चिरञ्जीवि सापकोटा, ठोरी, ७ माघ/

ठोरी गाउँपालिकाद्वारा पुस २४ देखि २६ सम्म सञ्चालन गरिएको प्रथम राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिताको विवाद टुङ्गिएसँगै विजयी घोषणा गरिएको छ ।

विवाद टुङ्गिएपछि ठोरी गापा–२ स्थित सरस्वती माविले सर्वाधिक स्वर्ण पदक प्राप्त गरी पहिलो भएको छ । उसले यस अघि दोस्रो घोषणा गरिएको कारण पुरस्कार बहिष्कार गरेको थियो ।

त्यस बेलादेखि जारी विवाद, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका संयोजक ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठको सक्रियतामा, शनिवार बसेको बैठकले समाधान गरेको हो ।

ठोरी गापाको कार्यालयमा बसेको आयोजक समिति तथा खेलकूद विकास समितिका पदाधिकारीको बैठकले राष्ट्रपति रनिङशिल्डको निर्देशिका बमोजिम धेरै स्वर्णपदक विजेतालाई प्रथम हुने प्रावधान रहे अनुरूप सरस्वती माविलाई प्रथम घोषणा गरिएको गापा अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले निर्णय घोषित गर्दा आफूहरूलाई कुनै छलफल र जानकारी नगराई रेफ्रीहरूले कुरा नबुझी निर्णय दिएकोले विवाद भएको बताए । मध्यमाञ्चल खेलकूद विकास समितिका डाइरेक्टर र खेलकूद विकास समिति पर्साका अध्यक्षलाई कार्यालयमा डाकेर छलफल गरिएको र राष्ट्रपति रनिङ शिल्डको विजेता घोषणा गरिएको बताए । मध्यमाञ्चल खेलकूद विकास समितिका डाइरेक्टरले लिखितरूपमा गल्ती स्वीकार गरी नैतिक जिम्मेवारी लिएको उनले बताए ।

निर्णयसँगै सरस्वती मावि गौतम नगर, ज्ञान ज्योति मावि घ्याङडाँडा र नेरामावि ओडार क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here