प्रस, वीरगंज, ८ माघ/
जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित थानीमाई सामुदायिक वनमा रहेको सिमरापार्कमा आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेका छन् । पर्सा, बारा तथा सीमावर्ती भारत बिहारको पूर्वी चम्पारणबाट पर्यटकहरू सिमरापार्कमा घुमफिर गर्न आउन थालेका हुन् ।
प्रत्येक दिन करीब पाँच सयभन्दा बढी पर्यटकले पार्क अवलोकन गर्ने गरेको पार्कका अध्यक्ष गोविन्दबहादुर अधिकारीले बताए । उनले पार्कमा जरायो, हरिण, मुसा, बाँदरलगायत जनावर र विभिन्न प्रकारका माछा रहेको बताए । त्यस्तै, पार्कमा बालबालिकाहरूको मनोरञ्जनको लागि झुलुवा, स्लाइडिङहरू राखिएका छन् । पार्कभित्र पिकनिक स्पटहरूको पनि निर्माण गरिएको उनले बताए ।
अध्यक्ष अधिकारीले आगामी दिनमा पार्कमा परिवर्तन ल्याउने बताए । पार्कको स्तरोन्नतिका लागि प्रदेश सरकार तथा केन्द्र सरकारले ध्यान दिएमा सिमरापार्क राष्ट्रियस्तरको बनाउन सकिने अध्यक्ष अधिकारी बताएका छन् ।