• राजेश मिश्र

‘रुपैयाँ’ शब्दको उत्पत्ति संस्कृत शब्द रुप्बाट भएको हो । जसको अर्थ हो, चाँदी । संस्कृत शब्द ‘रूप्यकम्’ भन्नाले चाँदीको सिक्कालाई जनाउँछ ।

नेपालमा प्रचलित मुद्रालाई ‘रुपैयाँ’ भनिन्छ । एक रुपैयाँलाई सय पैसामा बाँडिन्छ । अर्थात् सय पैसा बराबर एक रुपैयाँ हुन्छ । पचास पैसाको एक मोहर र २५ पैसालाई एक सुकी भनिन्छ । दुई मोहर वा चार सुकी बराबर नेपाली एक रुपैयाँ हुन्छ । वर्तमान परिप्रेक्ष्यमा मोहर र सुकी प्रयोगशून्य छन् । सुकी प्रचलनमा नरहे तापनि अनेकौं सन्दर्भमा ‘सुकी’ शब्दको प्रयोग हुने गरेको पाइन्छ । जस्तै ‘काम राम्रोसँग नगरेमा एक सुकी पनि पाइँदैन’ उहिलेदेखि प्रयोग हुँदै आइरहेको वाक्यांश हो ।

नेपालमा पहिलो लिच्छवी राजा मानदेवको शासनकालदेखि मुद्राको प्रचलन शुरू भएको कुरा पुराना दस्तावेजहरूबाट अवगत हुन्छ । त्यति बेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए । कागजी नोटको प्रचलन विसं २००२ असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रिभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु एक, पाँच, दश र एक सयका नोटहरू सदर मुलुकीखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो ।

त्यसैगरी, विभिन्न समयमा कागजी नोट प्रचलनमा आएका छन् । विसं २०२६  वैशाख १४ गतेदेखि रु एक हजार, २०२७  जेठ ३० गतेदेखि रु पाँच सय, २०३४ वैशाख १४ गतेदेखि रु ५०, २०३८ वैशाख १४ गतेदेखि रु दुई र २०३९ कात्तिक २२ गतेदेखि रु २० का कागजी नोटको सुरुआत भएको हो । विसं २००९ मा नेपाली मुद्रालाई आधिकारिकरूपमा “नेपाली रुपैयाँ” भनी घोषित गरिएको थियो ।

नेपालमा मुद्राको इतिहास लामो छ । समयको गतिसँगै घरायसी वस्तु, माटो, ढुङ्गा, चाँदी, तामा, सिल्भर आदिका सिक्कादेखि कागजी नोटलगायत विविध प्रकारका मुद्रा प्रयोग हुँदै आएका छन् । सोहीमध्ये झन्डै सात दशकअघि मुद्रा सम्बन्धमा नेपाल गजेटमा प्रकाशित दस्तावेजहरू प्राप्त भएका छन् । जस्तै नेपालका सरकारी अड्डाहरूमा भारतीय मुद्राको प्रयोग, राजा महेन्द्रको राज्याभिषेकको अवसरमा नयाँ सिक्काको उदय र नेपाली मुद्राको प्रचलन बढाउन बनेका ऐन आदिबारे चर्चा गरौं ।

अड्डाहरूमा भारु लेनदेन

विसं २०१२ चैत १२ गते अर्थ मन्त्रालयका सेक्रेटरी नीरराजद्वारा जारी सूचना विसं २०१२ चैत २० गते नेपाल गजेटमा प्रकाशित भएको देखिन्छ । उक्त गजेटमा “भारतीय नोटमध्ये १०० दरको र सोभन्दा घटी दरका नोटहरूसम्म सरकारीया अड्डाले बुझी लिने भैरहेकोमा अबउप्रान्त रु एक हजार दरको अशोकस्तम्भ भएको भारतीय नोेट पनि बुझी लिनेदिने गर्नु भनी नेपाल, मधेस, पहाड सबै सरकारीया अड्डाका नाउँमा आदेश भैआएकोले सो बेहोरा सबैलाई थाहा होस् भन्नानिमित्त यो सूचना प्रकाश गरिएको छ” प्रकाशित भएको देखिन्छ ।

नेपाल गजेट भाग ४, विसं २०१३ वैशाख २० गतेको अतिरिक्ताङ्क ३ मा तत्कालीन नेपाल सरकारको निर्णय मिति २०१३ वैशाख १८ गतेको नेपाल गजेटमा प्रकाशित भएको देखिन्छ ।

राजा महेन्द्रको राज्याभिषेक विसं २०१३ वैशाख २१ गते भएको थियो । नेपाल गजेटमा उल्लेख छ– “श्री ५ बडामहाराजाधिराजको शुभ राज्याभिषेक महोत्सवको उपलक्ष्यमा नयाँ डिजाइनको चलनचल्तीमा ल्याइने भएको मुद्राहरूको विवरण तपसिलमा खोली सबैलाई ज्ञात होस् भन्नानिमित्त यो सूचना प्रकाश गरिएको छ ।”

एक रुपैयाँ

मुद्रा १ रुपैयाँ, तौल १८० ग्रेन, धातु २५ निक्लेस ७५ ताबा, डायमिटर (व्यास) १.१२५, सिक्काको एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि अष्टकोणभित्र श्री श्री श्री गोरखनाथ भन्ने, बीचमा चक्क, भित्र श्रीभवानी र फूलको भाखाखड्ग, एक रुपैयाँ अङ्कित ।

मोहर

मुद्रा ५० पैसे मोहर, तौल ९० ग्रेन, धातु २५ निक्लेस ७५ ताबा, डाइमिटर ९९३, सिक्काको एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि अष्टकोणभित्र श्री श्री श्री गोरखनाथ भन्ने, बीचमा चक्क, भित्र श्रीभवानी र फूलको भाखाखड्ग, पचास पैसा अङ्कित ।

सुकी

मुद्रा २५ पैसे सुकी, तौल ४५ गे्रन, धातु २५ निक्लेस ७५ ताबा, डायमिटर ७५०, सिक्काको एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि अष्टकोणभित्र श्री श्री श्री गोरखनाथ भन्ने, बीचमा चक्क, भित्र श्रीभवानी र फूलको भाखाखड्ग, पच्चीस पैसा अङ्कित ।

दश पैसे

मुद्रा १० पैसे, तौल १०० ग्रेन, धातु ताबा ९५ जस्ता ५, डायमिटर ९७५, सिक्काको एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि बीचमा गाडिएको चारकुने बुट्टाभित्र १० अङ्क, श्री भवानी दश पैसा अङ्कित ।

पाँच पैसे

मुद्रा ५ पैसे, तौल ६० ग्रेन, धातु ताबा ९५ जस्ता ५, डायमिटर ८७५, एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि बीचमा गाडिएको आठकुने बुट्टाभित्र ५, अङ्क श्री भवानी पाँच पैसा अङ्कित ।

दुई पैसे

मुद्रा २ पैसे, तौल ४० ग्रेन, ताबा ६६ जस्ता ३४, डायमिटर ८२०, एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि चारकुने बुट्टाभित्र २ अङ्क श्रीभवानी र दुई पैसा अङ्कित ।

एक पैसे

मुद्रा १ पैसे, तौल २५ ग्रेन, ताबा ६६ जस्ता ३४, डायमिटर ७२०, एकापट्टि शुभराज्याभिषेक, श्री ५ को श्रीपेच, चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, श्री ५ महेन्द्र वीरविक्रम शाहदेव २०१३ तथा अर्कोपट्टि बीचमा १ अङ्क, श्रीभवानी र एक पैसा अङ्कित ।

नेपाली मुद्राको चलन बढाउने ऐन, २०१४

नेपाली मुद्राको चलनचल्ती बढाउनका निमित्त बनेको ऐन नेपाल गजेट भाग २ विसं २०१४ साउन ७ गते प्रकाशित ऐनमा निम्न विषयहरू उल्लेख गरिएको पाइन्छ ।

एकै मुद्राको आधारमा देशको आर्थिक व्यवस्थालाई सुदृढ र सन्तुलित पार्नको निमित्त नेपाल र मुलुकमा नेपाली मुद्राको चलनचल्ती बढाउन आवश्यक भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाह अनुसार यो ऐन बनाइ जारी गरिबक्सेको छ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः

(१) यस ऐनको नाम– नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ रहेको छ । (२) यो ऐन सरकारले नेपाल गजेटमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि लागू हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा– (क) ‘नेपाली मुद्रा’ भन्नाले सरकारले वा राष्ट्र बैंकले निष्कासन गरेको नोट र सरकारले निष्कासन गरेको मोहर, रुपैयाँ, रेचकी र पैसालाई जनाउँछ । (ख) ‘विदेशी मुद्रा भन्नाले नेपाली मुद्राबाहेक अरू मुद्रा सम्झनुपर्छ ।

३. मोल वा फी ज्याला इत्यादि रकम नेपाली मुद्रामा दिन सकिनेः यो ऐन लागू भएको क्षेत्रमा कसैले कसैसँग मालसामानको खरीद–बिक्रीमा मोलबापत कुनै रकम दिनुपर्दा वा कसैले कसैलाई कुनै काम कुराको निमित्त फी, ज्याला, मजदूरी, भाडा वा यस्तै अरू रकम दिनुपर्दा नेपाली मुद्रामा दिन ल्याएमा वा त्यस्तो कुनै रकम विदेशी मुद्रामा निर्धारित भएको भए तापनि त्यस्तो भुक्तानी दिनुपर्दा सो भुक्तानी गर्ने दिनमा नेपाल राष्ट्र बैंकमा चलेको सटही दरमा नेपाली मुद्रामा दिन ल्याएमा बुझिलिनुपर्नेछ । तर सरकारसँगको लेनदेन र व्यवहारमा यो दफा लागू हुनेछैन ।

४. विदेशी मुद्रामा भएको लेनदेनको रकम तत्काल यो ऐन लागू रहेको क्षेत्रमा बुझाउनुपर्दा सो बुझाउन ल्याएको दिनमा राष्ट्र बैंकमा चलेको दरमा नेपाली मुद्रामा बुझाउन ल्याएमा बुझिलिनुपर्नेछ ।

५. बचाउः सरकार र सरकारद्वारा अधिकृत व्यक्ति वा संस्था र व्यवहारमा माथिका ३ र ४ दफा लागू हुनेछैन ।

६. दण्ड सजायः कसैले दफा ३ वा ४ बमोजिम बुझाउन ल्याएको बुझिनलिएमा निजलाई रु एक सयदेखि रु एक हजारसम्म जरिवाना हुनेछ ।

७. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वित गर्न सरकारले नियम बनाउन सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here