प्रस, वीरगंज, ८ माघ/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानलाई सम्पन्न बनाउन व्यावसायिक कृषि खेती गर्नुपर्ने बताएका छन् ।
वीरगंज महानगरको वडा नं ३१ सोलखपुरस्थित हरियाली कृषक समूहको उद्घाटन गर्दै उनले महानगरले व्यावसायिक कृषि खेती गर्नेलाई सहयोग गर्ने बताए । उनले बढी प्रतिफल प्राप्त हुने तरकारी तथा नगदेबाली व्यावसायिकरूपमा लगाउन महानगरले आवश्यक सहयोग गर्ने बताए । उनले त्यसका लागि आवश्यक तालीम, बीउ तथा बजारको प्रबन्ध महानगरले गर्ने आश्वासन पनि दिए । नगरप्रमुख सिंहले कृषक समूह तथा सहकारीहरूले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्न जोड दिए ।
वडा नं ३१ का अध्यक्ष जीतेन्द्रप्रसाद यादवले कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरे ।
वडा नं ३१ र ३२ का कृषकले सोलखपुरमा हरियाली कृषक समूह गठन गरेका छन् । ३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट रु सात लाखभन्दा बढी बचत सङ्कलन गरेका छन् । सङ्कलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेशसाह सोनारले बताए । संस्थाका अध्यक्ष अब्दुल बराकत अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा शेख भिखारी, इमामुल अन्सारी, मैनादेवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अन्सारी, पूजादेवी राम, सावित्री कार्की, मुक्ति चौधरीलगायतको सहभागिता थियो ।