नेपाल एकीकरणको अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दियो । पृथ्वीनारायण शाहले बाइसे/चौबीसे राज्यमा छरिएर रहेका राज्य तथा भूभाग एकीकरण गरी एकीकृत नेपालको जन्म दिन महत्वपूर्ण योगदान दिएका छन् । दोस्रो जनान्दोलन अगाडिका सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेका थिए । विसं २०६२/६३ को राजनीतिक परिवर्तनपछि त्यो चलन अन्त्य भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्तीमा बिदा कटौती गरेको थियोे । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सार्वजनिक बिदा कटौती भएपछि मुलुकमा यसबारे निकै बहसहरू चले । राष्ट्रिय एकता दिवस राज्यले मनाउनुपर्छ भन्ने आवाज हरेक वर्ष नउठेको होइन । तर यसलाई मनाउने हिम्मत २०६२/६३ पछिका सरकारहरूले गर्न सकेनन् । एमाले, नेपाली काङ्गेस, माओवादीलगायतका ठूला दलहरूभित्र समेत राष्ट्र एकीकरण दिवस मनाउनुपर्ने आवाज सूक्ष्मरूपमा उठिरहेकै थियो । एमाले नेता तथा साहित्यकार मोदनाथ प्रश्रित, संस्कृतिविद् डा रमेश ढुङ्गेल, पर्यटन व्यवसायी भरत बस्नेतलगायतले दबाबकारी समूह नै बनाएर राष्ट्रनिर्माणको गौरव तथा इतिहास संरक्षण गर्नुपर्ने भन्दै अभियानमा जुटेका थिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्बन्धमा राप्रपाको धारण पहिलेदेखि नै स्पष्ट थियो । आफूलाई राजावादी भनेर अस्तित्वमा आएको राप्रपाले पृथ्वी जयन्ती मनाउनुपर्ने अडान राख्दै आएको थियो । यसपटक भने राप्रपाको मुद्दाले नैतिक विजय प्राप्त गरेको छ । सरकारले पृथ्वी जयन्ती मनाइरहँदा अर्कोतर्फ आदिवासी जनजाति केही सङ्गठनले भने विरोध गरे । पृथ्वीनारायण शाहले सोझासीधा आदिवासीहरूलाई जालझेल, प्रपञ्चमा पार्दै, विश्वासघात गरेर, हत्या र हिंसाको माध्यमबाट राज्य कब्जा गरेको उनीहरूको आरोप छ । भावनात्मक एकीकरण हुन नसकेकोले त्यसलाई आफूहरूले नमान्ने उनीहरूको भनाइ छ । 

हरेक कुरामा राजनीति, हुँदाहुँदा इतिहासमा पनि राजनीति । हिजो एमाले र माओवादीहरूले नै पृथ्वी जयन्ती खारेज गरेका हुन् । त्यति बेला काङ्ग्रेसको त सरकार नै थियो । आज पृथ्वी जयन्तीका विरोधीहरूको ठाउँमा हिजो माओवादी, एमाले, काङ्ग्रेस थिए । पञ्चायतकाल र सक्रिय राजाको शासनबाट वर्तमान लोकतन्त्रवादीहरूले सत्ता खोसेका हुन् । राजाको नामसँग उनीहरूलाई त्रास छ । पृथ्वीनारायण पनि शाहवंशीय राजा थिए । त्यसैले वर्तमानको आक्रोश इतिहाससँग पोख्नु भनेको राजाविरोधीहरूबाट सहानुभूति लिएर राजनीतिको सिंढी चढ्ने खेल मात्रै हो । कुनै पनि नागरिक आफ्नो देशप्रति गौरवान्वित हुनु नागरिक धर्म हो । शासन सत्ता सही किसिमले नचले राम्रो नेता चुनेर पठाउने अधिकार पनि नागरिककै हातमा छ । जो आफ्नो देशप्रति श्रद्धाभाव राख्दछ, उसले यसको इतिहासलाई पनि सम्मान गर्नुपर्छ । समाज विकासको क्रममा चलनहरू परिवर्तन हुँदै आएका छन् । शिक्षाको विकास नभइसकेको हिजोको अवस्थामा राज्य एकीकरण हतियारबाटै हुन्थ्यो । हिजो त दुलहाले दुलहीलाई जबरजस्ती घिस्याएर ल्याउने चलन थियो । आज त्यो दण्डनीय हो । उसो भए बुबाआमा पनि नमान्ने । यसर्थ हिजोलाई आजको चश्माले हेर्ने होइन कि हिजो नमिलेका कुरालाई आजकाले मिलाउँदै सुधार्दै जाने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here