प्रस, वीरगंज, १४ पुस/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिको लागि महानगरले काम गरिरहेको बताएका छन् ।

वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा बिहीवार वृक्षारोपण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नगरप्रमुख सिंहले विद्यालयको निर्माणाधीन भवनलाई पूर्णता दिन महानगरले आवश्यक सहयोग गर्ने बताए । उनले सामुदायिक विद्यालयहरूको स्वरूप परिवर्तन गरेर हेर्ने लायक बनाउने अभियानमा महानगरपालिका लागेको र यसमा सबैको सहयोग आवश्यक हुने बताए ।

उनले महानगरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गरेर निजी विद्यालय सरह बनाउने दाबी गरे । शिक्षकहरूलाई दक्ष बनाउने, विद्यालयको भौतिक संरचनामा सुधार ल्याउने उनले बताए । नगरप्रमुख सिंहले वृक्षारोपण गर्नु राम्रो भएपनि रोपेर मात्र नहुने बताउँदै त्यसको संरक्षण गर्नुपर्ने सुझाव दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश लाठको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडाध्यक्ष अजय चौरसियालगायतको सहभागिता थियो ।

आज सो विद्यालयमा एक सयभन्दा बढी विभिन्न जातिका बिरुवा रोपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here