प्रस, वीरगंज, ११ माघ/

त्रिभुवन राजपथ अन्तर्गत मितेरीपुलदेखि भन्सार क्षेत्रसम्म गरिएको कालोपत्रे एक महीना नबित्दै भत्किएको छ ।

व्यापारिक राजमार्ग निर्माण आयोजना अन्तर्गत त्रिभुवन राजपथको यो सडक एक महीनाअघि कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको दुई महीनामैं ठाउँ–ठाउँमा भत्किएपछि अहिले ठेकेदारको आलोचना भइरहेको छ ।  ठेकेदार र यसको अनुगमनको जिम्मा लिएको सडक विभागका इन्जिनीयरको लापरवाहीले कमसल सामग्री प्रयोग गरिएकाले सडकको कालोपत्र दुई महीनामैं उप्किएको आरोप छ ।

रजतजयन्तीचोकदेखि मितेरी पुलसम्म रु पाँच करोडको लागतमा एक किलोमिटर लम्बाइ तथा १४ मिटर चौडाइको सडकमा कालोपत्र समा कन्स्ट्रक्शनले गरेको हो । सडक मरम्मत तथा कालोपत्रको काम असोजमा शुरू भएर पुस मसान्तमा सकिएको हो ।

निर्माण सकिएको एक महीना पनि बित्न नपाउँदै यो सडकखण्डका थुप्रै ठाउँमा कालोपत्र उप्किएका छन् । सडक विभागले ठेक्का दिएको यो सडकखण्ड मरम्मत कार्यमा ढिला भएपछि महानगरले चासो देखाएको थियो र नगरप्रमुख राजेशमान सिंहको आग्रहमा सडक कालोपत्र गरिएको थियो । आवतजावतमा निकै समस्या भएकाले यो सडक मरम्मत भएपछि धेरैजना खुशी भएका थिए तर अवसरको फाइदा उठाएर ठेकेदारले कमसल सामग्री प्रयोग गरेका कारण कालोपत्र टिकाउ नभएको बताइन्छ ।

समा कन्स्ट्रक्सनका सञ्चालक जहुर अन्सारीले सडक विभागका कर्मचारीको दोष देखाएर आफू उम्कन खोजे । उनले जाडो महीनामा सडकमा कालोपत्र गर्न नहुने तर यसै अवधिमा कालोपत्र गर्दा यस्तो समस्या आइपरेको बताए । जाडोमा आफूले सडक कालोपत्र गर्न अनिच्छा जाहेर गर्दा कर्मचारीको दबाबमा कालोपत्र गर्दा तापमान कम भएर केही ठाउँका पिच उप्किएको उनको भनाइ थियो । कमसल सामग्रीको प्रयोग नभएको र मौसमको कारण यस्तो समस्या भएको उनले सफाइ दिए । उनले मरम्मतसम्भारको अवधि रहेको अवस्थामा पिच उप्किंदा आफूलाई थप घाटा भएको बताए ।

व्यापारिक राजमार्ग आयोजनाका प्रतिनिधि इन्जिनीयर सञ्जीव गुप्ताले अविलम्ब मरम्मतसम्भार हुने बताए । मरम्मतसम्भारका लागि एउटा टोली निर्माणस्थलमा काम गरिरहेको र दुई दिनभित्र उप्किएका कालोपत्र मरम्मत हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here