चिरञ्जीवी सापकोटा, ठोरी, १ माघ/

ठोरी गाउँपालिका–३ को ऐतिहासिक बस्ती शिकारीबासमा आइतवारदेखि वाइफाई फ्री गरिएको छ ।

गापाध्यक्ष लालबहादुर श्रेष्ठले वाइफाईको स्वीच थिचेर उद्घाटन गरेका थिए । शिकारीबासका जनता सञ्चारको उपभोगबाट पछि परेको, फोन गर्न पनि ठूलो र अग्लो रूखमा चढेर आफन्तजनसँग टेलिफोन गर्नुपर्ने बाध्यता रहेको हुँदा गापाले वाइफाई फ्री गरेको गापाध्यक्ष श्रेष्ठले बताए ।

उनले शिकारीबासका जनताको पहुँच सञ्चारमा सरल तरीकाबाट होस् भन्ने उद्देश्यले वाइफाई फ्री गरिएको उनले बताए । शिकारीबासमा पिडिएस नामक कम्पनीको वाइफाई जडान गरिएको र यसबाट शिकारीबासका करीब ६० घरधुरी लाभान्वित भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

शिकारीबास जस्तो पिछडिएको गाउँमा आज वाइफाई जडान गरिएकोमा बस्तीका निवासीहरूमा खुशीको सीमा नाघेको स्थानीय सन्दीप बस्नेतले बताए ।

फोन गर्नसमेत गाउँदेखि निकै टाढा गएर कुराकानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमैं बसी देशविदेशमा रहेका आफन्तजनसँग कुराकानी गर्न पाउने वातावरण सिर्जना भएकोमा उनले खुशी व्यक्त गरे ।

शिकारीबास ठोरीको ऐतिहासिक र पुरानो बस्ती हो । यहाँका मानिसले अहिलेसम्म विकासका पूर्वाधारमध्ये कुनै पनि अवसरको उपभोग गर्न पाएका छैनन् ।

कहिले जङ्गली जनावरको आतङ्क त कहिले दैवी प्रकोपको पीडा सहेर यहाँका मानिसहरू अहिलेसम्म दैनिक जीविका का लागि निरन्तररूपमा लागिपरेका छन् ।

सञ्चारको उपभोगसँगै अन्य सुविधाहरू उपभोग गर्न पाउने स्थानीयहरूको आशा व्यक्त गरेका छन् ।

यसैबीच, ठोरी गापाले आइतवारदेखि पानीको लागि बोरिङ गरिरहेको छ । ठोरी गापा–१ जानकीनगरमा बोरिङ सफल भएको गापाध्यक्ष श्रेष्ठले बताए । ठोरीका पाँचवटै वडामा आवश्यकताका आधारमा बोरिङ् गर्ने कार्य शुरू गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here