प्रस, निजगढ, ५ माघ/

सालको चार थान गोलियासहित प्रहरीले पिकअप भ्यान, चालक र सहचालकलाई पक्राउ गरेको छ ।

काभ्रेको देउराली गाउँपालिका–१ का ३४ वर्षीय चन्द्र श्रेष्ठ र सोही जिल्ला रोशी गाउँपालिका–४ का ३७ वर्षीय नीरबहादुर मगरलाई निजगढ नपाको सिगौलबाट बा.८च ७३३५ नम्बरको बलेरो पिकअप भ्यानमा चार थान सालको गोलिया लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, सिमराले पक्राउ गरी डिभिजन वन कार्यालय, सिमरामा बुझाएको छ ।

निजगढबाट सो गोलिया पथलैया भएर अमलेखगंजतर्फ लैजाने क्रममा इप्रका, सिमराले राजमार्गमा चेकजाँचको क्रममा हिजो बुधवार अबेर राति नियन्त्रणमा लिएर बिहीवार डिभिजन वन कार्यालयलाई बुझाएको जिप्रका, बाराले जनाएको छ ।

चालक र सहचालकले गोलिया निजगढ नपाको सिगौलबाट ल्याएको र आधाभार जङ्गल आसपासको सडकखण्डमा अनलोड गरी पुनः ट्रकमा लोड गरी काठमाडौं लैजाने लागिएको बताएको डिभिजन वन कार्यालय, सिमराका प्रमुख एवं डिएफओ विनोद सिंहले बताए ।

यसैगरी, अस्ति मङ्गलवार इजाजतबेगर वन पैदावर हानिनोक्सानी तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा वन कर्मचारीले कलैया उपमहानगरपालिका–१२ का प्रेमचन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ । वन कार्यालय, बाराले पक्राउ परेका यादवविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here