प्रस, परवानीपुर, १३ माघ/

बारामा जनप्रतिनिधिकै संरक्षणमा एउटा झोले विद्यालय सञ्चालन रहेको छ ।

प्रसौनी गाउँपालिका–६ बेलहियामा शहीद कन्हैया प्रावि झोले विद्यालयको रूपमा विगत लामो समयदेखि सञ्चालनमा रहेको गापाध्यक्ष विनोद जैसवालले बताए । उनले सो विद्यालयको गतिविधिका विषयमा आवश्यक छानबीन एवं कारबाईको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी गर्ने बताए ।

करीब पाँच वर्षअघि स्थापना भएको सो विद्यालयमा एकजना राहत र दुईजना निजी स्रोत गरी तीनजना शिक्षक तथा एकजना कार्यालय सहयोगी छन् । केही दिनअघि थप दुईजना शिक्षक नियुक्त गरिएको छ ।

हाल विद्यालयमा छजना शिक्षक/कर्मचारी कार्यरत रहेको बताइन्छ । सो झोले विद्यालयमा विद्यार्थीको सङ्ख्या भने न्यून देखाइएको छ । गापाको शिक्षा शाखाले अनुगमन गर्दा सोही वडाका अन्य विद्यालयबाट विद्यार्थीहरू ल्याएर देखाइएको थियो । यसबारे बालबालिकासँग सोधपूछ गर्दा आफूहरू हिजोदेखि विद्यालयमा पढ्न आइरहेको अनुगमन टोलीले गरेको भिडियो संवादमा देखिन्छ । त्यसैगरी, विद्यालय नियमित सञ्चालन नहुँदा विद्यालयमा घाँस उम्रेको देखिन्छ ।

गत आव २०७८/७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा गत असारमा १८ लाख रकम गापाले निकासा गरेको थियो । सो रकम पनि हिनामिना भएको गापाध्यक्ष जैसवाल बताउँछन् ।

विद्यालयकी प्रधानाध्यापिका सुनीता कुशवाहा वडा नं ६ का अध्यक्ष बृजकिशोर कुशवाहाकी नातामा भाउजू हुन् । वडाध्यक्ष कुशवाहा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

गापाध्यक्षले झोले विद्यालयलाई तलब सुविधाको अनुदान रोक्का गर्न लेखापाल प्रेमबाबू पटेललाई निर्देशन दिएपछि वडाध्यक्ष कुशवाहाले लेखापाल पटेललाई सरुवा गराउन चलखेल शुरू गरेको बताइन्छ । प्रधानाध्यापिका सुनीताले १२५ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको दाबी गरिन् । जाडो बिदापछि विद्यालय खुलेको बेला अनुगमन गर्दा बच्चाहरूले हिजोआजदेखि पढ्न आएको भन्दै उनले स्पष्टीकरण दिइन् । उनले विद्यालयमा कमीकमजोरी रहेको र हाल सुधार हुँदै गएको प्रतिक्रिया दिइन् ।

सो विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छैन । तपाईंका देवर वडाध्यक्ष कुशवाहाको प्रभाव छ भन्ने प्रश्नमा उनले आफ्नो काम पढाउने र तलब लिने भएको बताइन् । उनले कुन बजेट केका लागि झिकिंदैछ, त्यसमा आफूले चासो नदिएको बताइन् । १८ लाख रकमबारे उनले वडाध्यक्षसँग सोधनी गर्न भनिन् ।

यसबारे वडाध्यक्ष कुशवाहालाई सोध्दा उनले तपाईंलाई जे मन लाग्छ लेख्नुस्, मलाई केही हुँदैन भने । विगतमा पनि चारवटा हत्या मुद्दा थियो, एक दिन पनि जेल गइनँ भनेर प्रतिक्रिया दिए । उनले विद्यालय अनुगमन गरी वास्तविकता बुझ्न र एकोहोरो आरोप लगाइएको कुरा सबै सत्य नहुने पनि दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here