प्रस, वीरगंज, ७ माघ/
वीरगंजमा खाद्यान्नको मूल्य बढेको छ । एक सातादेखि खाद्यान्नको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूले बताएका छन् ।
एकजना व्यवसायीले बासमती चामल २० किलो तौलको दुई हजार ९५० मा पाइँदै आएकोमा अहिले तीन हजार २५० पुगेको बताए । यसैगरी, कतर्नी २६ किलोको एक हजार ८५० मा पाउने गरेकोमा अहिले रु दुई हजार पुगेको छ । पाँच किलो पीठो रु ३५० पाउने गरेकोमा अहिले रु ३९० पुगेको छ । मैदा प्रतिकिलो रु ६० बाट ८० पुगेको छ भने चिउरा रु ५० प्रतिकिलोबाट ६५ र भुजा प्रतिकिलो रु ८० बाट ११० पुगेको छ । जीराको दाम भने झनै आकाशिएको छ । रु ४८० प्रतिकिलोमा पाउने जीरा अहिले रु ७८० पुगेको छ ।
नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्षसमेत रहेका वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले अन्तर्राष्ट्रियस्तरमैं खाद्यान्नको मूल्य बढिरहेको बताए । उनले माग बढी भएको र उत्पादन कम भएकाले खाद्यान्नको मूल्यवृद्धि भएको बताए । नेपालमा मूल्यवृद्धिको कारण भने भारत हो । भारतबाट अधिकांश खाद्यान्न आयात हुने र त्यहाँको बजारमा खाद्यान्न महँगो भएको कारण त्यसको असर नेपालमा परेको अध्यक्ष गुप्ताले बताए ।
अहिले भारत सरकारले लङ रेन्जको चामल (बासमती)को आयातमा ड्युटी लगाएको छैन तर कतर्नीमा भने २० प्रतिशत ड्युटी लगाएकोले अहिले भारतबाट भन्सार भएर चामलको आयात बन्द छ । भारत सरकारले धानमा भने छ लाख मेट्रिकटनसम्म आयात गर्दा ड्युटी लगाएको छैन । त्यसभन्दा बढी आयात गर्दा धानमा पनि २० प्रतिशत ड्युटी लगाएको छ । भारत सरकारले चामलमा २० प्रतिशत भन्सार शुल्क लगाएको कारण अहिले चामल आयात बन्द भएको हो ।
आयात बन्द भएको भारतीय चामल वीरगंजको बजारमा भण्डारण भएकाले अहिले सशस्त्र र नेपाल प्रहरीले गोदाममा छापामारी गर्दै बरामद गरिरहेका छन् । भन्सार तथ्याङ्क अनुसार गत वर्ष साढे पाँच लाख मेट्रिकटन चामल आयात भएको थियो भने पाँच लाख मेटन धान आयात भएको छ ।
पर्सा र बारामा २५० वटा चामल उद्योग छन् । यसमा २५ वटा ठूला उद्योग र बाँकी ससाना उद्योगहरू हुन् । नेपाली धानबाट उद्योग सञ्चालन हुन नसक्दा भारतबाट धानको आयात हुँदै आएको छ ।