• बैधनाथ श्रमजीवी

हाम्रो पृथ्वीमा मानवको उत्पत्ति कसरी भयो ? यसको बारेमा मूलतः दुईवटा अवधारणा पाइन्छन् । पहिलो अवधारणा निकै पुरानो छ, जो केवल काल्पनिक र धार्मिक मात्रै हो । मानव उत्पत्तिसम्बन्धी आध्यात्मिक विचार आँखा चिम्लेर विश्वास गर्नुबाहेक अरू कुनै उपाय छैन । यसमा शङ्का–उपशङ्का गर्ने ठाउँ पनि हुँदैन । कुनै प्रकारको तर्क पनि गर्न सकिंदैन । धर्मगुरूले जे भनेका छन् वा धर्मग्रन्थमा जे लेखिएका छन्, त्यसलाई नै मान्नुपर्ने हुन्छ ।

दोस्रो अवधारणा हो, वैज्ञानिक विचार यसमा कुनै पनि कुराको कल्पनाभन्दा पनि ठोस प्रमाणको आधारमा सबै कुराको टुङ्गो गरिन्छ । विज्ञानले जहिले पनि तथ्यको आधारमा सत्य खोजी गर्छ । त्यसैले वैज्ञानिक विचारलाई सही भन्ने गरिन्छ । विज्ञानको अनुसार मानवको उत्पत्ति र विकास कसरी भयो ?  यस लेखमा मानव इतिहासबारे छलफल गरौं ।

जीवविज्ञानको अनुसार हाम्रो पृथ्वीमा अहिले करीब ८७ लाख प्रजातिका जीवहरू छन् । यी सबै जीव एक प्रजातिको जीवबाट यतिबेला आतङ्कित र अस्तित्वको सङ्कटको सामना गर्दैछन् । एक लाख वर्षअघि अफ्रिकाको जङ्गलमा आफ्नो अस्तित्व रक्षाको लागि सङ्घर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स Homo Sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समयमैं कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक विकासको तिथिमितिमा एक लाख वर्ष भनेको त्यति धेरै लामो समय होइन । किनभने पृथ्वीको उत्पत्ति भएको नै चार अर्ब ६० करोड वर्ष भइसक्यो ।

पृथ्वीमा पहिलो एक कोषीय जीव तीन अर्ब ८० करोड वर्षअघि, बहुकोषीय जीव दुई अर्ब १० करोड वर्षअघि, स्तनधारी प्राणी छ करोड ३० लाख वर्षअघि र मनुष्य जाति एप्स (Apes) दुई करोड वर्षअघि देखा परेका थिए । मानवजाति चिम्पाञ्जीसँग छुट्टिई भिन्न भएको नै ६० लाख वर्ष पुगिसकेको छ र आधुनिक मानव प्रजातिसँग मिल्ने प्राचीन मानवजातिहरू होमो (Homo) जातका २० लाख वर्षअघिदेखि नै यस पृथ्वीमा पाइन थालेका हुन् ।

झन्डै दुई लाख वर्षअघि यस पृथ्वीमा देखा परेको (अहिलेसम्म पाइएको सबैभन्दा पुरानो आधुनिक मानव अवशेष एक लाख ६० हजार वर्षअघिको छ) आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्सले अघिल्लो एक लाख वर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरूकै हैसियतमा बितायो– जन्मने, बाँच्नको लागि सङ्घर्ष गर्ने, सन्तान उत्पादन गर्ने र मर्ने ।

पछिल्लो एक लाख वर्षमा त्यस्तो के भयो जसले गर्दा मानव प्रजातिले करोडौं वर्षअघिदेखि यस ग्रहलाई घर बनाइरहेका अन्य लाखौं जीवजन्तु रूख, कीरा, चराचुरूङ्गी र आफ्नो उत्पत्तिको हाँगोबाट छुट्टिएको चिम्पान्जीलाई क्रमविकासको दौडमा धेरैपछि छाडिदियो र विश्वभरि एकछत्र राज गर्न सफल भयो ?

प्राचीन मानवहरूले लाखौं वर्ष पृथ्वीमा ढुङ्गा खोपेर बिताए र बिलाए । तर आधुनिक मानवको एक प्रजाति चन्द्रमा र मङ्गल ग्रहको धूलो अध्ययन गर्ने कसरी भए ? विगत ७० हजार वर्षदेखि अहिलेको पृथ्वीमा निरन्तर कब्जा जमाउँदै गइरहेको मानव प्रजाति भविष्यमा पनि यति नै प्रभावशाली विजेता रहिरहला ? वा ऐतिहासिक क्रमिक विकासको दौड उसले जसरी हिजो अरूलाई पछार्याे, त्यसैगरी आफू पनि पछारिएला ?

यस पृथ्वीमा २० लाख वर्षअघिदेखि नै विभिन्न प्रजातिका प्राचीन मानवहरू थिए तर इतिहास थिएन । एक सय वर्षअघिसम्म पनि होमो इरेक्ट्स, नियान्डरथललगायत कम्तीमा छ प्रजातिका मानव पृथ्वीमा हिंड्डुल गरिरहेको वैज्ञानिक विश्वास छ । उनीहरू दुई खुट्टे जनावर मात्रै थिएनन्, उनीहरूको मस्तिष्क पनि आधुनिक मानव जत्तिकै ठूलो र विकसित थियो । उनीहरूले पिस्ने, घोच्ने जस्ता ढुङ्गे औजारहरू पनि चलाउन सक्थे । तर पनि ती मानवहरू विभिन्न हिंस्रक जनावरसँग डराएर, वनस्पति, कीराफट्याङ्ग्रा र मौका मिल्दा अन्य ठूला मांसहारी जनावरले शिकार गरेर छोडेका जूठोपुरो खाएर बाँचिरहे, लाखौं वर्षसम्म पनि । त्यति बेलाको मानवजीवनको मूल्य कीराफट्याङ्ग्राको भन्दा बढी थिएन ।

तर करीब ७० देखि ३० हजार वर्षयताका मानवहरू एकाएक एकअर्काबीच भाषागत संवाद गर्न सक्ने भए । त्यो कसरी सम्भव भयो ? धेरैको विश्वास छ, जैविक प्रक्रियामा यदाकदा भइरहने अनुवांशिक उत्परिवर्तन जेनेटिक म्युटेशन (Genetic Mutation)को कारण । अनुवांशिक उत्परिवर्तनले मानव मस्तिष्कमा ल्याएको फेरबदलले गर्दा मानवले आफूले कहिल्यै नदेखेको, नसुनेको, नछामेको र नछोएको कुराको बारेमा सोच्न सक्ने भयो । अर्थात् मानवमा कल्पनाशीलताको विकास र त्यसलाई सञ्चार गर्न सक्ने क्षमताको विकास भयो । उक्त विकासक्रमलाई संज्ञानात्मक क्रान्ति (Cognitive Revolution)को चरण समाप्त भएको शास्त्रीहरूले भनेका छन् । त्यही कल्पनाशीलतामा आधारित भएर मानवले विभिन्न मिथकहरू र कथाहरूको निर्माण गर्न सक्यो । वस्तुगतरूपमा कतै नभेटिने तिनै मिथकहरू जस्तै धर्म, पैसा, राज्य, ठूला कर्पोरेशन, संविधान, मानव अधिकार समयक्रममा यति शक्तिशाली भइदियो कि त्यसमा ठूलो सङ्ख्यामा मानवहरूले विश्वास गर्न थाले । त्यसले गर्दा अरबौं सङ्ख्या हुँदा पनि मानवहरूबीच एकअर्कामा लचिलो सहकार्य र सहयोग सम्भव भयो, जुन अन्य प्रजातिमा सम्भव भएन । लाखौं, करोडौंको सङ्ख्याका मानवबीच सम्भव हुने सहकार्यको कारण एकलरूपमा अन्य जनावरभन्दा निरीह र कमजोर भए तापनि सामूहिकरूपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो ।

एकापसमा सहकार्य अन्य प्रजातिहरूमा पनि नहुने होइन । मौरी वा कमिला आफ्नो प्रजातिमा मिलेर काम गर्छन् । चिम्पान्जी वा ब्वाँसो आफ्नो समूहमा मिलेर शिकार गर्छन् । तर उनीहरू सीमित सङ्ख्यामा मात्रै मिलेर बस्छन् । उनीहरूले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एकापसमा दिने गर्छन् । संवाद गर्छन् । तर त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, मानव समाजको जस्तो कथा हुँदैन । चिम्पान्जीको संसारमा बाघ हुन्छ तर लक्ष्मीको वाहनको रूपमा हुँदैन । त्यहाँ मुसा भए तापनि त्यसमा कल्पनाको गणेश भगवान् चढ्दैनन् । कामदार मौरीले मजदूर युनियन बनाउँदैनन् र रानी मौरीको विरुद्ध गणतन्त्रको माग पनि गर्दैनन् । उनीहरूको संसारमा सबैले विश्वास गर्ने खालको मिथक नभएको हुनाले मानव डिएनएसँग ९९ प्रतिशत मिल्ने डिएनए बोकेका चिम्पान्जीहरू ५० भन्दा बढी सङ्ख्यामा भएमा एकापसमा लडाइँ गर्न थाल्छन् । तर अरबौं सङ्ख्यामा भएपनि मानवहरू एउटै धर्मको नियममा बाँधिएर बस्छन् । करोडौं सङ्ख्याका मानव एउटै राज्यको नियम कानून मानेर बस्छन्, आफूले मेहनत गरेर कमाएको पैसाको कर तिर्छन् । अन्य जनावरहरूको संसारमा पैसा अर्थहीन छ, तर विश्वभर भएका सबै मानवले पैसालाई औधी माया गर्छन् ।

धेरै मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् । त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । वास्तवमा कृषि क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो धोका थियो । कृषि क्रान्ति नभएको भए मानवहरू घर संसारमा बाँधिएर बाँच्ने थिएनन् ।

मानवनिर्मित मिथकहरूको कति प्रभाव छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ कि ओसामा बिन लादेनले अमेरिकी धर्म, संस्कृति र राजनीतिलाई असीम घृणा गर्थे । यद्यपि अमेरिकी डलरसँग भने उनको गाढा प्रेम थियो । मानवनिर्मित मिथकहरू राजा वा धर्म सबै ठाउँमा सफल भएनन् । तर पैसा सफल भयो । पैसा मानव इतिहासको सबैभन्दा उन्नत आविष्कार हो, जसले गर्दा अपरिचित मानवबीच पनि विश्वास र सहकार्यको सम्बन्ध सम्भव भयो ।

रोचक कुरा धर्म, राज्य र पैसा सबै मान्छेले बनाएको भ्रम वा मिथक मात्रै हो, वस्तुगत यथार्थ होइनन् । वास्तविक संसारमा ती चिजहरूको भौतिक उपस्थिति कतै पनि छैन । धर्मका नाममा बनाइने मन्दिर वा मस्जिद वस्तुगत यथार्थ हो, त्यो भेटिन्छ । तर धर्म मात्र मानव मस्तिष्कको उपज हो । राष्ट्र वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो । तर त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो ।

त्यस्तै, पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यथार्थ हो तर त्योसँगै जोडिएको मूल्य भने मानवनिर्मित भ्रम वा विश्वास । मानवबाहेकका जनावरहरूको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य । तर मानव समाजमा वस्तुगत सत्यसँगै काल्पनिक यथार्थ पनि हुन्छ र ठूलो सङ्ख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिकरूपमा नभए पनि अन्तर वस्तुगत सत्य बन्छ ।

आज कसैले पनि खोज्दा नभेटिने धर्म, राज्य, पैसा, मानव अधिकार, नियम कानून जस्ता काल्पनिक कुरा छैनन् भन्दैनन् बरु सबैले तिनलाई विश्वास गर्छन् । यी मानवनिर्मित अवधारणाहरू वस्तुगत यथार्थसँग यसरी जेलिएका छन् कि त्यसको अस्वीकार गर्ने अवस्था नै छैन ।

यस्तै, भ्रमहरूको निरन्तर आविष्कार र प्रयोगले मानव प्रजातिलाई अन्य प्रजातिभन्दा फरक बनायो । एक कोसा केरा बोकेर बसेको चिम्पान्जीलाई अर्को चिम्पान्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउँदा होस् या तिमीले बोकेको केरा ऊ त्यहाँको ढुङ्गामा लगेर नचढाएमा तिमी मरेपछि स्वर्ग जान पाउँदैनौं भनेर डरधम्की देखाउँदा होस्, उसले वास्ता नै गर्दैन । न त केरा नै दिन्छ । किनभने उसको नजरमा ढुङ्गा भनेको भौतिक वस्तु मात्रै हो । तर मानवको अद्भुत क्षमता के भइदियो भने उसले प्रत्येक ढुङ्गामा कथा बुन्न सक्छ र आफूजस्तै अरूको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुङ्गाका नाममा आफूसँग भएका प्रिय वस्तुहरूको त्याग गराउन सक्छ । कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफू जस्तै अरूलाई दिनभरि काममा जोताउन सक्छ । अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठाउँमा गए पनि कागजको टुक्राको भरमा पेट पाल्न सक्छ, बाँच्न सक्छ । त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरैपछि आएको मानवले शहर बनायो, चिम्पान्जीले सकेन । त्यसैले त आज मानवनिर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पान्जीहरू कैद भए । शायद एक लाख वर्षअघि त्यो कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो, किनभने एकल चिम्पान्जी एकल मानवभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ ।

क्रमिक विकासको यस रोमाञ्चक यात्रामा मानवलाई यहाँसम्म ल्याउने सहयोग गर्ने दोस्रो ठूलो परिवर्तनकारी घटना लगभग ११ हजार वर्ष पहिले भयो (कतिपय वैज्ञानिकहरू यस मितिसँग असहमत छन्, नयाँ अध्ययनहरूका अनुसार मान्छेले कुकुर पाल्न थालेको १५ हजार वर्ष भइसक्यो) । मिति जे भएपनि मानिसहरू खेती गर्न सक्ने भए, यसलाई  कृषि क्रान्तिको चरण भनिन्छ । कृषि क्रान्तिसँगै पृथ्वीमा मानव प्रभाव बढ्न थाल्यो । खेती हुन थालेपछि खानाको आपूर्ति बढ्यो । त्योसँगै खाने मुखहरू बढे । कृषि युगभन्दा पहिले लाखौं वर्षसम्म पनि केही लाखमैं सीमित मानव जनसङ्ख्या तीव्र गतिले बढेर केही हजार वर्षयता सात अरब पुगिसकेको छ । जसको प्रमुख कारण त्यही आदिम कृषिको बलमा भएको औद्योगिक कृषिको विकास नै हो ।

कृषि क्रान्तिसँगै इतिहासमैं पहिलोपटक मानवले प्रकृतिको कानून फेर्ने दुस्साहस ग¥यो । चार अरब वर्षदेखि पृथ्वीमा एउटै मात्रै कानूनी प्रणाली थियो, प्राकृतिक छनोटको सिद्धान्तमा आधारित प्रणाली । तर कृषि क्रान्तिमार्फत मानव प्रजातिले त्यस सिद्धान्तलाई चुनौती दिंदै मानव छनोटको प्रणाली स्थापना गर्न थाल्यो । आफूलाई आवश्यक चिज छनोट गर्ने, त्यसको संरक्षण गर्ने र हुर्काउने । गहँुदेखि गाईसम्म, काजुदेखि कुखुरासम्म मानवीय आवश्यकताका जीवजन्तुहरूले क्रमिक विकासमा ठूलो फड्को मारेर विश्वभर फैलिए ।

आठ हजार वर्षभन्दा अघि मध्यपूर्वको मैदानमा मात्रै पाइने एउटा सामान्य घाँस, जसलाई हामी गहुँ भन्छौं, आज विश्वको २४ करोड हेक्टर जमीन ओगट्न सफल भयो । योग्य मात्रै बाँच्ने प्रकृतिमा गहुँको यो विशाल फैलावट क्रमिक विकासको हिसाबले ठूलो सफलता हो । धेरै मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन्, त्यसो होइन बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । कृषि क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो धोका थियो ।

जङ्गली युगमा सिङ्गो मैदान, खोला, जङ्गल र खुल्ला आकाश मानवका बासस्थान थिए । तर कृषि युगपछि मानवहरू खेती हुने ठाउँनजीकै घामपानी छल्ने, अन्नपात थन्काउन मिल्ने, माटो–ढुङ्गाले बनेका ससाना संरचनामा कैद भए, जसलाई घर भनियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here