प्रस, परवानीपुर, ८ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साको प्रहरी उपरीक्षकमा कोमल शाह आएपछि भारतबाट गरिने तस्करीमा कडाइ गरिएको छ ।
नेपालबाट भारत तथा भारतबाट नेपाल भन्सारी छली मालसामान ओसारपोसारमा कडाइ गरिएको छ । जसले गर्दा तस्करहरूमा खैलाबैला मचेको छ ।
वीरगंज–रक्सौल नाका, इनार्व नाका, श्रीसिया नाका, भिस्वा तथा ठोरी नाकासम्म तस्करीमा कडाइ गरिएको छ । तस्करीमा कडाइसँगै जिल्लाको सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त भएको सर्वसाधारणले महसूस गरेका छन् । प्रहरीले तस्करीको लाइन विगत एक महीनादेखि बन्द गरेपछि अन्य सुरक्षा निकायलाई समेत तस्करी गराउन असहज भएको छ ।
रक्सौल–वीरगंज सीमानाकामा मात्रै तस्करीको लागि विभिन्न निकायलाई तस्कर गिरोहले प्रभावमा पारी तस्करी गराउँदै आएका थिए ।
तस्कर स्रोतका अनुसार मासिक लाखौं रकम विभिन्न निकायलाई नजराना दिएर तस्करीको लाइन खुलाउने प्रयास भइरहेको छ । अहिले भारतबाट साइकलमा एक बोरा चामलसमेत ल्याउन दिइएको छैन । राति ठेलाबाट हुने स्क्रेपको तस्करी, माछा, कपडालगायतका तस्करीमा पनि कमी आएको छ । जसले गर्दा वीरगंजका व्यवसायीहरू खुशी भएका छन् । सीमानाकामा कडाइ गरियो भने वीरगंजको बजार गुलजार हुने र अवैध आर्थिक क्रियाकलाप निरुत्साहित हुने स्थानीय व्यवसायीहरूको भनाइ छ । तस्कर स्रोतका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षकलगायतको समेत सरुवा भइसकेको कारण तस्करी लाइन खुलाउन सुरक्षा निकायसँग बार्गेनिङ भइरहेको चर्चा छ ।
वीरगंजका एक दर्जन तस्करले मासिक करोडौं मूल्यका सामान तस्करीको माध्यमबाट वीरगंजका गोदाममा भिœयाएर राज्यको राजस्व छली गरिरहेका छन् ।
वीरगंज नाकामा कडाइ भएपछि केही तस्करले आइसिपी नाकाबाट भित्रिने गाडीमार्फत तस्करीका सामान भिœयाइरहेको बताइएको छ ।
आइसिपी नाकाबाट खासगरी धानको गाडीमा कपडाका पोकाहरू आइरहेको स्रोतले बताएको छ । आइसिपी नाकाबाट नेपालबाट भारतमा जाने गाडीमा ठूलो परिमाणमा गाँजा र भारतबाट भित्रिने गाडीमा कपडा यसअघि पनि बरामद भइसकेका छन् ।