विश्व सङ्कुचितीकरणको क्रममा छ । यसले गर्दा ईस्वी सनको नयाँ वर्ष पनि हामीले आफ्नै नयाँ वर्ष सरह मनाउने गरेका छौं । हुनत आफ्नै देशमा विभिन्न समुदायले मनाउने फरक फरक नयाँ वर्षबारे पनि हामी बिस्तारै परिचित हुँदै गएका छौं । आफ्नै देशको नेपाल संवत्, उभौली–उँधौली, ल्होसार आदिलाई मान्यता, सर्व–संस्कृति उदारताको अनुपम उदाहरण हो । यद्यपि हामी नयाँ वर्ष बडो हर्षोल्लासका साथ मनाउँछौं, मानौं प्रत्येक नयाँ वर्षले हाम्रो भविष्य सपार्छ नै । देखिएको त के छ भने प्रायः नयाँ वर्षले विनाश नै बढी ल्याएको छ । आजभन्दा एक वर्ष पहिले हामीले सन् २०२२ को स्वागत गरेका थियौं, मानव जातिका लागि शुभ फल दिने आशा गरेका थियौं, तर यसै वर्ष विश्वभरि आर्थिक मन्दी, रूस–युक्रेन युद्धको विभिषिका, बाढी–पहिरोबाट भएको अकल्पनीय मानवीय क्षति, भूकम्पादिको प्रताडना मानव जातिले सहनुपर्यो । चार वर्ष पहिले शुरू भएको कोरोनाले जर्जर बनेका साना मुलुकहरूको अर्थ व्यवस्थामा बज्रपात नै भयो । उपरीमाथि थुपरी भनेझैं रूस–युक्रेन युद्धले सानालाई मात्र होइन, ठूला भनिने राष्ट्रहरूको समेत मथिङ्गल खलबल्याइदिएको छ ।

तर मानिसमा अपार ऊर्जा छ । जस्तोसुकै विषम परिस्थितिमा पनि ऊ बाँच्न सिक्छ । वर्षैभरि हिउँ जम्ने ठाउँमा पनि मानिस बाँचेकै छ, तीन सय पैंसठ्ठी दिन एक धरो लुगा खपि नसहनु गर्मीमा पनि बाँचेकै छ । घनघोर जङ्गलमा मानिसले आजीविका खोजेकै छ, रछ्यान बटुलेर पनि ज्यान जोगाएकै छ । यसको एक मात्र कारण हो–आशा । भोलि राम्रो हुन्छ भन्ने आशा । राम्रो हुने कुनै लक्षण–सङ्गेत नदेखिए पनि मानिसले आस छोडेको हुँदैन । त्यसैले मानिसले सके जति सबै पर्व मनाउँछ । चाड–पर्व, उत्सव, समारोहले मानिसलाई एक दिनको ढाढस दिन्छ, भोलिका लागि आशा जगाउँछ । यसले मनमा कुण्ठा जन्मदैन, केही गर्ने जोश र जाँगर जिउँदो रहन्छ । त्यसैले त आज नेपालमा सत्ता परिवर्तन भएकोमा, पुरानै सत्तासीनको पालो आए तापनि, हाम्रा बहस, गोष्ठी, लेखहरूमा अब अवश्य राम्रो परिवर्तन हुनेछ भन्ने आशय व्यक्त भइरहेका छन् । यो कुरा सबैलाई थाहा छ हिजो अवसर पाएर केही गर्न नसकेको मानिसले आज वा भोलि पनि केही गर्न सक्दैन/गर्दैन । यो थाहा भएको कुरा मानसमा स्थापित भयो भने बाँच्ने सहारा भताभुङ्ग हुन्छ । मानिस अवसादको शिकार हुन्छ ।

धर्ममा आस्था, कर्ममा आस्था हुनु नै मानिसको विशेषता हो । धर्म भनेपछि धेरैलाई सम्प्रदायको बोध हुन्छ । तर धर्म त प्राणी मात्रको प्रकृतिप्रदत्त विशेषता हो । आशा, उत्साह, जाँगर, जस्तै परिस्थितिमा बाँच्न सक्ने क्ष्Fमता धर्म हो । कर्ममा आस्था भएकोले मानिस सुख्खा मौसममा पनि बीउ छर्छ, धर्ममा आस्था भएकोले कुनै चमत्कारले फसल लहलह गर्छ भन्ने विश्वास पालेर बस्छ । विपरीत परिणाम आउँदा हरि–इच्छा भनेर चित्त बुझाउँछ । त्यस्तो नहुँदो हो त मानिस अनिकालको भयले सोत्तर हुने थियो । अनिष्टको आशङ्काले खङ्रङ्ग हुने थियो । त्यसैले नयाँ वर्ष वा कुनै पनि चाड पर्व, उत्सवलाई मानिसले धार्मिक भावनाले मनाउँछ । नयाँ भनेपछि नयाँ हो । नयाँप्रति मानिसको सनातन आकर्षण छ । नयाँको जन्मले पुरानोको अवसान बिर्सन्छ । मानिस जति जन्ममा खुशी हुन्छ, त्यति अवसानमा दुःखी हुँदैन । यही धर्म हो । त्यसैले मानिसले अस्तित्वकालदेखि विभिन्न विरोधाभासबीच बाँच्न सिकेको छ । नयाँ वर्ष फलदायी होस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here