प्रस, परवानीपुर, २२ पुस/

तराई–मधेसका जिल्लामा थुप्रै सरकारी अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालनमा छन्, जसमा सबैभन्दा बढी आलोचना खेप्नुपर्ने सरकारी अस्पताल नै हुन् । प्रभावकारी सेवा सुविधा नदिनु, पर्याप्त मात्रामा औषधि नपाउनु, समयमा स्वास्थ्यकर्मी नआउनु जस्ता गुनासाहरू आममानिसमा सहजै भेटिन्छन् तर बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरबजारस्थित स्वास्थ्य चौकी निकै लोकप्रिय बन्दै गइरहेको छ । कारण एउटै हो– प्रभावकारी र निजी अस्पतालसरहको सेवा ।

२०५२ सालमा स्थापना भएको सो स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुविधा भएकोले पनि चर्चामा छ । जीतपुर बजारमा चार कट्ठा क्षेत्रफलमा रहेको सो स्वास्थ्य चौकीमा एउटा पुरानो भवन छ भने अर्को गत मङ्सिर १६ गते हस्तान्तरण भएर सञ्चालनमा आएको छ । पुरानो भवनमा प्रशासनिक एवं प्राविधिक काम हुन्छ भने नयाँ भवनमा बर्थिङ सेन्टर सञ्चालनमा छ । सो भवन नेपालकै अधिकतम वार्षिक कर तिर्ने सूर्य नेपाल प्रालिको सामाजिक उत्तरदायित्व शीर्षकमा रु ६२ लाख लागतमा निर्माण भई अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । सूर्य नेपालले सो बर्थिङ सेन्टरमा अन्य स्वास्थ्य उपकरण गरी रु एक करोड खर्च गरेको छ ।

नयाँ भवनमा बर्थिङ सेन्टर सञ्चालन हुन थालेपछि बारा, पर्साका गर्भवती महिलाहरूलाई प्रसूति सेवा सहज भएको छ । अहिले सो सेन्टरमा दैनिक तीनजना महिला सुत्केरी हुने गरेका छन् । स्वास्थ्य चौकीका इन्चार्ज प्रवीणकुमार झाका अनुसार स्वास्थ्य चौकीमा अहिले वरिष्ठ अहेब र जनस्वास्थ्य निरीक्ष्Fक गरी दुईजना, एकजना अहेब, पाँचजना वरिष्ठ अनमी, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी गरी कुल १० जना कार्यरत छन् । सो चौकीमा अहिले दैनिक ५०–६० जना उपचारको लागि आउने गरेको उनले बताए । गर्मीमा यो सङ्ख्या दोब्बरी हुने गरेको छ ।

अत्याधुनिक सेवा सुविधा भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं ५ देखि ८, वीरगंज महानगरका वडा नं ३१ र ३२ तथा पर्सागढी नपाका २, ३, ४, ९ वडाका सेवाग्राहीहरूले वीरगंज र सिमराका सुविधासम्पन्न निजी अस्पताल छाडेर सोही बर्थिङ सेन्टरबाट सेवा लिन थालेका छन् । स्वास्थ्य चौकीमा सुत्केरी गराउँदा यातायात खर्च अवस्था र दूरी हेरी रु १८ सयसम्म सरकारबाट पाउने भएकोले निजी अस्पतालभन्दा स्वास्थ्य चौकीको लोकप्रियता पछिल्लो समयमा बढ्न थालेको हो ।

पछिल्लो आवमा मात्रै सो स्वास्थ्य चौकीमा छ हजार ७०० जनाले उपचार गराएको स्वास्थ्य चौकीका इन्चार्ज झाको भनाइ छ ।

चालू आवमा भवन र उपकरण अत्याधुनिक भएपछि सेवाग्राही बढेको उनले बताए । जीतपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साहले बर्थिङ सेन्टरको नयाँ भवनको लागि लबिङ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here