प्रस, वीरगंज, १५ माघ/
वीरगंज महानगरपालिकाले जथाभावी फोहर गरेको, बिरुवा र ट्रीगार्ड भत्काएको कसूरमा तीनवटा संस्थालाई जरिवाना गरेको छ ।
स्वच्छ हराभरा वीरगंज अभियानका संयोजक प्रकाश खेतानले एनआइसी एशिया बैंकले आफ्नो नयाँ भवन निर्माणको क्रममा फूटपाथमा रहेको ट्रीगार्ड भाँचेर बिरुवा नष्ट गरेको र उक्त स्थानमा फोहर गरेको कसूरमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको बताए ।
यसैगरी, माछापुच्छ बैंक र कलवार सेवा सदनलाई जनही रु एक हजार जरिवाना गरिएको उनले बताए । वीरगंज मनपाले जथाभावी फोहर गर्नेलाई केही समयदेखि दण्ड जरिवाना गर्दै आएको सरसफाइ अधिकृत सर्फुद्दीन मियाँले बताए । उनले जरिवाना गर्ने कार्य जारी रहेको र यो अवधिमा सबैभन्दा बढी बैंक, वित्तीय संस्थाहरू कारबाईमा परेको बताए । जरिवाना गर्न शुरू गरिएपछि व्यापारिक प्रतिष्ठान, पसलेहरूबाट फोहर फाल्न कमी भएपनि बैंक तथा वित्तीय संस्थाले यस्तो कार्यलाई निरन्तरता दिइरहेको उनको आरोप छ ।