- बैधनाथ श्रमजीवी
प्रकृतिमा सबै कुरालाई मानिसको हितसँग जोडेर हेर्ने प्रचलन हजारौं वर्षदेखि रहँदै आएको छ । यस प्रकारको चिन्तन प्रणालीले गर्दा सम्पूर्ण संसार केवल मानवको लागि मात्र हो भन्ने भाष्य स्थापित गरेको छ, जुन कि ठीक होइन । पृथ्वी ८७ लाख प्रजातिका जीवहरूको साझा घर हो । त्यसैले मानिसद्वारा उठाइएका प्रत्येक कदमले आफ्नो हित मात्र होइन कि सम्पूर्ण जीवको हितलाई प्रमुखतामा राख्नुपर्ने हो । तर आजसम्मको मानव व्यवहार केवल मानवहितमा मात्रै केन्द्रित भएको देखिन्छ, जुन कि ठीक होइन ।
ठीक त्यसैगरी मानव समाजमा जङ्गली युग समाप्त भएपछि आजसम्मको अवस्थामा आइपुग्दा अल्पसङ्ख्यक शासकहरू बहुसङ्ख्यक शोषितपीडित जसलाई तिनै राज्यसत्ताको माध्यमबाट अनेकौं प्रकारका मिथकहरूको (राज्य, सम्पत्ति, पैसा, कानून, धर्म, भाग्य, स्वर्ग, नर्क, मन्त्र, भूतप्रेत, भगवान् आदि) सिर्जना गरी आफ्नो सुखभोगको लागि मानसिक तथा शारीरिक दुवै प्रकारले कज्याउँदै आएका छन् । यस क्रममा शासकहरूले पुण्यात्माहरूले सुखभोग गर्छन् र पापात्माहरूले दुःखै–दुःख मात्र भोग्ने गर्छन् र कर्मको आधारमा ईश्वरले सबैको भाग्य लेख्छन् जस्ता भाष्यहरूमा बहुसङ्ख्यक नागरिकहरूलाई जोत्दै आएका छन् ।
विकास भनेकै कुनै पनि काम कुरो प्रतिक्षण राम्रो, सकारात्मक तथा व्यापकरूपमा जनमुखी हुँदै जानु हो । यदि यसको ठीकविपरीत कुनै पनि काम कुरो खराब, नकारात्मक तथा साँघुरो घेराभित्र मुठीभरिको हितको लागि व्यापक जनविरोधी हुँदै गएको छ भने त्यो विनाश हो । विकास र विनाशको बारेमा यो मान्यता शतप्रतिशत वैज्ञानिक र भौतिकवादी हो ।
संसारको प्रत्येक समाजको आफ्नै मौलिक सभ्यता, संस्कार र संस्कृति रहँदै आएको छ । यसको अपवाद कुनै पनि समाज छैन र हुन पनि सक्दैन । तर हामीले विचार गर्नुपर्ने कुरा यो छ कि विभेदले बनेको समाजभित्र सभ्यताहरू, संस्कृतिहरू र संस्कारहरूसमेत विभेदपूर्ण हुन्छन् अर्थात् वर्गीय समाजमा संस्कृति र संस्कार पनि वर्गीय नै हुन्छन् ।
यस अर्थमा कुनै पनि समाजभित्र रहेका वर्गहरूको वर्गहितलाई रक्षा गर्ने, संवर्धन गर्ने र अगाडि बढाउने कुरामा प्रत्येक समाजभित्र रहेका संस्कृति र संस्कारहरूले महत्वपूर्ण भूमिका खेलिरहेको हामी सजिलै देख्न सक्छौं । जस्तो कि हामीलाई थाहा छ कुनै पनि सामाजिक परिवर्तन कसैले पनि रोकेर रोकिंदैन । यो निरन्तर चलिरहन्छ । समाजभित्र भइरहने उत्पादन प्रणालीभित्रका उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको बदलावले क्रमशः प्रत्येक समाजको सम्पूर्ण कुरा निरन्तर परिवर्तन गरिरहन्छ । यस परिप्रेक्ष्यमा नेपाली समाज पनि क्रमशः परिवर्तनको दिशामा अगाडि बढिरहेको हामी पाउँछौं ।
यतिबेला नेपाली समाज सामन्तवादबाट पूँजीवादमा रूपान्तरण भइसकेको छ साथै पूँजीवादको चौथो चरण दलाल पूँजीवादको वर्तमान अवस्थाभित्र वैज्ञानिक समाजवादको समेत बीजारोपण भइसकेको छ । दलाल पूँजीवादले गर्दा देशभरिको उत्पादन कार्य लगभग ठप्प भइसकेको छ । सम्पूर्ण क्षेत्रमा बाहिरबाट तयारी वस्तु मगाएर देशभित्रको मागलाई दशकौंदेखि सम्बोधन गर्दै आइरहेको हामी प्रत्यक्षरूपमैं अनुभव गरिरहेका छौं । फलस्वरूप समाजभित्र हिजोको राष्ट्रिय पूँजीपति समाप्त भइसकेको तथा समाजमा बिचौलिया र कमिशनको धन्दा मात्रै फस्टाइरहेको छ । दलाल पूँजीवादी व्यवस्थाका दलालहरूको हामी चारैतिर चकचकी देखिरहेका छौं । राज्यको तलदेखि माथिसम्म केवल कमिशनको खेती मात्रै गरिएको छ । दलाल पूँजीवादको उर्वर भूमिमा कमिशनको बिरुवा लहलहाइरहेका छन् । एकचोटि संसद्मा वा सत्तामा पुगेपछि पुस्तौंसम्म धन जोड्न लगभग सबैले भ्याएका छन् । पूँजीवादी संस्कृति जन्मदिन, गुलाब दिन, रोमान्स दिनलगायतका थुप्रै संस्कारले हाम्रो पुरानो सामन्ती संस्कारलाई क्वाप्पै निलेको छ । पूँजीवादी शिक्षाले हाम्रो दिमाग विकृत गरेको छ । समाजमा सबै क्षेत्र नाफा–नोक्सान हुने व्यापारझैं भएका छन् । सेवा र सहयोगको भावना न्यून वा केवल गफ, अर्ती, उपदेश आदिमा मात्र सीमित हुन पुगेका छन् । यस्तोमा सम्पूर्ण नेपाली समाजलाई जोड्ने एउटा राष्ट्रिय पर्वको आवश्यकता सर्वत्र महसूस हुनु स्वाभाविक हो ।
प्रकृतिमा सबै कुरा परिवर्तनशील छ । चाहे त्यो भौतिक होस् वा मानसिक । भौतिक पदार्थमैं चेतना अस्तित्ववान् रहने हुनाले भौतिकजगत्को रूपान्तरण हुने बित्तिकै चेतना पनि प्रभावित हुन थाल्छ । भौतिक परिवर्तनले ढिलोचाँडो चेतनालाई पनि परिवर्तन हुन कर लगाउँछ । गर्मी महीनामा हलुका तथा सजिलै हावा छिर्ने कपडा लगाउने इच्छा (चेतना) उत्पन्न गर्दछ भने जाडो महीनामा हावा नछिर्ने न्यानो लुगा लगाउने चेतना दिमागमा उत्पन्न हुन्छ ।
त्यसैगरी, सामन्ती अर्थतन्त्रले सामन्ती संस्कार र संस्कृति जन्माउँछ भने पूँजीवादी अर्थतन्त्रले पूँजीवादी संस्कार र संस्कृति जन्माउँछ । समाज विज्ञानको यो नियम थाहा नभएपछि मानिसलाई लाग्छ, हाम्रो पुरानो संस्कार र संस्कृति समाप्त हुँदैछ वा भयो । सामाजिक परिवर्तनको ज्ञानको अभावमा यस्तो बुझाइ स्वाभाविक नै हो ।
यतिबेला हाम्रो नेपाली समाज दलाल पूँजीवादी व्यवस्थाबाट वैज्ञानिक समाजवादी अवस्थामा जाँदैछ । खास भन्ने हो भने दलाल पूँजीवादी अर्थप्रणालीभित्रै वैज्ञानिक समाजवादी अर्थप्रणालीको भ्रूण जन्मिसकेको छ । यस अर्थमा दलाल पूँजीवादी संस्कार र संस्कृतिको ठाउँमा वैज्ञानिक समाजवादी संस्कार र संस्कृतिहरू जन्मनुपर्ने सामाजिक बाध्यता रहेको छ । सुरुआतमा नयाँ संस्कार र संस्कृतिहरू पार्टीविशेष वा समूहविशेषको विशेषताको रूपमा देखिन्छन् तर बिस्तारै सम्पूर्ण समाजको आर्थिक ढाँचा फेरिएपछि संस्कृति पनि सम्पूर्ण समाजको बन्न पुग्छ । समाजमा संस्कृति जन्मिने, विकसित हुने र समाप्त हुने क्रम हजारौं वर्षदेखि यसैगरी चल्दै आएको छ । जङ्गली अवस्थाका संस्कार र संस्कृतिहरू हाम्रो समाजमा अहिले पाइँदैनन् । सामन्ती अवस्थाका संस्कृति र संस्कारहरू निसासिंदो अवस्थामा छ । पूँजीवादी अवस्थाका संस्कृति र संस्कारहरूको सट्टा अहिले वैज्ञानिक समाजवाद उन्मुख संस्कार र संस्कृतिहरू जन्मिएको अनुभूति हुन थालेका छन् । हुनत सामूहिक बसाइ, सामूहिक भोजन, सामूहिक आवास, सामूहिक शिक्षा, सामूहिक श्रम आदिको अभ्यास नेपाली समाजमा कम्युनिस्टहरूले विगत लामो समयदेखि गर्दै आएका छन् । चाहे त्यो चितवन जिल्लाको दिवाकर बालग्राम होस् वा रोल्पाको जलजला होस् अथवा बर्दिवासको आधारशिला होस् वा अर्घाखाँचीको एकीकृत जनकम्युन । यी सबैको अवस्था त्यति धेरै आशावादी रहेको नदेखिनुका कारण सम्बन्धित पार्टीको आफ्नो छुट्टै वैज्ञानिक समाजवादी अर्थतन्त्र नहुनु नै हो । २००६ सालमा नै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भए तापनि देशमा इमानदार कम्युनिस्ट नेता र पार्टी दिउँसै टुकी बालेर खोज्नुपर्ने यथार्थ हामी सबैको सामु स्पष्ट नै छ । आफूलाई निख्खर कम्युनिस्ट पार्टी बताउने, अझै कम्युनिस्ट पार्टीको मूलधार बताउने नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता दक्षिणपन्थी संसद्वादी कम्युनिस्ट पार्टीहरूले गर्दा वास्तविक कम्युनिस्ट पार्टी र आन्दोलन दुवै बदनाम भएका छन् । नेपाली जनताको बीचमा सशस्त्र तथा शान्तिपूर्ण दुवै प्रकारका आन्दोलन र विद्रोह भइसकेका छन् तर आजसम्म मुक्ति नपाउने कारण केवल राजनीतिक लडाइँले मात्रै वास्तवमा परिवर्तनको अनुभूति भएन । यसर्थ अब खाँचो छ परिवर्तनको लागि एकैचोटिमा राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनको कोर्समा अगाडि बढ्नुपर्ने । क्रान्तिको यही वास्तविकतालाई पक्रेर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल अगाडि बढिरहेको छ । नेपालमा कम्युनिस्ट समर्थक जनता अत्यधिक भएपनि दक्षिणपन्थी भासमा भासिएका संसद्वादी कम्युनिस्टहरूले गर्दा आशाभन्दा पनि निराशा नै जनस्तरमा बढ्दै गइरहेको सजिलै देख्न सकिन्छ । देशको यस्तो वस्तुगत परिस्थितिले वास्तविक अर्थमा कम्युनिस्ट पार्टीको माग गर्दछ । यही मागलाई पूरा गर्न गएको चैत महीनामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल गठन भएको कुरा सर्वविदितै छ । यतिबेला त्यही पार्टीले आजसम्म नेपालमा भएका सम्पूर्ण आन्दोलन, सङ्घर्ष चाहे त्यो शान्तिपूर्ण होस् वा सशस्त्र, राणाशासनविरोधी होस् वा पञ्चायतविरोधी, दश वर्षे जनयुद्ध होस् वा सङ्घीयताको लागि भएको मधेस आन्दोलन । आजसम्म नेपालमा भएका सबै प्रकारका सङ्घर्ष र त्यसमा भएको शहादत सबैको गहिरो स्मरण गर्दै सबै प्रकारका विभेदबाट मुक्त हुन साथै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न दृढ सङ्कल्प गर्ने दिनको रूपमा सबैलाई एकमुस्ट सम्बोधन गर्नेगरी राष्ट्रिय पर्वको रूपमा मनाउने भनेर माघ मसान्त (२९ गते) र फागुन १ गते गरी दुर्ई दिन सङ्कल्प पर्वको रूपमा भव्यतापूर्वक मनाउने घोषणा गरेको छ ।
यसमा माघ मसान्तको दिन (२९ गते) वैचारिक, राजनीतिक, सामाजिक कार्यक्रमहरू आयोजना गरिनेछन् । सामूहिक खानपिन, खेलकूद, साहित्यिक सिर्जना, नाचगान, वादविवाद, गोष्ठीलगायतका कार्यक्रमहरू आयोजना गरिनेछन् भने फागुन १ गते आफ्नो घरपरिवारले आफ्नो इष्टमित्र, करकुटुम्ब, नातागोता, आफन्त सबैलाई निम्तो गरी नाचगान तथा खानपानका साथ रमाइलो पर्वको रूपमा मनाउनेछन् ।