प्रस, सेढवा, ३० पुस/

थारू संवत् २६४७ तथा आदिवासी थारू समुदायको माघी खिंचडी पर्व विशेषरूपमा मनाउन थालिएको छ ।

थारू संवत् मनाउन वीरगंजलगायत पर्सा जिल्लाका चारवटा क्षेत्रमा धूमधामका साथ तयारी भएको छ । नयाँ वर्षको लागि ग्रामीण भेगका बासिन्दाहरू शनिवार बिहानदेखि घरआँगनको सरसफाइमा जुटेका छन् । घरआँगनलाई गोबरले लिपपोत गर्न गृहिणीहरू व्यस्त छन् । थारू संवत्को साथै माघीको तयारीमा भुजा, चिउरा, रामदाना र तिलको लड्डु बनाउन महिलाहरू व्यस्त छन् । किसानहरूले उत्पादन गरेका चामल, आलु, विभिन्न किसिमका लड्डु तथा नूनलाई माघे सङ्क्रान्तिका दिन बिहानै स्नान गरी स्पर्श गरी पुरोहितलाई दान दिने चलन छ ।

नयाँ वर्ष सुखमय होस् भनी शुभ साइतका लागि थारू समुदायमा यो दिन  माछासेवन गर्ने परम्परा छ । यसैको लागि शनिवार नै थारू समुदायले माछा खरीद गरेको छ ।

सङ्घीयतापछि पर्साका विभिन्न स्थानीय तहमा माघी खिंचडी महोत्सव मनाउन थालिएको छ । परम्परागतरूपमा वीरगंजको आदर्शनगर रङ्गशालामा मनाउँदै आएको थारू महोत्सव यस वर्ष पुरानो बसपार्कमा मनाउन थालिएको छ । माघी खिंचडी महोत्सवको अन्तिम तैयारी भइसकेको माघी मूल समारोह समितिका अध्यक्ष रामसुन्दर चौधरीले बताए । ग्रामीण भेगमा चार स्थानमा थारू संवत् २६४७ को अवसरमा माघी महोत्सवको लागि तैयारी भएको छ । जीराभवानी गाउँपालिका–५ सखुवनिया बजारमा माघी खिंचडी विशेष कार्यक्रम मनाउने तैयारी भएको छ । थारू संस्कृति तथा उत्थान मञ्चको आयोजनामा माघी विशेष कार्यक्रम मनाउन सम्पूर्ण तैयारी भइसकेको आयोजक संस्थाका अध्यक्ष शेखर चौधरीले बताए । थारू परम्परागत संस्कृति, भाषा, पहिरन तथा खानाको साथै गीत र नृत्य प्रदर्शन गरिने अध्यक्ष चौधरीले बताए । त्यस्तै, पर्सागढी नगरपालिकाको बडनिहारमा पनि माघी महोत्सवको तैयारी भएको माघी मूल समारोह समितिका सचिव कमल चौधरीले जानकारी गराए ।

यसैगरी, पटेर्वासुगौली गापा–४ सुगौली र सखुवाप्रसौनी गापाको पंचगावाँमासमेत माघी विशेष कार्यक्रमको आयोजना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here