धर्मेन्द्र चौरसिया, पोखरिया, २० माघ/

मङ्सिर २८ गतेदेखि अवरुद्ध पर्सा जिल्लाको विद्युत् अझै नियमितरूपमा सुचारु हुन केही दिन लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगरनाथ झाले वीरगंज–पोखरिया ३३ केभिए र ११ केभिए लाइन अपग्रेडिङ कार्य सम्पन्न भएपनि विन्ध्यवासिनी गाउँपालिकाका दुई स्थानमा विवाद विद्यमान रहेका कारण विद्युत् नियमित हुन अझै तीन/चार दिन लाग्ने बताए ।

उनले पहिलो चरणमा प्राधिकरणले मङ्सिर २८ गते सूचना प्रकाशित गरेर पुस १८ गतेसम्म वीरगंज सबस्टेशन अन्तर्गतका ६६, ३३ र ११ केभिएको विद्युत् लाइन तथा पोखरिया सबस्टेशन अन्तर्गतका ३३, ११ र सेढवा सबस्टेशनको ११ केभिए लाइन आवश्यकता अनुसार बिहान ८ देखि दिउँसो १ बजेसम्म सटडाउन हुन सक्ने सूचना प्रकाशित गरिएको तर समयमा कार्य सम्पन्न नहुँदा अहिले पुनः माघ २२ गतेसम्मको लागि सूचना प्रकाशित गरिएको बताए ।

उनले विन्ध्यवासिनी गापामा रहेको विवादलाई एक/दुई दिनभित्र प्रहरी परिचालन गरेर भएपनि सम्पन्न गराउने र तीन/चार दिनभित्र यस क्षेत्रको विद्युत् नियमित गर्ने बताए । अहिले अपग्रेडिड्ढो काम भइरहेका कारण वीरगंज महानगरपालिकाका दुईवटा वडाबाहेक तीसवटा वडा र १३ वटा पालिकाको विद्युत् लाइन अवरुद्ध हुँदै आएको छ ।

बिहान ८ देखि दिउँसो १ बजेसम्म प्राधिकरणले विद्युत् अवरुद्ध हुने सूचना जारी गरे पनि दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने गरेको ग्रामीण क्षेत्रका बासिन्दाले बताए । उनीहरूले विद्युत् नियमित नहुँदा मङ्सिरदेखि मोबाइल रिचार्ज, कुटानी–पिसानी, विद्यालयको पठनपाठन, वित्तीय कारोबार तथा गाउँपालिका, वडापालिकाको सेवा प्रभावित भएको बताएका छन् ।

कतिपय गापा र वित्तीय संस्थाले यो अवधिमा जेनेरेटर, इन्भर्टर खरीद गरेर सेवाप्रवाह गरिरहेका छन् । विद्युत् लाइन तोकिएको समयमा सुचारु हुन नसक्दा पर्सा जिल्लाका १४ वटा पालिकामा समस्या बढ्दै गएको छ । प्राधिकरणले पहिलो चरणमा मङ्सिर २८ देखि पुस १८ गतेसम्म, दोस्रो चरणमा पुस १९ देखि माघ १० गतेसम्म र तेस्रो चरणमा माघ ११ देखि माघ २२ गतेसम्म विद्युत् नियमित नहुने सूचना जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here