• विश्वराज अधिकारी

स्वतन्त्र समाज

अमेरिकी समाज स्वतन्त्र समाज हो । अनावश्यक सामाजिक नियमभित्र रहेर अमेरिकीहरूले बाँच्नुपर्दैन । अमेरिकीहरूले अनेक विभेदकारी सामाजिक नियम पालना गर्नुभन्दा नियम र कानूनको पालना गर्छन् । अनुशासित भएर कडाइका साथ पालन गर्छन् ।

युरोपका देशहरूसँग तुलना गर्ने हो भने युरोपका केही देशमा अमेरिकाभन्दा बढी स्वतन्त्रता छ । जर्मनी, निदरल्यान्ड्स, अस्ट्रिया, स्वीट्जरल्यान्ड, ग्रीस, हन्गेरी, लाटभिया र टर्की युरोपका त्यस्ता देश हुन् जहाँ यौन–व्यवसायलाई कानूनी मान्यता प्राप्त छ । निदरल्यान्ड्सको यौन–व्यवसाय त विश्वप्रसिद्ध नै छ । यौन–पर्यटनका लागि संसारभरिबाट बर्सेनि हजारौं पर्यटक निदरल्यान्ड्सको राजधानी शहर एम्सटरडम पुग्छन् । एम्सटरडममा यौन–व्यवसाय गृह सञ्चालित छन् । निदरल्यान्ड्सको समाज विश्वमैं अति उदार समाज हो ।

अमेरिकी समाजमा यौन–व्यवसाय कानूनन निषेधित छ । सङ्घीय कानूनभन्दा पनि राज्यको कानूनले नै यौन–व्यवसायलाई अपराध मान्दछ । अमेरिकी शहरमा युवाहरूले सार्वजनिकरूपमा चुम्बन गरेको देखिंदैन ।

राजनीतिक र सामाजिक व्यवहारको दृष्टिकोणले हेर्ने हो भने अमेरिकी समाज एक स्वतन्त्र र उन्मुक्त समाज हो । अमेरिकामा आफूलाई मन लागेको कुरा लेख्न, बोल्न र प्रकाशन गर्न पाइन्छ । सभा, सम्मेलन गर्न पाइन्छ । पक्ष वा विपक्षमा प्रदर्शन गर्न र जुलूस निकाल्न पाइन्छ ।

अमेरिकाका युवा वा प्रौढहरूले अनेक किसिमका सामाजिक बाध्य सहेर बस्नुपर्दैन । कुनै युवकले आफूले मन पराएको युवतीसँग र कुनै युवतीले आफूले मन पराएको युवकसँग विवाह गर्न पाउने कानूनी व्यवस्था त छ नै, सामाजिक व्यवस्था पनि छ । यो कार्यको लागि समाजले पूर्णतया छुट दिएको छ । विवाहको सन्दर्भमा सम्प्रदाय, जात, धर्म, शिक्षा, रङ्ग, कुन देशको नागरिक, आर्थिक हैसियत तगारो बन्न आउँदैन ।

आफूखुशी लुगा लगाउन, आफूखुशी खान बस्न र घुम्न कुनै नियन्त्रणको सामना गर्नुपर्दैन । विवाह नै नगरी महिला र पुरुष पत्नी र पतिझैं बस्न सक्छन् । सँगै बस्न विवाह नै गर्नुपर्छ भन्ने छैन । युवाहरूले पनि आफूले नै रोजेर आफ्नो लागि पत्नी वा पति रोज्ने चलन छ । छोरी वा छोराको लागि पति वा पत्नी मातापिताले खोजिदिने चलन अमेरिकामा छैन । यो चलन सयौं वर्ष पहिले अमेरिकाबाट हराइसकेको छ ।

उच्च माध्यमिक शिक्षा समाप्त गरेपछि वा १८, २० वर्षको उमेर भएपछि, आफ्नो हिसाबले, स्वतन्त्र किसिमले बाँच्न अमेरिकी युवाहरूले मातापिता वा अभिभावकको गृह त्याग गर्छन् र आफ्नो छुट्टै गृहस्थी आरम्भ गर्छन् । आफ्नो जीवनका लागि आवश्यक पर्ने कार्यहरू गर्न स्वतन्त्र किसिमले निर्णय लिन्छन् । सन्तानले गरेको निर्णयमा मातापिताले हस्तक्षेप गर्दैनन् ।

केही अपवादबाहेक हरेक युवाले आफ्नो लागि अध्ययन खर्च आफैं जुटाउँछन् । यो कारणले गर्दा कलिलो उमेरमैं युवाहरू जागिर गर्न बाध्य हुन्छन् ।

मैले आफ्नो लागि बाँच्ने हो, अरूको लागि होइन भन्ने यही मान्यतामा अमेरिकीहरू बाँच्छन् र समाजका अनेक अनावश्यक नियमको बेवास्ता गर्छन् । यो मनोविज्ञानले गर्दा नै कुनै समयमा अमेरिकामा ‘हिप्पी’ संस्कृतिको विकास भएको थियो । हिप्पी संस्कृतिबारे अर्को आलेखमा चर्चा गर्नेछु ।

अमेरिकी जीवनशैलीको सर्वाधिक ठूलो विशेषता के हो भने व्यक्तिहरूले अरूको विषयमा चासो राख्दैनन् । र आफ्नो विषयमा कसैले चासो राखेको मन पनि पराउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here