इस्लामाबाद, ७ माघ/एएनआई

गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् ।

पाकिस्तानका संसदीय मामिलामन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रवार सिनेटलाई जानकारी दिंदै सोबारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्याङ्क अनुसार ती पत्रकारहरूमा १५ जना पञ्जाबका, ११ जना सिन्ध, १३ जना खैबर पख्तुनख्वा र तीनजना बलुचिस्तानका थिए । पत्रकारहरूलाई कि आतङ्ककारीहरूले गोली हानेर मारे या अन्य कतैबाट मारिए यकिन भने छैन । तथ्याङ्क अनुसार यस्ता घटनामा पञ्जाबमा सात संदिग्ध पक्राउ परेका थिए । जसमध्ये दुई हाल जमानतमा छन् । पक्राउ परेका अन्य सातमध्ये पाँचजनाविरुद्ध मुद्दा चलिरहेको छ भने आठजना फरार छन् । एकजना अभियुक्तलाई अदालतले रिहा गरेको छ ।

सिन्धमा चार संदिग्ध पक्राउ परेका छन् भने सातजनामाथि मुद्दा चलिरहेको छ ।

यसैगरी केपीका दुई अभियुक्तले सफाइ पाएका छन्, चारजनाविरुद्ध मुद्दा चलिरहेका छन् र एकजना फरार छन् । बलुचिस्तानमा दुई संदिग्ध फरार छन् । एकजना मुद्दाको सामना गर्दैछन् भने अर्का एक संदिग्धलाई सजाय दिइएको छ । केही अनुसन्धानको प्रक्रियामा छन् ।

सिनेटमा बोल्दै जमात–ए–इस्लामी पार्टीका मुश्ताक अहमदले सङ्घीय र प्रान्तीय सरकार पत्रकारहरूको सुरक्षा गर्न असफल भएको बताएका छन् ।

मन्त्री अब्बासीले अहमदलाई जवाफ दिंदै यो ‘गम्भीर अवस्था’ हो र सरकारले अपराधीहरूविरुद्ध छिटो कारबाही गर्नुपर्छ र पत्रकारहरूलाई विशेष सुरक्षा प्रदान गर्नुपर्छ भनेका छन् ।

उनले पाकिस्तानको आन्तरिक र सूचना मन्त्रालयलाई यस विषयमा एकीकृत प्रतिवेदन तयार गरी दुई महीनाभित्र सदनमा पेश गर्न निर्देशन दिएका छन् ।

यसैबीच बलुचिस्तान अवामी पार्टीका सिनेटर दानेश कुमारले दस्तावेजमा देखाइएको तीनको सट्टा प्रान्तमा १० भन्दा बढी पत्रकारको हत्या भएको बताएको  डन अखबारले उल्लेख गरेको छ ।

जवाफमा संसदीय मामिलामन्त्रीले सम्बन्धित सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारेको र कसैले गलत तथ्याङ्क दिएको भए यो अत्यन्त संवेदनशील विषय भएकोले जवाफदेह हुनुपर्ने उल्लेख गरेका छन् ।

पछिल्लो समय देशमा लैङ्गिक हिंसाका घटना बढेको र विशेषगरी महिलाहरू उत्पीडन र दुव्र्यवहारको चपेटामा परेका छन् । पाकिस्तानमा कडा पितृसत्तात्मक सामाजिक मान्यताका कारण महिला पत्रकारहरू हिंसा र धम्कीको अझ बढी जोखिममा छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here