प्रस, वीरगंज, ४ माघ/

सात महीनादेखि रोकिएको पर्सा जिल्लाको कित्ताकाट आगामी केही दिनमा शुरू हुने बताइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका नायब सुब्बा राजेश्वर साहले एकाध दिनमैं कित्ताकाट खोलिने सूचना जारी हुने बताए ।

उनले पर्सा जिल्लाका १४ वटा पालिकामध्ये चारवटा पालिकाले मात्र जग्गा वर्गीकरण गरेर पठाएको र दशवटा पालिकाले अहिलेसम्म तोके अनुसार वर्गीकरण गरेर नपठाएको जानकारी गराएका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा वीरगंज महानगरपालिका, पकाहामैनपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका गरी चारवटा पालिकाले मात्र जग्गाको वर्गीकरण गरेर पठाएका छन् । मालपोत कार्यालय, पर्साका नासु साहले जग्गाको वर्गीकरण गरेका चारवटा पालिकाको कित्ताकाट आजभोलिमैं खुल्ने बताए । उनले यसका लागि सूचना तयार भइरहेको जानकारी गराए ।

सरकारले देशभरिका पालिकाहरूलाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिश गर्नको लागि मङ्सिर २३ गतेको समयसीमा तोकेको थियो । जेठ २७ गतेदेखि जग्गाको वर्गीकरण नगरेका पालिकाहरूको कित्ताकाट रोकिएको थियो । पर्सा जिल्लाका १४ वटा पालिकाले पनि सरकारले दिएको समयसीमामा जग्गाको वर्गीकरण गरेर सिफारिश गर्न सकेका थिएनन् ।

जग्गाको कित्ताकाट नहुँदा पर्सावासी समस्यामा परेका थिए । मालपोत तथा भूमिसुधार कार्यालयबाट ससीम जग्गाको मात्र रजिस्ट्रेशन हुँदै आएको थियो भने अरू जग्गाको कित्ताकाट रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here