- डा शिवशङ्कर यादव
अङ्ग्रेजीमा सहायक ननन्युरोनल सेललाई न्युरोग्लाया भनिन्छ । लैटिनमा न्युरोको अर्थ नर्भ र ग्लायाको अर्थ ग्लु हुन्छ । ग्लुको मतलब हुन्छ वस्तु टाँस्ने लिस्याइलो पदार्थ । अर्थात् जसले नर्भलाई टाँसिने गरी स्थिर राख्ने काम गर्छ । मस्तिष्कमा जति न्युरोन वा नर्भसेल हुन्छ त्यसको दसदेखि पन्ध्र गुणा बढी हुन्छ, जसलाई न्युरोग्लायल सेल भनिन्छ । कुनै अङ्गको सेल जब अत्यधिक र अवाञ्छनीय रूपले विभाजित हुन्छ, त्यसलाई कैंसर भनिन्छ । किनकि नर्भसेल विभाजित हुँदैन त्यसकारण मस्तिष्कमा कैंसर लाग्दैन । तर यही ग्लायल सेल विभाजित भएर बनेको कैंसरलाई ब्रेनकैंसर भनिन्छ ।
वर्गीकरण : न्युरोग्लायल सेलहरू सेन्ट्रल नर्भस सिस्टम अर्थात् ब्रेन र स्पाईनलकFर्ड तथा पेरिफेरल नर्भमा पनि हुन्छ । अतः यी दुई प्रकारका भए : १ सेन्ट्रल न्युरोग्लायलसेल र २.पेरिफेरल न्युरोग्लायलसेल ।
सेन्ट्रल पनि तीन प्रकारको हुन्छ क. एस्ट्रोसाइट जसको आकार तारा जस्तो हुन्छ । यसको पनि दुई प्रकार हुन्छ : अ.फाइब्रस एस्ट्रोसाइट र ब. प्रोटोप्लाज्मिक एस्ट्रेसाइट । फाइब्रस केवल ह्वाइटमैटरमा र केही नगण्य सङ्ख्यामा मात्र ग्रेमैटरमा पाइन्छ । प्रोटोप्लाज्मिक केवल ग्रैमैटरमा पाइन्छ । ख. माइक्रोग्लाया : यसलाई सेन्ट्रलनर्भको मैक्रोफेज पनि भनिन्छ र रगतबाट नै आउँछ । यसको काम सेन्ट्रलनर्भमा त्यही हो, जुन अन्य टिसुमा मैक्रोफेजको हो अर्थात इन्फेक्टिभ जीवाणुलाई खाने र मिल्काउने । ग. ओलिगोडेन्ड्रोसाइट :जहाँ स्वानसेल हुँदैन त्यहाँ यसले माइलिनसीथको निर्माण गर्छ ।
कार्य: यो नर्भलाई चारैतिरबाट घेरेर रहन्छ र ब्रेन तथा स्पाइनलकार्डलाई आफ्नो ठाउँमा स्थिर राख्छ । कुनै रूखमा लहरा लपेटिएको अवश्य हेर्नु भएको होला । बस त्यही लताजस्तो हुन्छ न्युरोग्लायल सेल्स । तर लताले न रूखलाई स्थिर राख्छ, न कुनै पोषण दिन्छ बरु रूखको कारण आफू स्थिर रहन्छ र रूखबाट नै पोषण प्राप्त गर्छ । यसविपरीत लतारूपी न्युरोग्लायल सेलले न केवल न्युरोनरूपी रूखलाई सहारा दिएर स्थिर राख्छ अपितु त्यसलाई पोषण पनि दिन्छ र उसको विजातिय पदार्थलाई पनि मिल्काइदिन्छ । न्युरोग्लायल सेल भएन भने न्युरोनको अस्तित्व नै रहँदैन । त्यसैले ब्लडब्रेन बैरियर (तगारो) पनि बनाउँछ र धेरै अवाञ्छित तत्वलाई रगतबाट ब्रेनमा जान दिंदैन । एक्सट्रा सेल्युलर द्रवको मात्रा बनाइराख्ने काम पनि एस्ट्रोसाइटले नै गर्छ । यसबाहेक सोडियम र पोटासियम उपलब्ध गराएर यसले न्यरोट्रान्समिटरको मात्रा पनि नियमन गर्छ ।
२. पेरिफेरल ग्लायलसेल पनि दुई प्रकारको हुन्छ : क. स्वानसेल र ख. सेटेलाइटसेल । स्वानसेलले न्युरोनको चारै तिर माइलिनसिथको निर्माण गर्छ, नर्भ रिजेनरेशनमा भाग लिन्छ र न्युरोनको विजातीय पदार्थ पनि मिल्काउँछ । सेटेलाइटसेल न्युरोनको बाहिरी सतहमा पाइन्छ । यसले पेरिफेरल नर्भलाई स्थिर राख्छ । एक्सट्रा सेल्युलर केमिकलको पनि यसले नियमन गर्छ ।
अतः हामीले न्युरोग्लायल सेलको कामलाई बुँदागत रूपमा यसरी व्यक्त गर्न सक्छौं –
: यसले न्युरोनलाई समातेर स्थिर राख्छ ।
: न्युरोनको पोषण गर्छ ।
: सेन्ट्रल र पेरिफेरल नर्भको मृत कचर मिल्काउँछ ।
: मृत न्युरोनलाई पचाउँछ ।
: एक्सट्रा सेल्युलर द्रवको नियमन गर्छ ।
: न्युरोनहरूको जंक्शनमा न्युरोट्रान्समिटर प्रवाह गर्न मदत गर्छ ।
: न्युरोट्रान्समिटरको मात्रा बढ्न दिदैन ।
: न्युरोनको कार्यको प्रवाह कायम राख्छ ।
संवेग ग्रहणकर्ता : यसलाई अङ्ग्रेजीको रिसेप्सन शब्दले राम्ररी बुझ्न सकिन्छ । रिसेप्सन त्यस स्थानलाई भनिन्छ जहाँ पाहुनालाई स्वागत गरिन्छ । स्वागत गर्ने व्यक्तिलाई रिसेप्निस्ट भनिन्छ । रिसेप्सन टेबुल वा ठाउँ शरीरका अङ्ग हुन्स जसरी हाम्रो छाला । छालामा स्पर्श, दबाब, दुखाइ आदि संवेदना ग्रहण गर्ने विभिन्न ठाउँ वा संरचना हुन्छ, जहाँ रिसेप्निस्ट बसेको हुन्छ । नर्भको परिप्रेक्ष्यमा यसैलाई रिसेप्टर भनिन्छ । रिसेप्टर स्पर्श, दबाब, दुखाइ आदि संवेगलाई रिसिभ गर्ने अलग अलग रिसेप्निस्ट वा रिसेप्टर हुन्छन् जसलाई समेटेर उसको सम्बन्धित हाकिम अर्थात् ब्रेनको विभिन्न भागमा पुर्याउँछ र हामीले त्यस संवेदनालाई महसूस गर्छौं । ती रिसेप्टर छाला वा शरीरको विभिन्न भागमा छरिएका हुन्छन । मानिलिउँ हाम्रो त्वचालाई कसैले छोयो । त्यसको लागि अलग रिसेप्टर हुन्छ ,कसैले चिमोट्यो त्यसको लागि अलग र यदि काँडा बिझेर दुख्यो त्यसको लागि अलग रिसेप्टर हुन्छ । यसको खोज सर्वप्रथम जर्मन वैज्ञानिक अर्नेस्ट हेनरीच वेवरले गरे र कति नियम बनाए जसको विस्तार गुस्ताभ थियोडोर फेचनरले गरे । नर्भ इन्डिग नै रिसेप्टर हो, जसलाई एफेरेन्ट नर्भ पनि भनिन्छ । यो अन्तिम छोर ननमाइलिनेटेड र विशेष आकार लिएको हुन्छ जसले एक ट्रान्सड्युसरको काम गर्छ । ट्रान्सड्युसर त्यस मेशिनलाई भनिन्छ जसले एक प्रकारको ऊर्जालाई अर्को प्रकारको ऊर्जामा बदल्ने काम गर्छ । उदाहरणको लागि अल्ट्रासाउन्डमा एउटा ट्रान्सड्युसर हुन्छ जसले ध्वनिबाट पैदा भएको मेकानिकल ऊर्जालाई दृश्य ऊर्जामा बदलिदिन्छ र हामीले कलेजो आदि विभिन्न अङ्गहरूको दृश्य हेर्छौ । त्यस्तै रिसेप्टरले स्पर्श आदि ऊर्जालाई विद्युत् ऊर्जामा बदलेर एउटा न्युरोनबाट अर्को न्युरोनमा पुर्याउँदै अन्तमा ब्रेनमा पुगे पछि हामीले त्यस संवेदनाको रूपान्तरित भाव महसूस गर्छौ ।
रिसेप्टरको वर्गीकरण : रिसेप्टर दुई प्रकारको हुन्छ: १. एक्सटेरोसेप्टर जसले शरीरको बाहिरी परत अर्थात् छालाबाट संवेदना ग्रहण गर्छ । २. इन्टेरोसेप्टर जसले शरीरको भित्री सतहबाट संवेदना ग्रहण गर्छ । एक्सटेरोसेप्टर पनि तीनथरीको हुन्छ : क. जो छालामा स्थित हुन्छ र मेकानिकल ऊर्जा जस्तै–स्पर्श, दबाब, दुखाइलाई समात्छ । यस कारण यसलाई मेकानोसेप्टर पनि भनिन्छ । ख. केमोरिसेप्टर: यसले केमिकल कुरालाई ग्रहण गर्छ जसरी कोलिनर्जिक र एड्रीनर्जिक नर्भ । ग. यसले शरीर बाहिर हुने संवेदनालाई ग्रहण गर्छ जस्तै–सुनिने कुरा । २. इन्टरोसेप्टर पनि दुई प्रकारको हुन्छ: क. भिसेरोसेप्टर: जुन आन्द्रा आदि शरीरको भित्री अङ्गहरूमा हुन्छ । ख. प्रोप्रायोसेप्टर: जुन शरीरको सन्तुलन बनाइराख्न कानभित्र हुन्छ ।
रिसेप्टरको गुण: यी निम्नलिखित हुन्: १. एक्साइटिबिलिटी अर्थात् उत्तेजित हुनु २. प्रतिक्रिया दिने विशेषता र मुलरको नियम ३. एडेप्टेसन अथवा अनुकूलन ४. संवेदनाको मात्रा बढाएमा प्रतिक्रिया ५. रिसेप्टर पोटेन्सियल ।
१. कुनै पनि स्टिम्युलस अथवा उत्तेजनाले रिसेप्टर उत्तेजित हुन पुग्छ जसको विवरण पछि दिइने छ । २. हरेक प्रकारको रिसेप्टर केवल आफ्नैमा सीमित हुन्छ । यसको मतलब हो–स्पर्शको रिसेप्टरले केवल स्पर्श ग्रहण गर्छ । दबाब, दुखाइ वा अन्यलाई ग्रहण गर्दैन । त्यस्तै दबाबको रिसेप्टरले केवल दबाब र दुखाइको रिसेप्टरले केवल दुखाइलार्ई मात्र ग्रहण गर्छ । यसको अलावा संवेदना ब्रेनको जुन भागमा जान्छ त्यसको अनुसार कम वा बेसी महसूस हुन्छ । यसैलाई मुलरको नियम भनिन्छ । ३. अनुकूलन: यदि कुनै रिसेप्टरलाई लगातार उत्तेजित पार्न खोजियो भने रिसेप्टरले संवेदना माथि पुर्याउन बन्द गरिदिन्छ । यसैलाई एडेप्टेसन अथवा अनुकूलन भनिन्छ । यस प्रकारका रिसेप्टर पनि दुई प्रकारको हुन्छ: क. फेजिक र ख. टोनिक । जब रिसेप्टर छिट्टै अनुकूलित हुन्छ तब त्यसलाई फेजिक रिसेप्टर भनिन्छ । स्पर्श र दबाब यस कोटिमा आउँछ । ख. जब एडप्ट गर्न रिसेप्टरलाई बढी समय लाग्छ तब त्यसलाई टोनिक रिसेप्टर भनिन्छ । यसमा दुखाइ आदि अन्य रिसेप्टर पर्छ । ४. संवेदना बढाएमा प्रतिक्रिया: रिसेप्टरले कुनै पनि संवेदनाको उचित मात्रामा अधिकतम उत्तेजनाको प्रतिक्रिया दिन्छ । यदि कुनै रिसेप्टरको शक्ति दुई गुणा बढाउनु छ भने उत्तेजित पार्ने कुराको शक्ति एक सय गुणा बढी हुनुपर्छ । यसलाई वेवर र फेचनर नियम भनिन्छ । यसैलाई जर्मन वैज्ञानिक वेवर र फेचनरले प्रतिपादित गरेका हुन् ।
अब फेरि पहिलो नम्बर अथवा एकसाइटेबिलिटीमा आउनुस् । जब कुनै उत्तेजना अर्थात् दबाब आदि नर्भलाई थिच्छ तब रिसेप्टरमा एक प्रकारको इम्पल्स पैदा हुन्छ, जसलाई रिसेप्टर पोटेन्सियल भनिन्छ । त्यसमा जोडिएको नर्भको स्वरूप तब डिफर्म हुन्छ । यसरी डिफFर्म भएको नर्भमा पोजिटिभ चार्ज भएको सोडियमको चैनल खुल्छ र सोडियम भित्र प्रवेश गर्छ । जब यो पोजिटिभ चार्ज नर्भको पहिलो नोडमा पुग्छ तब यो नर्भ पोटेन्सियल वा इम्पल्स बन्छ । यसरी रिसेप्टर पोटेन्सियल एक्शन पोटेन्सियलमा बदलिइसकेपछि ब्रेनको सेन्टरमा पुग्छ । यसरी एक ऊर्जालाई अर्को ऊर्जामा बदल्ने कारणले रिसेप्टरलाई ट्रान्सड्युसर पनि भनियो । यसरी स्पर्शमा मेकानिकल ऊर्जा र केमोरिसेप्टरमा केमिकल ऊर्जालाई इलेक्ट्रिकल एक्शन पोटेन्सियलमा बदलिइन्छ ।
केही प्रमुख रिसेप्टर र तिनको अवस्थितिको विवरण र संरचना फोटो सहित निम्नलिखित हुन् :
कुटेनियस अर्थात् जुन छालाको एपिडर्मिसको तल छरिएको हुन्छ : स्पर्शको लागि दुई किसिमको रिसेप्टर हुन्छ जसको नाम क्रमशः मिसनर्स कर्पसल र मर्केल डिस्क हो । पहिलोको आकार पानको पात जस्तो र दोस्रोको एक साथ कतिपय कप जस्तो हुन्छ । जार्ज मिसनर र वेग्नरले पहिलोको १८५२ मा तथा जर्मन एनाटोमिस्ट फ्रेडरिक मर्केलले दोस्रोको सन् १८०० मा खोज गरे । दबाबका रिसेप्टरलाई पैसिनियन कर्पसल भनिन्छ जसको आकार गोलो चक्रजस्तो हुन्छ, जसको खोज इटालियन एनाटोमिस्ट फिलिपो पैसिनियनले १८३१ मा गरे । त्यस्तै दुखाइको रिसेप्टर अनेक वर्गाकार फ्री नर्भ इन्डिङ हुन्छ । सर्दी र गर्मीको रिसेप्टर पनि छालामैं हुन्छ जसमा गर्मीको रिसेप्टरलाई रैफिनी इन्ड अर्गेन र सर्दीकोलाई क्रौजी इन्डवल्व भनिन्छ । पहिलोको खोज एन्जेलो रैफिनीले तथा दोस्रोको वैज्ञानिक क्रौजीले गरेका हुन् । पहिलोको आकार बिजुलीको चाबुकजस्तो र दोस्रोको सेलहरूले मिलेर गोलाकार घेरा बनाएका हुन्छन् । केमोरिसेप्टरमा टेस्ट र स्मेल रिसेप्टर आउँछ । टेस्टको जिभ्रोमा टेस्टबडको र स्मेलको नाकमा ओलफेक्टरी रिसेप्टरको रूपमा बसेको हुन्छ । त्यस्तै टेलिरिसेप्टरमा भिजन र हियरिंग आउँछ । भिजनका रिसेप्टर हुन्– आँखाको रेटिनामा अवस्थित रोड्स र कोन्स तथा हियरिंगको कानमा आर्गेन आफ कोर्टाइका हेयर सेल्स । यो त भयो एक्सटेरोसेप्टरहरू । अब इन्टेरोसेप्टरमा आउनुस् । यसमा भिसेरोसेप्टरमा स्ट्रेच मुटुमा, बैरोरिसेप्टर रगतनलीमा, केमोरिसेप्टर आन्द्रामा, ओस्मो रिसेप्टर ब्रेनमा हुन्छ । त्यस्तै मसलस्पिन्डल मांसपेशीमा, गोल्जी टेन्डन आर्गेन टेन्डनमा, पैसिनियन कर्पसल लिगामेन्टमा तथा फ्रीनर्भ इन्ड्रि फासा र जोर्नीमा हुन्छ । त्यस्तै प्रोप्रायोसेप्टरमा सेमिसर्कुलर कैनालका हेयर सेल्स, मैकुला र सैकुली कानको लैबिरिन्थाइन एपेरेटसमा हुन्छ । अस्तु !