माघ ५ गते मधेसमा १६औं बलिदानी दिवस मनाइयो । मधेस प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवसको दिन सार्वजनिक बिदा दिंदै आएको छ । विसं २०६३ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अन्तरिम संविधान जारी गरेको थियो । उक्त संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरम नेपालले माघ २ गते माइतीघर मण्डलामा अन्तरिम संविधान जलायो । सरकारले प्रदर्शनकारीहरूमाथि बल प्रयोग ग¥यो । सो क्रममा फोरमका संयोजक उपेन्द्र यादवसहित २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ ग¥यो । सो घटनाले आन्दोलनरत पक्ष झनै उत्तेजित बन्यो र आन्दोलनले उग्ररूप लियो । फोरम नेपालले माघ ३ गतेदेखि मधेस बन्दको आह्वान गर्यो । बन्दकै क्रममा माघ ५ गते तत्कालीन माओवादीका नेता राम कार्की झापाबाट सडकमार्ग हुँदै काठमाडौं जाँदै थिए । उनलाई आन्दोलनकारीले सिराहाको लहानमा बाटो अवरुद्ध गरेपछि झडप भयो । सोही क्रममा प्रहरीले गोली चलाउँदा विद्यार्थी रमेश महतोको ज्यान गयो । महतो मधेस आन्दोलनका प्रथम शहीद हुन् । मधेसका निम्ति बलिदानी शुरू भएको सो दिनलाई ‘बलिदानी’ दिवसको रूपमा मनाउन थालिएको हो । महतोको शहादतले आन्दोलनलाई शिखरमा पुर्यायो । २०६३/६४ देखि २०६५ सम्म दुईपटक मधेस आन्दोलन भयो । यस क्रममा १०३ जनाभन्दा बढीले शहादत प्राप्त गरेका थिए । हजारौं घाइते भए । पहिलो मधेस आन्दोलनकै बलमा संविधानमा सङ्घीयता शब्दले स्थान पाएको हो ।
अर्थात् स्वायत्त मधेस एक प्रदेश, आत्मनिर्णयको अधिकार, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रलगायतका अधिकारप्राप्तिका लागि १६ वर्षअगाडि मधेसी जनताले आन्दोलनको विगुल फुकेको थियो । यसलाई सम्बोधन गर्ने क्रममा आज मुलुकमा सातवटा प्रदेश बन्यो । मधेस आन्दोलनकै बलमा प्रदेशको नामकरण ‘मधेस’ प्रदेश भएको छ । सम्बोधन हुन बाँकी कैंयन राजनीतिक मुद्दाबाहेक, समृद्ध र सम्पन्न मधेसका निम्ति प्रचुर सम्भावनाका ढोकाहरू अझै पनि खुल्न सकेका छैनन् ।
सङ्घीय सरकारका महत्वपूर्ण जिम्मेवारीमा मधेस केन्द्रित दलहरू पटक–पटक सहभागी भए । हिजोका आन्दोलनकारी दलको नेतृत्वमा आज प्रदेश सरकार बन्दैछ । उसले पाँच वर्ष प्रदेश सरकार चलाइसकेको पनि छ । तर बितेको पाँच वर्षमा खासै उपलब्धि हासिल भएन । अझै पनि यहाँ गरीबी २८ प्रतिशत छ, ४१ प्रतिशत जनसङ्ख्या मात्रै साक्षर छन् । ४१ प्रतिशत जनता बिजुलीको पहुँचबाट वञ्चित छन् । किसानका समस्या उस्तै छ । किसानको समस्या चुनावका निम्ति मुख्य राजनीतिक मुद्दा बनिरहेका छन् । बेरोजगारी झन् बढ्यो, वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो छ । ‘विनाढेउवामा विदेश जान पाइन्छ’ भनेर मत माग्ने नेतालाई वाहवाही गर्नुपर्ने नागरिकको बाध्यता छ । तीव्र आर्थिक विकासका लागि प्रशस्त उद्योग खोलिनुपर्छ । खोलिएका उद्योगले फस्टाउने अवसर पाउनुपर्ने विकासको मान्यता हो । विगतमा ठूला, साना गरी १२ सय उद्योग सञ्चालनमा थिए । एक लाख बढीले रोजगार पाएका थिए । कालान्तरमा सबै धराशयी भए । ती उद्योगहरूलाई सञ्चालन गर्ने ठोस योजना आजसम्म कतैबाट पनि आउन सकेको छैन । नयाँ बनेका सङ्घीय सरकार र प्रदेश सरकारले मधेस आन्दोलनको मर्म, भावना तथा शहीदको सपनालाई मूलमन्त्र ठानेर अगाडि बढे शहीदको बलिदानप्रतिको वास्तविक सम्मान हुनेछ ।