प्रस, वीरगंज, ९ माघ/
होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाई गरेका छन् । हालै गृह मन्त्रालयबाट सरुवा भएपछि उनको १६ महीने कार्यकाल पर्सा जिल्लामा सफल भएको भन्दै सङ्घले सम्मानसहित बिदाई गरेको हो ।
सङ्घका अध्यक्ष हरि पन्तले प्रजिअको सम्मान गरेका थिए । उनले प्रजिअ ढकालको १६ महीने कार्यकाल सफल भएको र होटल व्यवसायीहरू प्रोत्साहित भएका बताए । उनले प्रतिकूल समयमा होटल व्यवस्थापनको लागि प्रजिअ ढकालले देखाएको सक्रियताको कारण व्यवसाय चलायमान हुँदा उनको सरुवा भएपछि बिदाई गरिएको बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पर्यटन संयोजक अनुज रूँगटाले प्रजिअ ढकालले सबैसँग घुलमिल गरेर सबैको समस्या बुझी कदम चालेको र त्यसबाट वीरगंजका होटल व्यवसायीहरू पनि लाभान्वित भएका हुँदा उनको सफल कार्यकालको प्रशंसा गरे ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधव बस्नेत, केन्द्रीय सदस्यहरू हीरा श्रेष्ठ, सन्दीप बस्न्यात, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, होटल व्यवसायी महासङ्घका सुरेन्द्रबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार नीरज पिठाकोठे मगरले गरेका थिए ।