सैन्य आयोगले काम थालेको कुरा सार्वजनिक भएको छ ।

यसैबीच उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइल प्रदर्शन गरेकोे छ । बुधवार प्रदर्शन गरिएको मिसाइलहरूले अमेरिकाको रक्षा प्रणालीलाई  गम्भीर चुनौती दिन सक्ने अन्तर्राष्ट्रिय सैन्य विश्लेषकहरूको ठम्याइ छ । सैन्य परेडमा एक दर्जन बढी ब्यालिस्टिक मिसाइल प्रदर्शित गरिएका थिए । कोरियाली जनसेना स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा सैन्य परेडसँगै सो प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनी संसारमा हालसम्मकै सबैभन्दा ठूलो आणविक प्रदर्शनी मानिएको छ । यस किसिमको अस्त्र सो परिमाणमा हालसम्म कुनै पनि मुलुकले प्रदर्शन गरेको छैन । परेडमा देखाइएको मिसाइलमा अमेरिकी मुख्य भूमिसम्म सहजै प्रहार गर्न सक्ने क्षमता रहेकोले संसारको सबैभन्दा शक्तिशाली राष्ट्र मानिएको अमेरिका तथा अमेरिकी आणविक सुरक्षालाई चुनौती थपिएको छ । प्रदर्शित हतियारले उत्तर कोरियाको शक्तिशाली युद्ध प्रतिरोध र सहजै प्रत्याक्रमण गर्न सकिने बताइन्छ ।

उत्तर कोरियाको परमाणु बम संसारकै लागि चिन्ताको विषय छ । उक्त परमाणु क्षमता न्यूनीकरणका लागि विश्वभर आवाज उठिरहेको र प्रयास पनि भएको छ । तर त्यसले सार्थक उपलब्ीि हासिल गर्नुभन्दा समस्या झन् थप्ने काम ग¥यो । अमेरिकी राष्ट्रपति निर्वाचित भई आउने हरेकको मुख्य मुद्दा उत्तर कोरियाको आणविक हतियार न्यूनीकरण हुन्छ । उत्तरलाई झुकाउन विभिन्न गठबन्धन गरिन्छ, नाकाबन्दी तथा प्रतिबन्ध लगाइँदै आइएको छ । परिणाम भने उल्टो भइदिन्छ । उत्तर भडकन्छ र गाँस काटेर पनि परमाणु हतियारमा खर्च बढाउने गरेको छ । उत्तर कोरिया र संयुक्तराज्य अमेरिका एवं दक्षिण कोरियाबीच भएका धाकधम्की, प्रतिबन्ध र एक्ल्याउनेजस्ता वर्षौंदेखिका कुनै पनि नीति सफल भएको देखिन्न । सन् २०१७ मा नेता किमले लामो दूरीका क्षेप्यास्त्र परीक्षण रोकेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बसेका थिए । वार्ता भए पनि ठोस प्रगति हुन सकेन ।  कूटनीतिक प्रयासलाई हतियार कार्यक्रमले बाधा नगर्ने किमले बताएका थिए । एकलकाटे उत्तर कोरियालाई लचकताका साथ सोच र व्यावहारमा परिवर्तन गराउनुपर्नेमा त्यसो हुन सकेको छैन । वार्ता चलिरहँदा पनि उत्तरमाथि विभिन्न आरोप लगाइयो । परमाणु सम्पन्न अमेरिकाले भोलि उत्तरसँग के व्यवहार गर्छ, ग्यारेन्टी छैन । अमेरिकासँग सशङ्कित भएर पनि उत्तरले परमाणु कार्यक्रम त्यागेको छैन । धम्की होइन, अब विश्वासमा पारेर मात्रै उत्तरको परमाणु हतियार कटौती गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here