दिनेश मिश्र, वीरगंज, २१ माघ/
विन्ध्यवासिनी परिवहन सेवा प्रालिसँग आबद्ध चालकहरूको समूहले मङ्गल कामनाको लागि शनिवार विन्ध्यवासिनी मन्दिरमा पूजा गरेका छन् । प्रालिका अध्यक्ष वीरबहादुर राउतले प्रत्येक वर्ष माघ महीनामा टेम्पुसहित चालकहरू भेला भई मङ्गल कामनाको लागि विन्ध्यवासिनी माताको पूजा गर्ने परम्परा रहेको बताए । उनले माघ महीनामा पूजा हुँदै आइरहेको र सोही अनुसार यस वर्ष पनि धूमधामले पूजा गरिएको बताए ।
प्रालिका उपाध्यक्ष सुनीलकुमार रामले पुरोहितले सुझाएको तिथिमा पूजा गरिंदै आएको बताए । रामले विन्ध्यवासिनी माताको पूजा गरी बोकाको बलि दिने चलन रहेको बताए । प्रालिमा आबद्ध ३२ वटा टेम्पु विन्ध्यवासिनी चोकबाट वीरगंजको घण्टाघरसम्म सञ्चालन हुन्छन् ।