• उमाशङ्कर द्विवेदी

सञ्जयले भने– महाराज,रात्रिको तेस्रो प्रहरमा कौरव र पाण्डवहरूबीच बडो उत्साहको साथ युद्ध भयो । केहीबेरमैं अरुणोदय भयो । त्यति बेला दुवै सेनाका योद्धाहरू आआफ्नो सवारीलाई छाडेर सन्ध्या–वन्दनको लागि सूर्यको सम्मुख जप गर्दै हात जोडी उभिए ।

यसपछि कौरवसेना फेरि दुई भागमा विभक्त भएर द्रोणाचार्यले दुर्योधनलाई साथमा लिएर पाण्डव तथा पाञ्चाल योद्धाहरूमाथि आक्रमण गरे । कौरवसेनालाई दुई भागमा विभक्त भएको हेरेर श्रीकृष्णले अर्जुनसित भने– धनञ्जय, शत्रुहरूलाई देब्रे पारेर आचार्यलाई दाहिने पार । अर्जुनले श्रीकृष्णको आज्ञा मानेर सोही अनुसार गरे । भगवान्को अभिप्राय भीमसेनले थाहा पाई अर्जुनसित भने– अर्जुन मेरो कुरा सुन । क्षत्रिय माताले जुन अभिप्रायको निम्ति पुत्रलाई जन्म दिन्छिन्, त्यसलाई गरेर देखाउने अवसर आइसकेको छ । त्यसैले अब पराक्रम गरेर सत्य, लक्ष्मी, धर्म र यशको उपार्जन गर । यस शत्रुसेनाको संहार गरिहाल ।

अनि अर्जुनले कर्ण र द्रोणलाई नाघेर शत्रुहरूलाई चारैतिरबाट घेरामा हाले । उनी सेनाको मुहानमा उभिएर बडे बडे क्षत्रियहरूलाई आफ्नो शराग्निबाट दग्ध गर्न थाले, तर कसैले पनि उनलाई अगि बढ्नबाट रोक्न सकेन । यत्तिकैमा दुर्योधन, कर्ण र शकुनिले अर्जुनमाथि बाणवर्षा आरम्भ गरे तर उनले आफ्नो अस्त्रबाट उनीहरूको अस्त्रलाई निवारण गरेर प्रत्येकमाथि दश/दश वटा बाण हाने । त्यति बेला बाणवृष्टिको साथै त्यहाँ धूलोको वर्षा पनि हुन थाल्यो । चारैतिर घोर अन्धकार छायो, जसको कारण हामी एकअर्कालाइ चिन्न पनि सकेनौं । नामोच्चारण गरेर नै योद्धाहरू परस्पर युद्ध गर्दै थिए । कैंयन रथीका रथ भाँचिएपछि एकअर्काको कपाल, कवच र पाखुरा समातेर भिडेका थिए । कैंयन मरेका घोडा र हात्तीहरूमाथि टाँसिएर प्राण गुमाएका थिए ।

यतिबेला द्रोणाचार्य सङ्ग्राममा उत्तर दिशातिर गई उभिएका थिए । उनलाई हेर्नै बित्तिकै पाण्डवसेना थुर्रर्र काम्यो । कैंयन आतङ्कित भए, केही भागिहाले र केही मानिस मन निन्याउरो पारेर उभिइरहे । कति त हतोत्साहित भए । कति त आश्चर्यचकित भएर हेर्न थाले । उनीहरूमध्ये जो शूरो थिए, उनीहरू अमर्षमा परेर मुर्मुरिए । केही ओजस्वी वीर प्राणको परवाह नगरेर द्रोणाचार्यमाथि जाइलागे । पाञ्चाल राजाहरूमाथि द्रोणाचार्यका शायकहरूको मार बढी प¥यो । उनीहरू अत्यन्त वेदना सहेर पनि युद्धमा डटिरहे ।

यत्तिकैमा राजा विराट र दु्रपदले द्रोणमाथि धावा गरे । दु्रपदका तीन नाति र चेदिदेशीय योद्धाहरूले पनि उनीहरूको साथ दिए । यो हेरेर द्रोणाचार्यले तीन तीक्खर बाण हानेर दु्रपदका तीन नातिलाई मारिदिए । यसपछि उनले चेदि, केकय, सृञ्जय तथा मत्स्यदेशीय महारथीहरूलाई पनि परास्त गरे । अनि राजा विराट र दु्रपद क्रोधित भएर द्रोणमाथि बाणको वृष्टि गर्न थाले । द्रोणले उनीहरूको बाण वर्षालाई रोकिदिएर आफ्ना शायकहरूबाट ती दुवैलाई आच्छादित पारिदिए । अब ती दुवैको क्रोधको सीमा नै रहेन, उनीहरूले पनि द्रोणाचार्यलाई बाणबाट बिध्न थाले । यो हेरेर द्रोणले क्रोध र अमर्षमा भरिएर दुईवटा अत्यन्त तीक्खर भल्ल हानेर ती दुवैको धनुषलाई काटिदिए । धनुष काटिएपछि विराटले दशवटा तोमर हाने र दु्रपदले भयङ्कर शक्ति प्रहार गरे । द्रोणले पनि तीक्खर भल्लहरू हानेर तोमरहरूलाई काटेर सायकहरूबाट दु्रपदको शक्ति पनि काटी खसाले । । फेरि दुईवटा भालाबाट विराट र दु्रपद दुवैलाई मारिदिए ।

यस प्रकार विराट, दु्रपद, केकेय, चेदि, मलय, पाञ्चाल र दु्रपदका तीनजना नाति मारिएपछि द्रोणको पराक्रम हेरेर धृष्टद्युम्नलाई बडो क्रोध भयो, साथै दुःखी पनि भए । उनले महारथीहरूको बीचमा यो शपथ दिलाए कि ‘आज जो द्रोणलाई जीवित छाडेर फर्कनेछ वा द्रोणसित अपमानित भएर त्यसको बदला नलेओस्, उसले यज्ञ–यागादि गर्ने तथा इनार कुवा आदि बनाउने पुण्य गुमाओस्, उसको क्षत्रियता तथा ब्रह्मतेज नष्ट भइहालोस् ।’ सम्पूर्ण धनुर्धारीको बीचमा यस्तो घोषणा गरेर धृष्टद्युम्न आफ्नो सेनाको साथ द्रोणाचार्यमाथि जाइलागे । पाण्डव र पाञ्चाल सेना एकातिरबाट द्रोणाचार्यमाथि बाणवर्षा गर्न थाले अर्कोतर्फ दुर्योधन, कर्ण र शकुनि आदि प्रधान वीरहरू उनको रक्षामा उभिए । पाञ्चालहरूले आफ्ना सबै महारथीको साथ द्रोणाचार्यलाई दबाउने पूर्ण प्रयत्न गरे तर उनीहरूले द्रोणाचार्यतिर आँखा उचाले हेर्न पनि सकेनन् ।

त्यति बेला भीमसेन क्रोधित भएर आफ्नो बाणबाट तपाईंको वाहिनीमा खैलाबैला मच्चाउँदै द्रोणको सेनाभित्र छिरिहाले । साथै धृष्टद्युम्न पनि द्रोणको छेउमा पुगिहाले । अनि त घमासान युद्ध हुन थाल्यो । बडो भीषण संहार मच्चियो । रथीहरूका डफ्फा एकअर्कासित टाँसिएर लडाइँ गर्न थाले । विमुख भएर भाग्दै गरेका वीरहरूको पिठ्यूँ तथा जीउको अन्य भागमा मार पर्दथ्यो । यस प्रकारले त्यो घमासान युद्ध चलिरहेको थियो, यत्तिकैमा पूर्णरूपले सूर्योदय भइहाल्यो । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here