महँगीका कारणहरूमध्ये सबैभन्दा स्वाभाविक माग र आपूर्तिमा असन्तुलन हो । माग बढी र आपूर्ति कम भयो भने वस्तुको मूल्य बढ्छ । यसै बुँदालाई टेकेर नाफाखोर व्यापारीहरूले अभाव सिर्जना गर्दछन् र वस्तुको मूल्य बढाएर आवश्यकताभन्दा बढी मुनाफा खान्छन् । व्यापारी भनेको वस्तुको क्रय–विक्रयबाट केही प्रतिशत नाफा राखेर उपभोक्ता समक्ष वस्तु पुर्याउनु हो । नाफाको प्रतिशत कानून, समाज र नैतिकताको परिधिभित्र हुनुपर्छ । यसभन्दा कम भयो भने व्यापार डुब्छ र धेरै भयो भने समाजमा असन्तुलन पैदा हुन्छ । व्यापारी मोटाउँछ, उपभोक्ता दुब्लाउँछ । व्यापार गर्दा व्यापारी मात्र मोटायो भने समयक्रममा उपभोक्ता घट्दै जान्छ । तर खाद्यान्न यस्तो पदार्थ हो, जसको उपभोक्ता कहिले घट्दैन । अन्य वस्तु नभए पनि मानिस बाँच्न सक्छ, तर खाद्यान्नको कुनै विकल्प छैन । र अहिले विभिन्न कारणले गर्दा नेपालमा खाद्यान्नको कमी देखिइरहेको छ । नेपालमा जति खेतीयोग्य जग्गा छ, त्यसमा वैज्ञानिक र आधुनिक तरीकाले खेती गर्ने हो भने देशका जनतालाई खान मनग्गे पुग्छ । तर सबै जग्गाको उपयोग खेतीका लागि भइरहेको छैन । भइरहेको खेतीका लागि उत्पादनमुखी वातावरण छैन । जग्गा भएर पनि राम्रो बीउ छैन, मल छैन, सिंचाइका लागि पानी छैन, कृषि कर्म गर्ने युवा जनशक्ति विदेश लागिसक्यो । र विश्वभरि खाद्यान्न आपूर्ति गर्ने रूस र युक्रेन युद्धमा अल्झिएका छन् ।
यद्यपि अवस्था विषम भइसकेको छैन । सरकारले महँगी नियन्त्रणका संयन्त्रहरू प्रयोग गरेर जनतालाई मुनासिब मूल्यमा वस्तु उपलब्ध गराउन सक्छ, तर नेपाल सरकारको प्राथमिकता जग्गा, कृषिको आधुनिकीकरण, उद्योगीकरण होइन, सत्ता जोगाउनु बनेको छ । यसले गर्दा नेपालमा खेती मात्र होइन, कुनै पनि उद्योग–धन्दा फस्टाउन सकेको छैन । एउटा उद्योग एक समय चम्कन्छ र अर्को क्षण रसातलमा पुग्छ । वस्तु उत्पादनको जुन सबैभन्दा महत्वपूर्ण उपकरण हो, त्यसको नेपालमा अधिकता भएर पनि उपलब्ध छैन । त्यो हो–जनशक्ति । आज चीन वा भारत विश्वको प्रतिस्पर्धी अर्थ व्यवस्था बन्नुमा सबैभन्दा ठूलो देन पर्याप्त जनशक्ति हो । नेपालमा भने भएको जनशक्ति आफैं पनि विदेश पलायन हुँदैछ, सरकारले पनि देश चलाउने सहज बाटो युवा पलायन नै देखेको छ । किनकि जति बढी मानिस विदेशिन्छन्, त्यति बढी विप्रेषण प्राप्त हुन्छ, सरकारको विदेशी मुद्राकोष घट्न पाउँदैन । तर विदेशी मुद्राको उपयोग विदेशी प्रविधि, उपकरण खरीदमा हुनुपर्नेमा शिक्षा, स्वास्थ्य, सयर आदिमा भइरहेको छ । शिक्षाको नाममा खर्च भइरहेको विदेशी मुद्राले देशलाई केही दिन सकेको छैन, किनकि शिक्षा हासिल गरेर हाम्रो युवा विदेशबाट फर्केको उदाहरण एकदमै थोरै छ ।
हामीसँग विदेशी मुद्राको सञ्चिति घट्दै जानु, विश्व परिस्थिति महँगी–अनुकूल हुँदै जानुले सास्ती झन् थपिएको हो । सरकारसँग यस प्रतिकूल अवस्थाविरुद्ध जुझ्न न जाँगर छ, न कार्यनीति नै । देशमा उद्योग–व्यापार घट्दै जाँदा, कृषिकर्म निर्वाहमुखीमा सीमित हुँदा नागरिकको क्रयशक्तिको ¥हास भइसकेको छ । विकास–निर्माणको काममा पैसा खर्च भइदिएको भए पनि मुद्रा विनिमय भएर केही भए पनि मानिसको क्रय शक्ति बढ्ने थियो । तर अभावै अभाव भएको मुलुकले छुट्याइएको पैसा पनि खर्च गर्न सकिरहेको छैन । पैसा सरकारसँग थन्केको छ, उपभोक्ताले रोइकराई गरेर पो के हुन्छ !