सर्लाही, २३ पुस/रासस

सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनः गणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

हरिवन नगरपालिका–७ का अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेकपा (एमाले)का नीरध्वज कार्की निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका टीकाजङ्ग थापा (अशोक)ले ३७८ मत प्राप्त गरेका थिए । काङ्ग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए ।

वडाध्यक्षका रूपमा हाल कार्की कार्यरत छन् । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमैं मतपत्र झिकाएर गणना गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here