प्रस, वीरगंज, २१ पुष/ 

पोखरिया नगरपालिका कार्यालयले आर्थिक ऐनविपरीत आफूखुशी जेनेरेटर खरीद गरेको छ ।

सूचना प्रकाशन गरी बजार दरभन्दा बढीमा जेनेरेटर खरीद गरिएको आरोप जनप्रतिनिधिहरूको छ । जेनेरेटर खरीदका लागि प्रक्रिया पूरा नगरिएको र ६२.५ केभीको जेनेरेटर सात लाख रुपैयाँमा खरीद गरिएको जनप्रतिनिधिहरूले बताए । उनीहरूले कार्यालयले सूचना प्रकाशित गरेर सामान खरीद गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरिएको र गुपचुप जेनेरेटर खरीद गरिएकोले आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

कार्यालयले सूचना प्रकाशित नगरी विनाप्रतिस्पर्धा जेनेरेटर खरीद गरेको सार्वजनिक भएपछि बुधवारदेखि कार्यालयमा जनप्रतिनिधिहरूबीच आरोप–प्रत्यारोप शुरू भएको एकजना कर्मचारीले बताए । एकथरी जनप्रतिनिधि जेनेरेटर खरीदको पक्षमा र अर्काेथरी जनप्रतिनिधि सोको विरोधमा छन् ।

घटनाबारे प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारसँग बुझ्दा उनले विद्युत् आपूर्ति अनियमित हुँदा कार्यालयको काममा समस्या भएको र सूचना प्रकाशित गरेर सामान खरीद गर्न लामो समय लाग्ने भएकोले हतारमा खरीद गर्नुपरेको बताए । उनले खरीद गरिएको जेनेरेटरको वास्तविक मूल्य आइनसकेको र बिल आएपछि सार्वजनिक गरिने बताए ।

नगरप्रमुख प्रद्युम्न चौहानले दैनिक विद्युत् आपूर्ति अवरोध भइरहेको र सेवाग्राहीको काममा ढिला हुने गरेकोले आफ्नो मौखिक आदेशमा जेनेरेटर खरीद गरिएको बताए । उनले पोखरिया नगरपालिकाका सबै कार्य अहिले विद्युतीय माध्यमबाट हुने गरेको र जेनेरेटरको अभावमा विद्युत् सप्लाई निरन्तर नहुँदा समस्या भएकोले प्रक्रिया मिचेर जेनेरेटर खरीद गर्नुपरेको सफाइ दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here